रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा, उत्पादन र लगानीमा भएन सुधार

काठमाडौं । नेपालको बाह्य आर्थिक अवस्था लगातार तीन वर्षदेखि बलियो देखिए पनि त्यसको सकारात्मक प्रभाव आन्तरिक अर्थतन्त्रमा अपेक्षित रूपमा पर्न सकेको छैन । रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ भने विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतले नयाँ उचाइ छोएका छन् ।

तर देशभित्र उत्पादन, लगानी र रोजगारी विस्तार हुन नसक्दा आर्थिक सुधारको लाभ सर्वसाधारणको जीवनस्तरसम्म पुग्न सकेको छैन । बरु महँगी बढ्दै गएको छ भने व्यापार घाटा पनि फराकिलो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले बाह्य क्षेत्र बलियो हुँदै गएको तर आन्तरिक अर्थतन्त्रमा संरचनागत समस्या कायमै रहेको देखाएको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म मुलुकमा सात खर्ब तीन अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१८ प्रतिशतले बढी हो ।

रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिसँगै विदेशी मुद्रा सञ्चितिमा पनि उल्लेख्य सुधार आएको छ । असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यसले मुलुकको बाह्य भुक्तानी क्षमता बलियो बनाएको छ । त्यस्तै, चालु खाता र शोधनान्तर अवस्थामा पनि सकारात्मक सुधार देखिएको छ । पहिलो तीन महिनामा शोधनान्तर बचत तीन खर्ब तीन अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । नेपालको शोधनान्तर अवस्था पछिल्ला तीन आर्थिक वर्षदेखि निरन्तर बचतमा रहँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा पाँच खर्ब दुई अर्ब रुपैयाँ रहेको शोधनान्तर बचत आर्थिक वर्ष २०८१/८२ मा बढेर पाँच खर्ब ९४ अर्ब पुगेको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा यो रकम १० खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै तीन खर्बभन्दा बढी बचत हुनुले बाह्य क्षेत्रको सबलता कायमै रहेको संकेत गर्छ । तर विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचत बढ्दैमा समग्र अर्थतन्त्रको अवस्था सुधारिएको मान्न सकिने अवस्था छैन । बाह्य क्षेत्रमा देखिएको सुधारको तुलनामा आन्तरिक आर्थिक गतिविधि कमजोर देखिएका छन् । यसको प्रत्यक्ष संकेत मूल्यवृद्धिमा देखिएको छ । गत आर्थिक वर्षको असोजमा १.४७ प्रतिशत रहेको वार्षिक उपभोक्ता मूल्यवृद्धि चालु वर्षको असोजमा बढेर ६.३७ प्रतिशत पुगेको छ ।

विशेषगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.०४ प्रतिशत पुगेको छ । घिउ तथा तेलको मूल्य १६.४४ प्रतिशत, फलफूलको १५.४६ प्रतिशत र यातायात क्षेत्रको मूल्य १२.९७ प्रतिशतले बढेको छ । यसले सर्वसाधारणको दैनिक उपभोग र आवागमन खर्चमा थप दबाब सिर्जना गरेको छ । एकातिर मुलुकको विदेशी मुद्रा सञ्चिति बढिरहेको छ भने अर्कोतिर नागरिकले दैनिक उपभोग्य वस्तु तथा सेवामा बढी खर्च गर्नुपर्ने अवस्था बनेको छ । व्यापार क्षेत्रको अवस्था पनि चुनौतीपूर्ण देखिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको निर्यात ५७.०३ प्रतिशतले बढेर एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । निर्यातमा उच्च वृद्धि देखिए पनि आयातको आकार अझै ठूलो छ । यही अवधिमा आयात ३८.१८ प्रतिशतले बढेर छ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । आयात र निर्यातबीचको ठूलो अन्तरका कारण व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर पाँच खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

निर्यातमा भएको वृद्धिलाई पनि दिगो र उत्पादनमुखी अर्थतन्त्रको संकेतका रूपमा लिन सकिने अवस्था छैन । कुल निर्यातमा भटमास तेलको हिस्सा मात्रै करिब ४६ प्रतिशत रहेको छ । पहिलो तीन महिनामा ५२ अर्ब ६१ करोड रुपैयाँबराबरको भटमास तेल निर्यात भएको छ । तर यसको उत्पादनमा आयातित कच्चा पदार्थको ठूलो भूमिका छ । कच्चा पदार्थ आयात गरेर प्रशोधनपछि निर्यात गर्ने व्यापारले निर्यातको तथ्यांक बढाए पनि स्वदेशी उत्पादन र मूल्य अभिवृद्धिमा अपेक्षित योगदान दिन सकेको छैन । यसले नेपालको निर्यात संरचना अझै सीमित वस्तुमा निर्भर रहेको देखाउँछ । स्वदेशमै उत्पादन हुने वस्तुको विविधीकरण, औद्योगिक क्षमता विस्तार र प्रतिस्पर्धी उत्पादन प्रणाली विकास हुन नसक्दा निर्यातमा दिगो आधार तयार हुन सकेको छैन । केही वस्तुको निर्यात बढ्दा समग्र निर्यातको तथ्यांकमा सुधार देखिए पनि त्यसले अर्थतन्त्रको उत्पादन क्षमता विस्तार भएको प्रमाणित गर्दैन । विदेशी लगानीको अवस्था पनि अपेक्षाअनुसार उत्साहजनक छैन । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद प्रत्यक्ष विदेशी लगानी तीन अर्ब ९८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी एक अर्ब १८ करोड रुपैयाँ थियो । रकमका आधारमा लगानी बढेको देखिए पनि रेमिट्यान्स आप्रवाहसँग तुलना गर्दा यसको आकार निकै सानो छ । तीन महिनामा भित्रिएको प्रत्यक्ष विदेशी लगानी रेमिट्यान्सको एक प्रतिशतभन्दा कम छ ।

नेपालमा लगानीको वातावरण सुधार गर्ने, उद्योग स्थापना र विस्तारलाई प्रोत्साहन गर्ने तथा विदेशी लगानी आकर्षित गर्ने विषय लामो समयदेखि प्राथमिकतामा पर्दै आए पनि त्यसअनुसारको परिणाम देखिन सकेको छैन । नीतिगत अस्थिरता, प्रशासनिक झन्झट, पूर्वाधारको अभाव र लगानीमैत्री वातावरण निर्माणमा देखिएका कमजोरीले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसकेको अवस्था छ । बाह्य क्षेत्रमा देखिएको सबलता मुख्यतः वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्समा आधारित छ । रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिति बढाउन र आयात तथा बाह्य भुक्तानी व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तर यही स्रोतलाई स्वदेशी उत्पादन, उद्योग, पूर्वाधार र रोजगारी सिर्जनामा जोड्न नसक्दा अर्थतन्त्र आयात र उपभोगमा निर्भर हुँदै गएको छ । विदेशी मुद्रा सञ्चिति बढ्नु र शोधनान्तर बचत कायम रहनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक पक्ष भए पनि त्यसलाई दीर्घकालीन आर्थिक विकासको आधार बनाउन आवश्यक छ । रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने, निर्यातका वस्तु विविधीकरण गर्ने, प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने चुनौती कायमै छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बाह्य क्षेत्र सुरक्षित देखिए पनि आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने काम अझै प्रभावकारी हुन नसकेको देखाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।