क्युजे मोटर नेपालको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

काठमाडौं । ह्याम्स ग्रुपअन्तर्गतको अटोमोबाइल व्यवसाय सञ्चालन गर्दै आएको हाइली एड्भान्स्ड मोटर्स प्रालिले नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्कालाई क्युजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

काठमाडौंको टेकुस्थित क्युजे मोटर नेपालको शोरुममा आयोजित विशेष समारोहबीच खड्कासँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो। यस सहकार्यलाई नेपालमा क्युजे मोटरको बजार विस्तार र ब्रान्ड पहिचान सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। सन् १९८५ मा स्थापना भएको क्युजे मोटर विश्व बजारमा गुणस्तरीय मोटरसाइकल, आधुनिक प्रविधि र उत्कृष्ट इन्जिनियरिङका लागि परिचित छ। यो कम्पनी गिली ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको छ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि पारस खड्काले विश्वास र विश्वसनीयता खेलकुदमा मात्र नभई दैनिक जीवनमा पनि उत्तिकै महत्वपूर्ण हुने बताए। कुनै पनि ब्रान्डले ग्राहकलाई दिने अनुभव र उनीहरूमाझ स्थापित गर्ने भरोसाले नै वास्तविक पहिचान निर्माण गर्ने उनको भनाइ थियो। क्युजे मोटरसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले नेपालमा ब्रान्डको आगामी यात्रामा सहभागी हुन उत्साहित रहेको बताए। ह्याम्स ग्रुपका अध्यक्ष आर.एस. भण्डारीले संस्थाको व्यावसायिक यात्रा विश्वास, प्रतिबद्धता र दीर्घकालीन सम्बन्धमा आधारित रहेको बताए। क्युजे मोटरसँगको सहकार्यले नेपाली ग्राहकलाई गुणस्तर र विश्वसनीयता प्रदान गर्ने संस्थाको उद्देश्यलाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो।

पारस खड्काको नियुक्तिले संस्थाको प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गर्दै भण्डारीले उनको समर्पण, इमानदारी र विश्वासले संस्थाले आत्मसात् गरेका मूल्यमान्यताको प्रतिनिधित्व गर्ने बताए। त्यस्तै, हाइली एड्भान्स्ड मोटर्सका कार्यकारी निर्देशक समिर भण्डारीले नेपालमा विश्वस्तरीय मोटरसाइकल ब्रान्ड भित्र्याउनु मात्र आफ्नो उद्देश्य नभई ग्राहकको विश्वास जित्ने र दीर्घकालीन सम्बन्ध स्थापित गर्ने रहेको बताए। गुणस्तरीय उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र उत्कृष्ट सवारी अनुभवमार्फत नेपाली ग्राहकको मन जित्ने लक्ष्य रहेको उनले स्पष्ट पारे। क्युजे मोटर नेपालले यस सहकार्यबाट नेपाली ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै ब्रान्डप्रतिको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरेको छ। गुणस्तर, क्षमता र विश्वसनीयतालाई प्राथमिकतामा राख्दै नेपाली बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने कम्पनीको लक्ष्य रहेको छ।