तीन महिनामा १९५ उद्योगमा १ खर्ब ४ अर्ब लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रमा सञ्चालन हुने १९५ उद्योगमा १ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागमार्फत साउनदेखि असोजसम्म दर्ता भएका उद्योगमा कुल १ खर्ब ४ अर्ब २६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा ठूला, मझौला र साना गरी १९५ उद्योग दर्ता भएका छन् । तीमध्ये १४ वटा ठूला, २२ वटा मझौला र १५९ वटा साना उद्योग रहेका छन् । दर्ता भएका उद्योग सञ्चालनमा आएपछि १० हजार २२० जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जा क्षेत्रमा आएको छ । साउनदेखि असोजसम्म ऊर्जामा आधारित तीनवटा उद्योगमा मात्रै ७१ अर्ब ३३ करोड ३५ लाख ४० हजार ३९५ रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको विभागले जनाएको छ । कुल लगानी प्रतिबद्धताको ठूलो हिस्सा ऊर्जा क्षेत्रमा केन्द्रित भएको देखिन्छ ।

त्यसैगरी उत्पादनमूलक उद्योगमा दोस्रो ठूलो लगानी प्रतिबद्धता आएको छ । उत्पादन क्षेत्रमा दर्ता भएका ३७ वटा उद्योगमा २० अर्ब ७ करोड १० लाख ४ हजार २२८ रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ । ऊर्जा र उत्पादन क्षेत्रका उद्योगमा आएको लगानी प्रतिबद्धताले औद्योगिक उत्पादन तथा पूर्वाधार विकासमा लगानीकर्ताको चासो देखाएको छ । पर्यटन क्षेत्रमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । समीक्षा अवधिमा पर्यटनमा आधारित ४० वटा उद्योग दर्ता भएका छन् । ती उद्योगमा ५ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । त्यस्तै, सेवा क्षेत्रमा आधारित २३ वटा उद्योगमा ३ अर्ब २५ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा धेरै संख्यामा उद्योग दर्ता भएका छन् । विभागका अनुसार तीन महिनाको अवधिमा सूचना प्रविधिमा आधारित ८६ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगमा १ अर्ब ५८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । उद्योग संख्याका आधारमा सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि देखिए पनि लगानी रकमका आधारमा भने ऊर्जा र उत्पादन क्षेत्रको हिस्सा बढी छ ।

यसैगरी कृषि तथा वन पैदावारमा आधारित तीनवटा उद्योगमा १ अर्ब १२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । पूर्वाधारमा आधारित दुईवटा उद्योगमा १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ । खनिजमा आधारित एउटा उद्योगमा १६ करोड ४१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । पहिलो तीन महिनाको तथ्यांकले ऊर्जा, उत्पादन, पर्यटन, सेवा र सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीकर्ताको चासो रहेको देखाएको छ । विशेषगरी ऊर्जा क्षेत्रमा आएको ठूलो लगानी प्रतिबद्धताले जलविद्युत् तथा अन्य ऊर्जा परियोजनामा लगानीकर्ताको आकर्षण कायम रहेको संकेत गर्छ । यद्यपि, लगानी प्रतिबद्धता आउनु र प्रस्तावित उद्योग सञ्चालनमा आउनु फरक विषय हुन् । प्रतिबद्धताअनुसार लगानी भित्रिएर उद्योग स्थापना तथा सञ्चालन हुन सकेमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र मुलुकको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।