नेपाली अर्थतन्त्रमा बढ्दो परनिर्भरताको जोखिम

विगत ३ आर्थिक वर्षयता नेपालको बाह्य आर्थिक परिसूचकहरू विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत र रेमिट्यान्स आप्रवाह सन्तोषजनक र सुदृढ देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिना असोज मसान्तसम्मको तथ्यांकले पनि यही क्रमलाई निरन्तरता दिएको छ ।

पहिलो ३ महिनामा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिनु, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुग्नु र शोधनान्तर बचत ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ रहनुले बाह्य भुक्तानी सन्तुलनमा तत्काल कुनै संकट नरहेको देखाउँछ । तर बाह्य ढुकुटी भरिँदै जाँदा देशभित्रको वास्तविक अर्थतन्त्र भने सुस्त, उपभोगमुखी र परनिर्भरताको दलदलमा फस्दै गएको तीतो यथार्थलाई तथ्यांकले झन् स्पष्ट पारेको छ । आर्थिक सुधारको प्रतिफल आमनागरिकको भान्सा र जीवनस्तरसम्म पुग्न नसकेको सबैभन्दा प्रत्यक्ष प्रमाण बढ्दो मूल्यवृद्धि हो । गत वर्षको असोजमा १.४७ प्रतिशत रहेको वार्षिक उपभोक्ता मूल्यवृद्धि चालू वर्षको सोही अवधिमा उक्लिएर ६.३७ प्रतिशत पुग्नुले सर्वसाधारणको क्रयशक्तिमा गम्भीर चाप पारेको छ । खाद्य तथा पेय पदार्थमा ८.०४ प्रतिशत, घिउ–तेलमा १६.४४ प्रतिशत, फलफूलमा १५.४६ प्रतिशत र यातायातमा १२.९७ प्रतिशतको मूल्यवृद्धि हुँदा न्यून तथा मध्यम आय भएका परिवारको दैनिक गुजारा झन् कष्टकर बन्दै गएको छ ।

एकातिर विदेशी मुद्राको चाङ थुप्रिँदै जाने र अर्कोतिर आधारभूत उपभोग्य वस्तुको भाउ आकासिने विरोधाभासपूर्ण अवस्थाले आन्तरिक आपूर्ति प्रणाली र बजार व्यवस्थापनमा रहेको कमजोरीलाई उजागर गर्छ । व्यापार क्षेत्रको तस्वीर पनि उत्तिकै चिन्ताजनक छ । पहिलो ३ महिनामा निर्यात ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको तथ्यांक सतहमा उत्साहजनक देखिए पनि यसको भित्री संरचना कमजोर छ । कुल निर्यातको करिब ४६ प्रतिशत हिस्सा ओगटेको भटमास तेलको निर्यात स्वदेशी उत्पादन र मूल्य अभिवृद्धिभन्दा पनि आयातित कच्चा पदार्थको प्रशोधनमा आधारित देखिन्छ । अर्कोतर्फ आयात ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४७ अर्ब रुपैयाँ पुग्दा व्यापार घाटा ३४.७१ प्रतिशतले चुलिएर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ नाघेको छ ।

स्वदेशमा उत्पादन र औद्योगिक आधार बलियो नबनाई कच्चा पदार्थ आयात र पुनः निर्यातको चक्रमा रमाउनु दिगो आर्थिक समृद्धिको आधार बन्न सक्दैन । यसैगरी खुद प्रत्यक्ष विदेशी लगानी (एफडीआई) ३ महिनामा ३ अर्ब ९८ करोड रुपैयाँ भित्रिनु अघिल्लो वर्षको तुलनामा रकमका हिसाबले बढी देखिए पनि रेमिट्यान्सको आकारसँग तुलना गर्दा नगण्य छ । नीतिगत निरन्तरताको अभाव, प्रशासनिक झन्झट, पूर्वाधारको अपर्याप्तता र लगानीको वातावरणमा देखिने अनिश्चितताले स्वदेशी तथा विदेशी पुँजीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न सकेको छैन ।

बाह्य क्षेत्रको बलियोपना मुख्यतः लाखौँ युवाको पसिनाबाट आर्जित रेमिट्यान्समा अडेको छ । तर त्यो पुँजीलाई स्वदेशमै उद्योग, कृषि, प्रविधि र रोजगारी सिर्जनामा रूपान्तरण गर्ने ठोस संयन्त्र अझै प्रभावकारी बन्न सकेको छैन । विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतको अंकमा मात्र रमाएर बस्ने छुट नीति निर्माताहरूलाई छैन । बाह्य स्थायित्वलाई आन्तरिक आर्थिक पुनरुत्थानको माध्यम बनाउन अब ढिलाइ गर्नु हुँदैन । स्वदेशी उत्पादन वृद्धिका लागि औद्योगिक तथा कृषि क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्ने, आयात प्रतिस्थापन र वास्तविक मूल्य अभिवृद्धि हुने निर्यातजन्य वस्तुको विविधीकरण गर्ने, बजार अनुगमन तथा आपूर्ति शृंखलालाई चुस्त बनाउने र रेमिट्यान्सलाई उत्पादनशील पुँजीमा जोड्ने स्पष्ट कार्ययोजना आवश्यक छ । बाह्य ढुकुटीको सबलतालाई आन्तरिक रोजगारी, उत्पादन र नागरिकको जीवनस्तर सुधारमा रूपान्तरण गर्न सके मात्रै नेपाली अर्थतन्त्र बढ्दो परनिर्भरताको जोखिमबाट सुरक्षित हुन सक्नेछ ।

२०८३ मंसिर ६ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।