तिहार मनाउन परदेशबाट आए, बाबु–छोरा एकै चितामा अस्ताए

बाँके । सडक दुर्घटनामा एकै घरका बाबु–छोराको एकसाथ मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–५ स्थित चिलहरिया गाउँ शोकमा डुबेको छ ।

चाडपर्व मनाउन भारतबाट घर फर्किएका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका ६६ वर्षीय बुवा दलबहादुर खत्रीको सडक दुर्घटनामा ज्यान गएपछि गाउँ नै शोकमग्न बनेको हो । आफन्तलाई भेट्न बर्दियाको गुलरिया जाने क्रममा उनीहरू सवार मोटरसाइकल गुलरिया नगरपालिका–११ लालपुरमा मिनी फोर्स गाडीसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बाबु–छोरा दुवैको मृत्यु भएको हो । उनीहरू भारतमा रोजगारी गर्दै आएका थिए । तिहार मनाउन घर फर्किएका उनीहरू आफन्त भेट्न बर्दियाको गुलरिया गएका थिए । प्राप्त विवरणअनुसार गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र नेपालगञ्जबाट गुलरियातर्फ गइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । एकै परिवारका दुई सदस्यको एकसाथ मृत्यु भएपछि खत्री परिवारमा बज्रपात परेको छ । बाबु–छोराको निधनको खबर फैलिएसँगै चिलहरिया गाउँका स्थानीय, आफन्त र छिमेकी शोकमा परेका छन् । स्थानीय जुद्ध पुनका अनुसार बाबु–छोराको एकैसाथ मृत्यु भएपछि सिंगो गाउँ नै स्तब्ध बनेको छ ।

दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीय गाउँवासीले घटनामा संलग्न सवारीसाधनका धनी तथा जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गर्दै नेपालगञ्ज–राजापुर सडक अवरुद्ध गरेका थिए । उनीहरूले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राखेका थिए । तर, सवारीधनी सम्पर्कमा नआएपछि तत्काल सहमति जुट्न सकेन । राप्ती सोनारी गाउँपालिका–५ का वडाध्यक्ष झगरु थारुका अनुसार सवारीधनी सम्पर्कमा नआएपछि आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएर कानुनी प्रक्रियाबाट अघि बढ्ने निर्णय गरेका छन् । जाहेरी दर्ता गर्ने सहमतिपछि उनीहरू सडक अवरोध हटाएर फर्किएका थिए । दुर्घटनामा बाबु–छोराको मृत्यु भएको तीन दिन बितिसक्दा पनि घटनाको विषयमा निकास ननिस्किएपछि शव बुझ्ने विषयमा समेत अन्योल देखिएको थियो । अन्ततः प्रहरीमा मुद्दा दर्ता गरेर कानुनी प्रक्रियामार्फत न्याय खोज्ने सहमतिमा आफन्तजनले दुवैको शव बुझेका हुन् । वडाध्यक्ष थारुका अनुसार मृतक बाबु–छोराको आज स्थानीय अगैयाघाटमा अन्त्येष्टि गरिएको छ । एउटै परिवारका दुई पुस्ताका सदस्यको एकैसाथ अन्त्येष्टि गरिँदा आफन्त र गाउँले भावुक बनेका थिए । चाडपर्व मनाउन परदेशबाट घर फर्किएका बाबु–छोरालाई गुमाउनुपर्दा परिवारमाथि ठूलो पीडा थपिएको छ ।

स्थानीय अगुवा तारा ओलीले दुर्घटनाले सिंगो बिनौना क्षेत्रलाई स्तब्ध बनाएको बताए । चाडपर्वका बेला लामो समयपछि घर फर्किएका बाबु–छोरा आफन्त भेट्न जाने क्रममा सधैँका लागि बिदा हुनुपरेको घटनाले गाउँलेलाई मर्माहत बनाएको उनको भनाइ छ । उनले भने, “चाडपर्व मनाउन घर फर्किएका बाबु–छोराको अकाल मृत्युले खत्री परिवारको सहारा खोसिएको छ भने असुरक्षित सडक यात्राले फेरि एकपटक ग्रामीण बस्तीमा कहिल्यै निको नहुने घाउ छाडेको छ ।” रोजगारीका लागि परदेशिएका नेपाली चाडपर्वमा परिवारसँग खुसी साट्न घर फर्किने गर्छन् । तर, घर फर्किएको केही समयमै सडक दुर्घटनामा ज्यान गुमाउनुपर्दा परिवारमा खुसीको सट्टा असह्य पीडा थपिएको छ । हुकुमबहादुर र दलबहादुरको निधनले एउटा परिवारका सदस्य मात्र गुमेका छैनन्, चिलहरिया गाउँले पनि आफ्ना दुई सदस्य गुमाएको छ । घटनापछि स्थानीयले सडक सुरक्षाको अवस्था र दुर्घटनापछिको कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । दुर्घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने र पीडित परिवारले न्याय पाउनुपर्ने उनीहरूको माग छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।