आधुनिक जीवनशैलीको तीव्र भागदौड, असन्तुलित खानपान, मानसिक तनाव र शारीरिक निष्क्रियताका कारण आज मानव समाज नसर्ने रोगहरूको भयावह चपेटामा परिरहेको छ । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, डिप्रेसन र चिन्ताजस्ता स्वास्थ्य समस्याहरू हरेक घर–परिवारका साझा चुनौती बन्दै गएका छन् ।
यस्तो विषम परिस्थितिमा हाम्रो प्राचीन ऋषिमुनिहरूले प्रतिपादन गरेको र विश्वले नै सर्वोत्कृष्ट जीवनशैलीका रूपमा स्वीकार गरेको ‘योग’ केवल शारीरिक व्यायाम मात्र नभई समग्र स्वास्थ्य, मानसिक शान्ति र अनुशासित जीवनको अचुक औषधि हो । यही यथार्थलाई आत्मसात् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लामा योग साधनाको विस्तार गरी बागमतीलाई ‘योगमय प्रदेश’ घोषणा गर्ने तयारी भइरहेको उद्घोष गरेका छन्, यो जनस्वास्थ्य प्रवद्र्धन र सांस्कृतिक पुनर्जागरणका दृष्टिकोणले अत्यन्तै सकारात्मक र दूरदर्शी पहल हो ।
योगलाई निश्चित आश्रम, संस्था वा वर्गको घेराभित्र मात्र सीमित नराखी आमनागरिकको दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउनु आजको मुख्य आवश्यकता हो । बागमती प्रदेश सरकारले विद्यालय, सरकारी कार्यालय, सार्वजनिक तथा सामुदायिक भवनहरूमा बिहानको समयमा नियमित योग अभ्यास सञ्चालन गर्ने र जनस्वास्थ्य कार्यालयमार्फत बजेटसमेत विनियोजन गरी पातञ्जल योग, जीवन विज्ञानजस्ता सक्रिय संस्थाहरूसँग सहकार्य गर्ने नीति अघि सार्नु प्रशंसनीय छ । राज्यको स्वास्थ्य बजेटको ठूलो हिस्सा रोग लागिसकेपछि गरिने उपचार र औषधि खरिदमा खर्च भइरहेको वर्तमान अवस्थामा, योगजस्ता निरोधात्मक उपायहरूमा राज्यले लगानी बढाउनु दीर्घकालीन रूपमा अत्यन्तै मितव्ययी र परिणाममुखी साबित हुनेछ । स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार भएकाले राज्यले नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्नु लोककल्याणकारी राज्यको प्राथमिक दायित्व पनि हो ।
यद्यपि यस्ता महत्वाकांक्षी घोषणाहरू औपचारिक कार्यक्रम, भाषण वा कागजी योजनामा मात्र सीमित नहोऊन् भन्नेतर्फ विशेष सजगता अपनाउनु अनिवार्य छ । विगतमा पनि विभिन्न तहका सरकारहरूले साक्षर प्रदेश, पूर्ण खोपयुक्त क्षेत्र वा स्वच्छ सहर जस्ता थुप्रै घोषणाहरू गरे । तर निरन्तरता, अनुगमन र संस्थागत संरचनाको अभावमा ती घोषणाहरू व्यावहारिक रूपान्तरणमा कमजोर देखिए । बागमती प्रदेशलाई साँचो अर्थमा योगमय प्रदेश बनाउने हो भने घोषणा गर्नुअघि नै प्रत्येक स्थानीय तह, वडा र सामुदायिक विद्यालयसम्म दक्ष योग प्रशिक्षकको व्यवस्था, नियमित अभ्यासको कार्यतालिका र आवश्यक पूर्वाधार सुनिश्चित गरिनुपर्छ । जनस्वास्थ्य कार्यालयमार्फत विनियोजन गरिएको बजेट पहुँचवाला संस्थाहरूको पोल्टोमा मात्र नपरी वास्तविक रूपमै समुदायस्तरमा योग फैलाउने पारदर्शी र नतिजामुखी कार्यक्रममा परिचालन हुनुपर्छ ।
योगलाई विद्यालय तहको पाठ्यक्रम र अतिरिक्त क्रियाकलापसँग अनिवार्य रूपमा जोड्न सकियो भने बालबालिका तथा युवा पुस्तामा सानै उमेरदेखि अनुशासन, एकाग्रता र सकारात्मक सोचको विकास हुनेछ । सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूका लागि दैनिक केही समय योग र ध्यानको अभ्यास गराउन सके कार्यस्थलको तनाव कम भई सार्वजनिक सेवा प्रवाहमा समेत चुस्तता र सकारात्मक ऊर्जा थपिनेछ । योगमग अभियान बागमती प्रदेशमा मात्र सीमित नरही देशका सातै प्रदेश र ७५३ वटै स्थानीय तहका लागि अनुकरणीय बन्नुपर्छ ।
योग नेपालको मौलिक ज्ञान परम्परा र अमूल्य सांस्कृतिक निधि हो । विश्वले समेत २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाएर यसको महत्वलाई स्वीकार गरिसकेको सन्दर्भमा योगको उद्गम भूमि नेपालले यसको प्रवद्र्धनमा अग्रणी भूमिका खेल्नु स्वाभाविक र आवश्यक छ । बागमती प्रदेश सरकारले देखाएको तत्परतालाई संघीय र स्थानीय सरकारहरूले पनि आत्मसात् गर्दै राज्य संयन्त्र, सामाजिक संघसंस्था र नागरिक समाजको त्रिपक्षीय सहकार्यमार्फत योगलाई घरघरको संस्कार बनाउनुपर्छ । राज्यको सक्रियता र नागरिकको सहभागिताबाट मात्रै एक स्वस्थ, शान्त र ऊर्जावान् समाजको निर्माण सम्भव हुनेछ ।
२०८३ मंसिर २ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































