संघीय संसद्को महिला तथा सामाजिक मामिला समितिमा ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक’माथि भइरहेको छलफलका क्रममा विज्ञ र सरोकारवालाहरूले उजागर गरेका तथ्यहरूले नेपालमा मानव बेचबिखनको बदलिँदो र भयावह स्वरूपलाई सतहमा ल्याइदिएको छ ।
विगतमा खुला सीमानाको फाइदा उठाउँदै भारतका कोठीहरूमा पुर्याइने परम्परागत मानव बेचबिखनको स्थान अहिले आकर्षक वैदेशिक रोजगारीको आवरण र स्वदेशभित्रै मौलाएको आन्तरिक यौन शोषणले लिएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले वैदेशिक रोजगारीका नाममा विदेशमा अनुमानित डेढ लाख नेपाली महिला विभिन्न प्रकारका हिंसा र बेचबिखनको चपेटामा परेको भनी प्रस्तुत गरेको तथ्यांकले राज्यको विद्यमान कानुनी, प्रशासनिक र कूटनीतिक संयन्त्रको निरीहतालाई उदाङ्गो पारेको छ ।
सरकारकै अनुमति लिएर श्रम स्वीकृतिमार्फत वैदेशिक रोजगारीमा जाने महिलाहरू गन्तव्य मुलुकमा पुगेपछि शारीरिक, मानसिक तथा यौन हिंसाको सिकार हुनु र अंगभंग भएर स्वदेश फर्किनुपर्ने बाध्यता सिर्जना हुनु अत्यन्तै गम्भीर विषय हो । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले औँल्याएझैँ आज मानव बेचबिखनको दायरा ३ वटा प्रमुख क्षेत्रमा विस्तार भएको छः सीमापार बेचबिखन, नाबालिग बालबालिकामाथिको आन्तरिक शोषण र वैदेशिक रोजगारीको नाममा हुने आधुनिक दासता । अझ चिन्ताजनक पक्ष के छ भने काठमाडौँ उपत्यका लगायतका सहरी क्षेत्रका डान्सबार, क्लब र मनोरञ्जन क्षेत्रहरूमा नाबालिग बालबालिकाहरूलाई लागूऔषधको दुर्व्यसनमा फसाएर यौन शोषण गर्ने प्रवृत्ति दिउँसै उज्यालोमा मौलाइरहेको छ । राज्यको नाकमुनि भइरहेका यस्ता जघन्य अपराधहरू रोक्न प्रहरी प्रशासन र स्थानीय तह किन निष्क्रिय छन् भन्ने प्रश्न गम्भीर रूपले उठेको छ ।
रोजगारीका नाममा हुने बेचबिखन प्रकरणको अर्को विडम्बनापूर्ण र लज्जास्पद पाटो भनेको ‘रक्षक नै भक्षक’ बन्नु हो । सीमा नाकाहरूमा मानव बेचबिखन नियन्त्रण गर्ने नाममा टेन्ट टाँगेर बसेका कतिपय गैरसरकारी संस्थाहरू नै मानव तस्करी र गैरकानुनी गतिविधिमा संलग्न रहेको भनी महिला आयोगले गरेको खुलासा अत्यन्तै संवेदनशील छ । समाजसेवाको खोल ओढेर मानव तस्करीको सञ्जाल चलाउने यस्ता संस्था र व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडाभन्दा कडा फौजदारी कानुनको दायरामा ल्याउन आवश्यक छ । यसका साथै पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले सुझाव दिएजस्तै आन्तरिक र अन्तर्राष्ट्रिय मानव बेचबिखनलाई छुट्टाछुट्टै दृष्टिकोणबाट विश्लेषण गरी सोहीअनुरूपको कानुनी उपचार खोजिनुपर्छ ।
नेपालमा मानव बेचबिखनको रूप बदलिएर डिजिटल माध्यम, भिजिट भिसा, शैक्षिक परामर्श र अवैध अंग तस्करीसम्म विस्तार भइसकेको अवस्थामा पुरानै ढर्राको कानुनले यसलाई नियन्त्रण गर्न सम्भव छैन । संसद्मा विचाराधीन ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक’लाई समयसापेक्ष, कठोर र पीडितमैत्री बनाउनु आजको अपरिहार्य आवश्यकता हो । विधेयकमा वैदेशिक रोजगारीको नाममा ठगी र तस्करी गर्ने म्यानपावर कम्पनी तथा दलालहरूलाई कडा सजायको व्यवस्था, आन्तरिक यौन शोषणको नियमन, पीडितको उद्धार र पुनःस्थापनाको स्पष्ट दायित्व तथा अवैध मानव अंग तस्करी विरुद्धको कठोर प्रावधानलाई अनिवार्य रूपमा समेटिनुपर्छ ।
मानव बेचबिखन कानुनी वा सुरक्षाको विषय मात्र नभई गरिबी, बेरोजगारी, लैंगिक विभेद र राज्यको कमजोर सुशासनसँग जोडिएको गहिरो सामाजिक–आर्थिक समस्या हो । स्वदेशमै मर्यादित रोजगारीको सिर्जना नगरी र वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र मर्यादित नबनाई नागरिकलाई बेचबिखनको दलदलबाट जोगाउन सकिँदैन । संसद् र सरकारले सरोकारवालाहरूका यी महत्वपूर्ण सुझावहरूलाई आत्मसात् गर्दै अविलम्ब प्रभावकारी कानुन निर्माण गर्नुपर्छ । साथै कानुनको कठोर कार्यान्वयनमार्फत नेपाली चेलीबेटी तथा नागरिकको आत्मसम्मान र बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्छ ।
२०८३ मंसिर ४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































