बालेनको अग्निपरीक्षा : दिल्लीलाई रिझाउने कि नेपालको पीडा सुनाउने ?

नेपाली नागरिकले भारतका सरकारी अस्पतालमा उपचार प्राप्त गर्दा आवश्यक कागजात र प्रक्रियालाई सरल बनाउन सकिन्छ । विपन्न तथा आकस्मिक अवस्थाका बिरामीका लागि विशेष सहायता प्रणाली स्थापना गर्न सकिन्छ ।औषधि आयातमा गुणस्तर, मूल्य र आपूर्ति प्रणालीलाई पारदर्शी बनाउने विषय पनि उठाउनुपर्छ । नेपालमा औषधि उत्पादन गर्ने उद्योगलाई आवश्यक कच्चा पदार्थ र प्रविधि उपलब्ध गराउन भारतसँग सहकार्य गर्न सकिन्छ ।

भारत नेपाली विद्यार्थीका लागि उच्च शिक्षा, चिकित्सा, इन्जिनीयरिङ, व्यवस्थापन, कृषि, सूचना प्रविधि र अन्य प्राविधिक विषय अध्ययन गर्ने महत्वपूर्ण गन्तव्य हो । नेपाल र भारतबीच शैक्षिक सहकार्यको लामो इतिहास छ । भारत सरकारले नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । तर बदलिँदो समयअनुसार छात्रवृत्तिको संख्या, विषयगत विविधता र प्राविधिक शिक्षाको अवसर विस्तार गर्न आवश्यक छ । प्रधानमन्त्रीले भारतसँग उच्च शिक्षा तथा अनुसन्धानमा छात्रवृत्ति विस्तार, चिकित्सा, इन्जिनीयरिङ, कृषि, विज्ञान र सूचना प्रविधिमा विशेष छात्रवृत्ति, प्राविधिक शिक्षालयबीच संस्थागत सहकार्य, नेपालका विश्वविद्यालय र भारतीय विश्वविद्यालयबीच संयुक्त अनुसन्धान कार्यक्रम तथा प्राप्त शैक्षिक योग्यताको मान्यता र प्रमाणीकरण प्रक्रिया सरल बनाउने विषय उठाउनुपर्छ ।
नेपालको युवा जनशक्तिलाई केवल वैदेशिक रोजगारीमा पठाउने सोचबाट माथि उठेर सीप, ज्ञान, प्रविधि र उद्यमशीलता विकासमा सहकार्य गर्नुपर्छ ।

नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवनमा सीमा नाकाको व्यवस्थापनले प्रत्यक्ष प्रभाव पार्छ । सीमावर्ती बजारमा साना व्यापारी, किसान, उपभोक्ता र दैनिक आवतजावत गर्ने सर्वसाधारणले अनेकौँ समस्या भोग्ने गरेका छन् ।
भन्सार जाँच, मालसामानको ओसारपसार, सवारी आवागमन, कागजात प्रमाणीकरण र सुरक्षा जाँचलाई व्यवस्थित बनाउनु आवश्यक छ । विशेषगरी रौतहटको गौर–बैरगनिया, बारा–पर्साका नाका, सर्लाहीका सीमावर्ती बजार र मधेश प्रदेशका अन्य परम्परागत व्यापारिक मार्गलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ ।

प्रधानमन्त्रीले सीमा नाकामा आधुनिक पूर्वाधार, पर्याप्त जनशक्ति, डिजिटल भन्सार प्रणाली, पार्किङ, गोदाम, शौचालय, स्वास्थ्य परीक्षण र नागरिक सहायता केन्द्र निर्माणका लागि भारतसँग सहकार्य प्रस्ताव गर्नुपर्छ । साना व्यापारीलाई लक्षित गरेर सीमा क्षेत्रमा व्यापारिक सहजीकरण केन्द्र स्थापना गर्न सकिन्छ । स्थानीय कृषि उत्पादनको सीमापारि बजार विस्तार गर्न दुवै देशका स्थानीय तह, उद्योग वाणिज्य संघ र कृषि निकायबीच नियमित संवादको व्यवस्था हुनुपर्छ । सीमा क्षेत्रका नागरिकलाई केवल सुरक्षा निगरानीको दृष्टिले हेर्ने होइन, २ देशबीचको आर्थिक सम्बन्धका वास्तविक साझेदारका रूपमा सम्मान गर्नुपर्छ । नेपाल र भारतबीचको वातावरणीय सम्बन्ध पनि अत्यन्त महत्वपूर्ण छ । हिमालय, चुरे क्षेत्र, तराईका वन, नदी प्रणाली, वन्यजन्तुका आवास र जैविक विविधता दुवै मुलुकका साझा प्राकृतिक सम्पदा हुन् । वन विनाश, अवैध वन्यजन्तु व्यापार, नदी प्रदूषण, वायु प्रदूषण, प्लास्टिकजन्य फोहोर र जलवायु परिवर्तनले सीमापारिको वातावरणमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

नेपालले भारतसँग वातावरण संरक्षणमा साझा कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गर्नुपर्छ । विशेषगरी चुरे संरक्षण, सीमावर्ती वन क्षेत्रको सुरक्षा, वन्यजन्तुको आवागमन मार्ग संरक्षण, नदी तथा जलाशयको प्रदूषण नियन्त्रण र हरित प्रविधिको विकासमा सहकार्य आवश्यक छ । नेपालका तराईका वन क्षेत्र र भारतका सीमावर्ती वन क्षेत्रलाई जोडेर जैविक विविधता संरक्षणको कार्यक्रम सञ्चालन गर्न सकिन्छ । वन्यजन्तु चोरीसिकारी र वन पैदावारको अवैध ओसारपसार रोक्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्छ । नेपाल र भारतबीचको खुला सिमाना ऐतिहासिक उपलब्धि हो । तर यसको दुरुपयोग गरेर मानव बेचबिखन, लागूऔषध ओसारपसार, अवैध हातहतियार, नक्कली मुद्रा, राजस्व छली, संगठित अपराध र अन्य गैरकानुनी गतिविधि हुने गरेका छन् ।

यसको नियन्त्रणका लागि दुवै देशबीच सुरक्षा सहकार्य आवश्यक छ । नेपालले भारतसँग सीमा सुरक्षा बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित अनुसन्धान निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउन प्रस्ताव गर्नुपर्छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, सीमापारि अपराधमा संलग्न व्यक्तिको अनुसन्धानमा कानुनी सहकार्य, महिला तथा बालबालिकाको उद्धार र पुनःस्थापना, हराएका तथा बेपत्ता भएका व्यक्तिको खोजीमा सूचना आदानप्रदान र नक्कली नोट तथा आर्थिक अपराध नियन्त्रणमा संयुक्त प्रयास आवश्यक छ । तर सुरक्षा सहकार्यको नाममा सर्वसाधारण नागरिकको आवागमनमा अनावश्यक अवरोध हुनु हुँदैन । सुरक्षा र स्वतन्त्र आवागमनबीच सन्तुलन कायम गर्नु दुवै सरकारको जिम्मेवारी हो ।

नेपाल र भारतबीचको व्यापार सम्बन्धमा लामो समयदेखि असन्तुलन देखिँदै आएको छ । नेपालले भारतबाट पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, मेसिनरी, खाद्यान्न र दैनिक उपभोगका वस्तु ठूलो परिमाणमा आयात गर्छ । तर नेपाली उत्पादनको निर्यात क्षमता अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । यसले नेपालको व्यापार घाटा बढाउने मात्र होइन, विदेशी मुद्रा सञ्चितिमा समेत दबाब सिर्जना गर्छ । नेपालले भारतसँग व्यापार सम्बन्धलाई आयातमुखी अवस्थाबाट उत्पादन र निर्यातमुखी बनाउन आवश्यक छ ।
नेपाली चिया, अलैँची, अदुवा, जडीबुटी, मह, कृषि उत्पादन, प्रशोधित खाद्य सामग्री, हस्तकला, तयारी पोसाक, सिमेन्ट र अन्य औद्योगिक उत्पादनको भारतीय बजारमा पहुँच विस्तार गर्न सकिन्छ ।

यसका लागि भारतले नेपाली उत्पादनमाथि लाग्ने गैरभन्सार अवरोध कम गर्नुपर्छ । खाद्य गुणस्तर परीक्षण, क्वारेन्टाइन, प्रमाणपत्र र भन्सार प्रक्रियालाई सहज बनाउनुपर्छ । नेपालले पनि आफ्ना उत्पादनको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय मापदण्डको पालना र उत्पादन क्षमता विस्तार गर्नुपर्छ । नेपालमा जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, औद्योगिक उत्पादन, सूचना प्रविधि, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ । भारत नेपालको प्रमुख व्यापारिक तथा लगानी साझेदार भएकाले भारतीय निजी क्षेत्रलाई नेपालमा उत्पादनमूलक लगानीका लागि आकर्षित गर्नुपर्छ ।

तर लगानीको नाममा केवल आयात व्यापार, जग्गा कारोबार र सीमित क्षेत्रमा पुँजी परिचालन हुनु पर्याप्त हुँदैन । नेपाली नागरिकलाई रोजगारी दिने, सीप हस्तान्तरण गर्ने र स्थानीय उत्पादन बढाउने लगानीलाई प्राथमिकता दिनुपर्छ । प्रधानमन्त्रीले भारतसँग संयुक्त लगानी प्रवद्र्धन केन्द्र स्थापना गर्ने प्रस्ताव राख्न सक्छन् । यसले सम्भावित लगानीकर्तालाई कानुनी प्रक्रिया, कर व्यवस्था, उद्योग दर्ता, जग्गा उपलब्धता र आवश्यक पूर्वाधारबारे जानकारी दिन सक्छ । नेपाली युवालाई प्राविधिक तालिम प्रदान गरेर नेपालमै रोजगारी सिर्जना गर्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ । सीमा नाकामा मालसामान रोकिँदा व्यापारीको लागत बढ्छ । विशेषगरी कृषि उत्पादन, खाद्य सामग्री, औषधि र छिटो बिग्रने वस्तुको ढुवानीमा हुने ढिलाइले ठूलो क्षति पुर्‍याउँछ ।

नेपालले भारतसँग भन्सार प्रक्रियालाई पूर्णरूपमा डिजिटल र पारदर्शी बनाउने प्रस्ताव राख्नुपर्छ । दुवै देशका भन्सार निकायबीच तथ्यांक आदानप्रदान, पूर्वघोषणा प्रणाली, जोखिममा आधारित जाँच र विद्युतीय प्रमाणपत्रको व्यवस्था विस्तार गर्न सकिन्छ । सीमा नाकामा एउटै मालसामानको पटक–पटक जाँच हुने प्रवृत्ति घटाउनुपर्छ । संयुक्त जाँच प्रणाली र एकीकृत भन्सार पूर्वाधार विस्तार गर्नुपर्छ । नेपालको ठूलो जनसंख्या कृषि क्षेत्रमा निर्भर छ । तर किसानले उत्पादनको उचित मूल्य, मलखाद, बीउ, सिँचाइ, आधुनिक उपकरण र बजारको समस्या भोगिरहेका छन् । भारतसँग कृषि क्षेत्रमा सहकार्य गर्दा नेपाली किसानको हितलाई केन्द्रमा राख्नुपर्छ ।
उन्नत बीउ, कृषि प्रविधि, सिँचाइ प्रणाली, माटो परीक्षण, कृषि अनुसन्धान, पशुपालन र कृषि प्रशोधनमा सहकार्य गर्न सकिन्छ । विशेषगरी सीमावर्ती जिल्लाका किसानलाई भारतीय कृषि अनुसन्धान संस्थानसँग जोडेर आधुनिक खेती प्रणालीको तालिम उपलब्ध गराउन सकिन्छ ।

नेपालको कृषि उत्पादनलाई भारतीय बजारमा बिक्री गर्न सहज व्यवस्था हुनुपर्छ । तर कृषि व्यापारमा असमान प्रतिस्पर्धा र अनियन्त्रित आयातले नेपाली किसान विस्थापित हुने अवस्था आउन दिनु हुँदैन । नेपाल र भारतबीच विकास सहकार्यको चर्चा गर्दा ठूला जलविद्युत् आयोजना, राजमार्ग, रेलमार्ग र प्रसारण लाइनको विषय प्रमुख रूपमा आउँछ । तर सीमावर्ती जिल्लाका नागरिकले भोगिरहेका स्थानीय पूर्वाधारका समस्या पनि त्यत्तिकै महत्वपूर्ण छन् । सीमा क्षेत्रका सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, सिँचाइ नहर, खानेपानी, कृषि बजार र विपद् व्यवस्थापन केन्द्रको विकासमा सहकार्य आवश्यक छ । विशेषगरी मधेश प्रदेशका सीमावर्ती स्थानीय तहमा विकासको असमानता हटाउन लक्षित कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

नेपालले भारतसँग सीमावर्ती पूर्वाधार विकासका लागि विशेष संयुक्त कोष स्थापना गर्ने प्रस्ताव राख्नुपर्छ । कोषबाट छनोट गरिएका आयोजना स्थानीय आवश्यकताका आधारमा सञ्चालन गर्न सकिन्छ । नेपाल र भारतबीचको सम्बन्धमा समस्या उठ्नु नयाँ विषय होइन । विगतका धेरै भ्रमण, बैठक र द्विपक्षीय वार्तामा विभिन्न विषयमा सहमति भएका छन् । तर कतिपय विषय वर्षौँसम्म कार्यान्वयन हुन सकेका छैनन् । त्यसैले प्रधानमन्त्रीको भ्रमणमा नयाँ सहमति गर्नेभन्दा पुराना सहमतिको कार्यान्वयनको अवस्था समीक्षा गर्नु पनि आवश्यक छ । नेपालले भारतसँग प्रधानमन्त्रीस्तरीय संयुक्त संयन्त्र, परराष्ट्र सचिवस्तरीय नियमित बैठक, सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल, बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी प्राविधिक समिति, व्यापार तथा पारवहनसम्बन्धी संयुक्त संयन्त्र, ऊर्जा तथा जलस्रोतसम्बन्धी संयुक्त आयोग र नागरिक सुरक्षा तथा कानुनी सहायता संयन्त्रलाई प्रभावकारी बनाउने प्रस्ताव राख्नुपर्छ ।
नेपालले भारतसँग प्रत्येक महत्वपूर्ण विषयका लागि जिम्मेवार निकाय, कार्यतालिका र उपलब्धि मापन गर्ने सूचक तय गर्न माग गर्नुपर्छ । कूटनीतिक सफलताको मापन संयुक्त वक्तव्यमा प्रयोग गरिएका आकर्षक शब्दले होइन, नागरिकको जीवनमा आएको परिवर्तनले हुनुपर्छ ।

प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणमा सीमा स्तम्भको संरक्षण र विवादरहित सीमा व्यवस्थापन, सुस्ता र कालापानी लगायतका संवेदनशील क्षेत्रको समाधान, सीमावर्ती नागरिकको सम्पत्ति र आवागमनको सुरक्षा, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, डिजिटल तथा सूचना प्रविधिमा सहकार्य, जलवायु वित्त र हरित अर्थतन्त्र, खेलकुद तथा युवा आदानप्रदान र सीमावर्ती बजारमा उपभोक्ता अधिकारका विषय पनि उठाउनुपर्छ । नेपाल र भारतबीचको खुला सिमानामा पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकको जग्गा, घर र सम्पत्तिसम्बन्धी समस्या समाधानका लागि दुवै देशका प्रशासनबीच संवाद हुनुपर्छ । सीमा क्षेत्रमा रहेका पुराना मठमन्दिर, मस्जिद, मजार, धर्मशाला, पोखरी र सांस्कृतिक सम्पदाको संरक्षणमा सहकार्य गर्न सकिन्छ ।

साइबर अपराध, डिजिटल भुक्तानी, सूचना सुरक्षा, कृत्रिम बौद्धिकता, स्टार्टअप र प्रविधि हस्तान्तरणमा सहकार्य विस्तार गर्नुपर्छ । नेपालले जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा अन्तर्राष्ट्रिय कोष तथा प्राविधिक सहयोग प्राप्त गर्न भारतसँग सहकार्य गर्न सक्छ । सीमावर्ती नगरपालिकाहरूबीच कृषि, स्वास्थ्य, सरसफाइ, शिक्षा, पर्यटन र विपद् व्यवस्थापनमा भगिनी सम्बन्ध तथा संयुक्त कार्यक्रम सञ्चालन गर्न सकिन्छ । प्रधानमन्त्री बालेन शाहले भारतसँग वार्ता गर्दा नेपालको राष्ट्रिय हितलाई केवल राजनीतिक भावनाको आधारमा होइन, अन्तर्राष्ट्रिय कानुन र द्विपक्षीय सन्धि सम्झौताको आधारमा प्रस्तुत गर्नुपर्छ ।

संयुक्त राष्ट्रसंघको बडापत्रले सदस्य राष्ट्रहरूको सार्वभौमिक समानता, क्षेत्रीय अखण्डताको सम्मान र विवादको शान्तिपूर्ण समाधानलाई आधारभूत सिद्धान्तका रूपमा स्वीकार गरेको छ । नेपाल र भारतबीचका सीमा विवाद तथा अन्य मतभेदलाई यही मान्यताअनुसार समाधान गर्नुपर्छ । सन् १९६९ को भियना सन्धि कानुनसम्बन्धी महासन्धिले सन्धिको पालना इमान्दारीपूर्वक गर्नुपर्ने सिद्धान्त स्थापित गरेको छ । नेपाल र भारतबीचका लागू सन्धि तथा सम्झौताहरूको कार्यान्वयनमा यस सिद्धान्तलाई महत्व दिनुपर्छ । सन् १९६९ को भियना सन्धि कानुनसम्बन्धी महासन्धिले सन्धिको पालना इमान्दारीपूर्वक गर्नुपर्ने सिद्धान्त स्थापित गरेको छ । नेपाल र भारतबीचका लागू सन्धि तथा सम्झौताहरूको कार्यान्वयनमा यस सिद्धान्तलाई महत्व दिनुपर्छ ।

सन् १९८२ को संयुक्त राष्ट्रसंघीय समुद्री कानुनसम्बन्धी महासन्धिले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकार र समुद्रसम्म पहुँचको विषयलाई सम्बोधन गरेको छ । नेपालले पारवहन सुविधासम्बन्धी वार्तामा यसको उपयोग गर्न सक्छ । विश्व व्यापार संगठनका सिद्धान्तले पारदर्शिता, पूर्वानुमेयता, व्यापार सहजीकरण र गैरभन्सार अवरोध घटाउने विषयलाई महत्व दिएका छन् । अन्तर्राष्ट्रिय जलप्रवाहसम्बन्धी स्थापित सिद्धान्तले साझा जलस्रोतको उपयोग गर्दा अर्को मुलुकलाई उल्लेखनीय क्षति नपुग्ने गरी उचित सावधानी अपनाउने, सूचना आदानप्रदान गर्ने र सहकार्य गर्ने मान्यता स्थापित गरेका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी मान्यता प्रत्येक नागरिकको जीवन, सुरक्षा, सम्मान, समान व्यवहार र कानुनी संरक्षणको अधिकार सुनिश्चित गर्न जोड दिन्छन् । वातावरण संरक्षण, वन तथा प्राकृतिक स्रोतको दिगो उपयोग र जलवायु जोखिम न्यूनीकरणमा पनि अन्तर्राष्ट्रिय सम्झौताहरूको महत्वपूर्ण भूमिका छ । यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ । अन्तर्राष्ट्रिय कानुनको उल्लेख गर्नु र त्यसका प्रत्येक प्रावधान स्वतः नेपाल–भारतबीच लागू हुन्छन् भन्नु एउटै कुरा होइन । दुवै देशको सन्धि अनुमोदन अवस्था, लागू हुने प्रावधान र विद्यमान द्विपक्षीय सम्झौतालाई ध्यानमा राखेर नेपालको परराष्ट्र मन्त्रालयले कानुनी आधार तयार गर्नुपर्छ ।

नेपालको कूटनीति भावनात्मक भाषणमा होइन, प्रमाण, कानुन, तथ्य र वार्ताको क्षमतामा आधारित हुनुपर्छ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमण करिब २५ घण्टाको हुने सार्वजनिक विवरण आएका छन् । यति छोटो समयमा नेपाल–भारत सम्बन्धका सबै समस्याको समाधान सम्भव छैन । तर कूटनीतिक भ्रमणको सफलता समयको लम्बाइमा मात्र निर्भर हुँदैन । तयारी, प्राथमिकता, स्पष्ट प्रस्ताव र राजनीतिक इच्छाशक्तिले परिणाम निर्धारण गर्छ ।

प्रधानमन्त्रीले भारत जानुअघि नेपालका सबै सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, किसान संगठन, नागरिक समाज, सीमा क्षेत्रका जनप्रतिनिधि, विज्ञ र कूटनीतिक क्षेत्रका जानकारसँग परामर्श गर्नुपर्छ । विशेषगरी सीमावर्ती जिल्लाका समस्यालाई काठमाडौंको प्रशासनिक दृष्टिकोणबाट मात्र बुझ्नु हुँदैन । रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लाका नागरिकले प्रत्यक्ष भोगिरहेका समस्या पनि राष्ट्रिय एजेन्डामा समेटिनुपर्छ ।

प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमिकता, सीमावर्ती नागरिकको सुरक्षा, आर्थिक आत्मनिर्भरता, पूर्वाधार तथा ऊर्जा र मानवीय तथा सांस्कृतिक सम्बन्धलाई प्राथमिकतामा राखेर वार्ताको तयारी गर्नुपर्छ । यी प्राथमिकताअन्तर्गत प्रस्तुत प्रत्येक प्रस्तावमा समयसीमा, जिम्मेवार निकाय र कार्यान्वयनको अनुगमन प्रणाली तय गर्नुपर्छ । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँगको एक्लाएक्लै वार्तामा राष्ट्रिय महत्वका संवेदनशील विषय उठाउनुपर्छ । प्रतिनिधिमण्डलस्तरीय वार्तामा सम्बन्धित मन्त्री र अधिकारीहरूले प्राविधिक विषयको विस्तृत विवरण प्रस्तुत गर्नुपर्छ ।

भ्रमणपछि दुवै देशले सार्वजनिक गर्ने संयुक्त वक्तव्यमा के सहमति भयो भन्ने मात्र होइन, कुन विषयमा कहिलेसम्म काम सम्पन्न हुन्छ भन्ने कुरा पनि समावेश हुनुपर्छ । नेपाल–भारत सम्बन्धमा समस्या देखिनुमा सबै जिम्मेवारी भारतको मात्र हो भन्ने निष्कर्ष निकाल्नु पनि उचित हुँदैन । नेपालले आफ्नै आन्तरिक कमजोरी सुधार गर्नुपर्छ । नेपालको कमजोर उत्पादन क्षमता, अस्थिर नीति, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता र परियोजना कार्यान्वयनमा देखिएको कमजोरीले पनि राष्ट्रिय अर्थतन्त्रलाई प्रभावित गरेको छ । भारतसँग सहुलियत माग्दै गर्दा नेपालले आफ्ना उद्योगको गुणस्तर सुधार गर्नुपर्छ । पारवहन सुविधा माग्दै गर्दा आफ्नै भन्सार प्रणाली व्यवस्थित बनाउनुपर्छ । ऊर्जा बजार माग्दै गर्दा विद्युत् उत्पादन र प्रसारण पूर्वाधार निर्माण गर्नुपर्छ । कृषि बजार माग्दै गर्दा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ ।

त्यस्तै सीमावर्ती क्षेत्रमा डुबानको समस्या समाधानका लागि नेपालले पनि आफ्नो भूभागमा रहेका नहर, सडक, पुल, निकास र नदी व्यवस्थापनका संरचनाको अध्ययन तथा सुधार गर्नुपर्छ । कूटनीति २ पक्षको सहकार्य हो । भारतसँग बराबरीको सम्बन्धको अपेक्षा गर्दा नेपालले आफ्नो प्रशासनिक क्षमता, आर्थिक शक्ति र आन्तरिक सुशासन पनि बलियो बनाउनुपर्छ । नेपाल र भारतबीचको सम्बन्धलाई अविश्वास र विवादको घेरामा सीमित राख्नु दुवै मुलुकको हितमा छैन । २ देशबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक र सामाजिक सम्बन्धलाई अझ गहिरो बनाउनु आवश्यक छ । तर मित्रताको नाममा कुनै पनि मुलुकका नागरिकले अन्याय सहनुपर्ने अवस्था आउनु हुँदैन ।

भारत नेपालका लागि महत्त्वपूर्ण छिमेकी र आर्थिक साझेदार हो । नेपाल पनि भारतका लागि रणनीतिक, सांस्कृतिक र आर्थिक दृष्टिले महत्वपूर्ण छिमेकी हो । दुवै देशको सुरक्षा, स्थिरता, समृद्धि र विकास एकअर्कासँग जोडिएका छन् । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण यही पारस्परिक निर्भरतालाई समानता र सम्मानको आधारमा नयाँ दिशातर्फ अघि बढाउने अवसर बन्न सक्छ । नेपालले भारतसँग मित्रताको हात बढाउनुपर्छ । तर राष्ट्रिय स्वाभिमानलाई कमजोर पारेर होइन । आर्थिक सहयोग लिनुपर्छ, तर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य त्यागेर होइन । पूर्वाधार विकासमा साझेदारी गर्नुपर्छ, तर सीमा क्षेत्रका नागरिकको पीडा बेवास्ता गरेर होइन । खुला सिमानालाई सुरक्षित बनाउनुपर्छ ।

तर नागरिकको स्वतन्त्र आवागमन र सम्मानमाथि अनावश्यक हस्तक्षेप गरेर होइन । लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा नेपालले आफ्नो ऐतिहासिक तथा कानुनी अडान दृढतापूर्वक राख्नुपर्छ । सीमावर्ती क्षेत्रमा सडक तथा बाँधका कारण उत्पन्न डुबानको समस्या समाधान गर्न संयुक्त प्राविधिक कार्ययोजना बनाउनुपर्छ । नेपाली रुपैयाँको सम्मान र सीमावर्ती व्यापारको सहजताका लागि व्यावहारिक व्यवस्था गर्नुपर्छ । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्नुपर्छ । घरेलु उद्योग, कृषि, हस्तकला र नेपाली उत्पादनको बजार विस्तारमा सहकार्य गर्नुपर्छ । त्यसैगरी ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरण, सुरक्षा र पारवहन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नुपर्छ ।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा नेपाली जनताको अपेक्षा केवल स्वागत, सम्मान, औपचारिक भेटघाट र संयुक्त तस्वीरमा सीमित छैन । जनताले आफ्नो जीवनमा परिवर्तन ल्याउने निर्णयको अपेक्षा गरेका छन् । सीमावर्ती किसानले वर्षायाममा आफ्नो खेत डुबानबाट जोगिएको हेर्न चाहन्छन् । साना व्यापारीले नेपाली रुपैयाँको उचित मूल्य पाउन चाहन्छन् । उद्योगीले सहज रूपमा कच्चा पदार्थ आयात गरेर उत्पादन विस्तार गर्न चाहन्छन् । विद्यार्थीले भारतमा सुरक्षित वातावरणमा शिक्षा प्राप्त गर्न चाहन्छन् । बिरामीले सहज उपचार पाउन चाहन्छन् । नेपाली युवाले सीप र रोजगारीको अवसर खोजिरहेका छन् । राष्ट्रले आफ्नो भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान चाहेको छ ।

अन्ततः प्रधानमन्त्री बालेन शाहले भारतसँग एउटा स्पष्ट सन्देश दिन सक्नुपर्छ – नेपाल मित्रता चाहन्छ, सहयोग चाहन्छ, सहकार्य चाहन्छ, तर आफ्नो भूमि, आफ्नो स्वाभिमान, आफ्नो मुद्रा, आफ्ना नागरिकको सम्मान र आफ्नो राष्ट्रिय हितको मूल्यमा होइन ।
यही सन्देश सहितको भ्रमण सफल भयो भने त्यसले केवल २ सरकारबीचको सम्बन्धलाई मात्र होइन, नेपाल–भारत सम्बन्धको भविष्यलाई समेत नयाँ दिशा दिन सक्नेछ । किनकि असल छिमेकी सम्बन्धको वास्तविक परीक्षा औपचारिक स्वागतमा होइन, एकअर्काको समस्यालाई कति इमान्दारीपूर्वक समाधान गरिन्छ भन्ने कुरामा हुन्छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।