चाडपर्वपछि सेयर बजारमा बौरिनै सकेन

काठमाडौं । दसैँ र तिहारजस्ता नेपालीका ठूला चाडपर्व सकिए पनि सेयर बजारमा लगानीकर्ताको सक्रियता अपेक्षाअनुसार बढ्न सकेको छैन ।

चाडपर्वपछि बजारमा कारोबारको चहलपहल बढ्ने अनुमान गरिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पछिल्लो तथ्यांकले लगानीकर्ता अझै पूर्ण रूपमा बजारमा फर्किन नसकेको देखाएको छ । कारोबार रकम, बजारको उतारचढाव र लगानीकर्ताको गतिविधिलाई हेर्दा सेयर बजारमा अझै ‘भ्याकेसन मुड’को प्रभाव कायम रहेको देखिन्छ । नेप्सेको तथ्यांकअनुसार तिहारपछि खुलेको पहिलो साताका चार कारोबार दिनमा दैनिक कारोबार रकम तीन अर्बदेखि चार अर्ब रुपैयाँको हाराहारीमा सीमित भएको छ । यस अवधिमा अधिकतम चार अर्ब रुपैयाँसम्मको कारोबार भएको छ भने न्यूनतम कारोबार तीन अर्ब रुपैयाँ आसपास रहेको छ । जबकि दसैँ र तिहारअघि कारोबार भएको अन्तिम सातामा दैनिक कारोबार रकम सात अर्ब रुपैयाँसम्म पुगेको थियो ।

चाडपर्वअघि र पछिको कारोबार रकम तुलना गर्दा बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा घटेको देखिन्छ । चाडपर्वअघि सात अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम चाडपर्वपछि चार अर्ब रुपैयाँमा सीमित हुनुले लगानीकर्ताको सक्रियता घटेको संकेत गर्छ । बजारमा खरिदकर्ता र बिक्रीकर्ता दुवैको सहभागिता अपेक्षाकृत कम हुँदा कारोबार रकमसमेत खुम्चिएको देखिएको हो ।चाडपर्वपछिको पहिलो साता बजारको परिसूचकमा पनि सकारात्मक संकेत देखिएन । चार कारोबार दिनमध्ये तीन दिन नेप्से परिसूचक घटेको छ भने एक दिन मात्रै सामान्य सुधार आएको छ । समग्रमा उक्त साता नेप्से २१ अंकले ओरालो लागेको छ । यसले चाडपर्वपछि बजारमा सेयर खरिद गर्नेभन्दा बिक्री गर्ने लगानीकर्ताको दबाब बढी रहेको देखाउँछ ।

चाडपर्व सकिएलगत्तै बजारमा लगानीकर्ताको चहलपहल बढ्ने अपेक्षा गरिएको थियो । दसैँ–तिहारको समयमा रोकिएको लगानी तथा कारोबारसम्बन्धी निर्णयपछि बजारमा नयाँ पैसा प्रवेश गर्ने र खरिदबिक्री बढ्ने अनुमान थियो । तर, पहिलो साताको कारोबारले त्यस्तो अपेक्षालाई तत्काल पूरा गर्न सकेन । लगानीकर्ताले बजारमा ठूलो रकम परिचालन गर्न चासो नदेखाउँदा कारोबार रकम र परिसूचक दुवै कमजोर देखिएका छन् । यद्यपि, चाडपर्वपछिको पहिलो साताको कारोबारलाई मात्रै आधार बनाएर आगामी दिनमा पनि बजार सुस्त नै रहने निष्कर्ष निकाल्न भने मिल्दैन । पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा चाडपर्वपछि तत्काल बजार बढ्नेभन्दा पनि केही समय उतारचढाव हुने र त्यसपछि क्रमशः सुधार आउने प्रवृत्ति देखिएको छ ।

नेप्सेको पछिल्लो तीन वर्षको तथ्यांकले पनि चाडपर्व सकिएलगत्तै बजारमा एकनासको वृद्धि नभएको देखाउँछ । २०८० र २०८२ सालमा चाडपर्वको महिना सकिएपछि बजार तत्काल ओरालो लागेको थियो । तर, त्यसपछिका महिनामा भने परिसूचकले उल्लेख्य सुधार गरेको देखिन्छ । विशेषगरी माघ महिनासम्म पुग्दा बजारले सय अंकभन्दा बढीको वृद्धि हासिल गरेको तथ्यांकले देखाउँछ ।२०८० सालमा दसैँ र तिहारपछि खुलेको बजार कात्तिक र मंसिर दुवै महिना ओरालो लागेको थियो । चाडपर्वपछि बजारमा तत्काल सुधार आउन नसके पनि मंसिरको अन्त्यतिरबाट भने नेप्सेले गति लिन थालेको थियो । त्यसपछि बजारमा क्रमशः सुधार हुँदै माघ महिनासम्म पुग्दा परिसूचक तीन सय अंकभन्दा बढीले उकालो लागेको नेप्सेको तथ्यांक छ ।

२०८१ सालमा भने बजारको प्रवृत्ति केही फरक देखिएको थियो । उक्त वर्ष असोज र कात्तिक महिनामा नेप्से परिसूचक बढेको थियो । तर, तिहारपछि मंसिर र पुस महिनाभर बजार ओरालो लागेको देखिन्छ । त्यसपछि माघ महिनाबाट पुनः बजारमा सुधारको संकेत देखिन थालेको थियो । यसले चाडपर्वपछिको बजारको गति हरेक वर्ष एउटै प्रकृतिको नहुने देखाउँछ । त्यस्तै, २०८२ सालमा पनि २०८० कै जस्तो प्रवृत्ति दोहोरिएको थियो । तिहारपछि खुलेको बजार कात्तिक महिनाभर ओरालो लागेको थियो । तर, मंसिर महिना सुरु भएसँगै नेप्से परिसूचकमा सुधार देखियो । उक्त अवधिमा परिसूचक करिब एक सय अंकले बढेको तथ्यांक छ । यसले चाडपर्वपछि बजारमा तत्काल देखिने गिरावट दीर्घकालीन प्रवृत्ति नहुन सक्ने संकेत गर्छ ।

पछिल्ला तीन वर्षको तथ्यांकमा मात्रै यस्तो प्रवृत्ति देखिएको होइन । विगत १० वर्षको बजार गतिविधि विश्लेषण गर्दा पनि दसैँ र तिहारपछि खुलेको चार महिनाको अवधिमा नेप्से कम्तीमा एकपटक उच्च बिन्दुमा पुगेको देखिन्छ । विशेषगरी माघ महिनासम्ममा बजार १ सयदेखि ३ सय अंकसम्म उकालो लागेको उदाहरण धेरै छन् । यसले चाडपर्वपछिको समयलाई सेयर बजारका लागि महत्वपूर्ण अवधिका रूपमा हेर्ने गरिएको छ । बजार विश्लेषक सुवासचन्द्र ढुंगाना पनि चाडपर्वपछि सेयर बजारमा लगानीकर्ताको गतिविधि सामान्य अवस्थाभन्दा बढी हुने बताउँछन् । बजार बुलिस अर्थात् बढ्दो अवस्थामा होस् वा बियरिस अर्थात् घट्दो अवस्थामा, चाडपर्वपछि कारोबारमा फरक प्रकृतिको चहलपहल देखिने उनको अनुभव छ ।

उनका अनुसार पछिल्लो एक दशकको बजार प्रवृत्ति हेर्दा अक्टोबरको अन्तिम र नोभेम्बरको सुरुआतबाट बजारको दोस्रो चक्र सुरु हुने गरेको छ । यो समय सामान्यतया दसैँ र तिहार सकिएको अवधि हो । यही समयमा सूचीकृत कम्पनीहरूले वार्षिक साधारणसभा (एजीएम) आयोजना गर्ने, लाभांश घोषणा गर्ने र लगानीकर्ताले कम्पनीहरूको वित्तीय अवस्था तथा प्रतिफलको मूल्यांकन गर्ने भएकाले बजारमा गतिविधि बढ्ने उनी बताउँछन् ।“१० वर्षयता हेर्ने हो भने अक्टोबरको अन्तिम र नोभेम्बरको सुरुआतबाट बजारको दोस्रो साइकल सुरु हुने गरेको पाइन्छ, यो भनेको दसैँ र तिहार सकिएको समय हो,” ढुंगाना भन्छन्, “यो समयमा कम्पनीहरूको एजीएम हुने, डिभिडेन्ड घोषणा हुने हुँदा त्यसले बजारलाई चलायमान बनाउने गर्छ ।”

बजार विश्लेषण गर्नेहरूले सामान्यतया वर्षमा दुईवटा प्रमुख चक्र हुने मान्यता राख्ने गरेका छन् । पहिलो चक्र बजेट सार्वजनिक हुने र त्यसको कार्यान्वयन सुरु हुने समयसँग सम्बन्धित छ । सामान्यतया जुनदेखि अगस्टसम्मको अवधिलाई पहिलो चक्रका रूपमा लिने गरिन्छ । सरकारले बजेटमार्फत ल्याएका नयाँ कार्यक्रम, योजना र नीतिहरू कार्यान्वयनमा जान थालेपछि त्यसको प्रभाव सेयर बजारमा पर्न सक्छ । विकास निर्माण, पूर्वाधार, उत्पादन तथा अन्य क्षेत्रमा लगानी विस्तार हुने अपेक्षाले बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गर्ने गर्छ । दोस्रो चक्र भने अक्टोबरदेखि फेब्रुअरीसम्मको अवधिलाई मानिन्छ । यो समय सूचीकृत कम्पनीहरूले वार्षिक साधारणसभा गर्ने, लाभांश घोषणा तथा वितरण गर्ने र लगानीकर्ताले प्रतिफल प्राप्त गर्ने समय पनि हो । कम्पनीहरूले सार्वजनिक गर्ने वित्तीय विवरण, लाभांशसम्बन्धी निर्णय र आगामी योजनाले लगानीकर्ताको निर्णयलाई प्रभावित पार्छन् । त्यसैले यो अवधिमा बजारमा कारोबारको गतिविधि बढ्ने सम्भावना रहन्छ ।

यसका अतिरिक्त दसैँ र तिहारजस्ता ठूला चाडपर्वमा सर्वसाधारणको नगद प्रवाहमा पनि परिवर्तन आउने गर्छ । रोजगारी, व्यापार व्यवसाय, रेमिट्यान्स तथा अन्य स्रोतबाट प्राप्त हुने रकम चाडपर्वका समयमा उपभोगमा खर्च हुने गरे पनि चाडपर्वपछि बचत तथा लगानीका लागि रकम छुट्याउने अवस्था बन्न सक्छ । यसले पनि सेयर बजारमा नयाँ रकम प्रवेश गर्ने सम्भावना बढाउँछ ।विश्लेषक ढुंगानाका अनुसार दोस्रो बजार चक्र सुरु हुने समयमै चाडपर्व पर्ने भएकाले बजारमा थप रकम प्रवेश गर्ने वातावरण बन्ने गर्छ । कम्पनीहरूको साधारणसभा र लाभांश घोषणासँगै सर्वसाधारणको हातमा आउने नगदले पनि कारोबारलाई चलायमान बनाउन सहयोग गर्छ ।

“सामान्यतया दोस्रो साइकलमा बजार बढ्ने सम्भावना धेरै हुन्छ । साधारणसभासँगै लाभांश घोषणा हुने र चाडपर्वले सर्वसाधारणमा नगद प्रवाह बढाउने कारणले पनि बजारमा कारोबार बढ्ने गर्छ,” उनले भने । तर, चाडपर्वपछि बजार बढ्ने सम्भावना रहे पनि त्यसलाई सुनिश्चित मान्न सकिँदैन । बजारको दिशा कम्पनीहरूको वित्तीय अवस्था, लगानीकर्ताको मनोविज्ञान, बैंकिङ प्रणालीमा उपलब्ध तरलता, ब्याजदर, सरकारी नीति र समग्र आर्थिक अवस्थाले निर्धारण गर्छ । चाडपर्वपछि कारोबार बढ्ने ऐतिहासिक प्रवृत्ति भए पनि त्यसको प्रभाव प्रत्येक वर्ष फरक हुन सक्छ । अहिलेको अवस्थामा पनि चाडपर्वपछिको पहिलो सातामा कारोबार रकम घट्नु र नेप्से परिसूचक ओरालो लाग्नुले लगानीकर्तामा तत्काल उत्साह नदेखिएको संकेत गरेको छ । तर, विगतका वर्षहरूको तथ्यांकले चाडपर्वपछिको पहिलो साताको कमजोरीलाई नै बजारको आगामी दिशाको आधार बनाउन नमिल्ने देखाउँछ ।

असोज, कात्तिक र मंसिर महिनामा बजारमा उतारचढाव देखिए पनि माघसम्म पुग्दा अधिकांश वर्ष नेप्सेले सुधारको बाटो समातेको उदाहरण छन् । त्यसैले अहिले कारोबारमा सुस्त देखिएका लगानीकर्ता आगामी दिनमा कम्पनीहरूको लाभांश, साधारणसभा, वित्तीय विवरण र बजारको समग्र अवस्थालाई मूल्यांकन गर्दै पुनः सक्रिय हुने सम्भावना छ । चाडपर्व सकिएपछि पनि बजारमा अपेक्षित चहलपहल नदेखिनु तत्कालका लागि लगानीकर्ताको कमजोर मनोविज्ञानको संकेत हुन सक्छ । तर, विगतको प्रवृत्तिले आगामी केही महिनालाई सेयर बजारका लागि महत्वपूर्ण समयका रूपमा देखाएको छ । अब बजारमा लगानीकर्ताको सक्रियता कहिले बढ्छ र त्यसले नेप्सेलाई कुन दिशातर्फ लैजान्छ भन्ने विषय आगामी कारोबारका दिनले स्पष्ट पार्नेछन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।