काठमाडौं । सरकारी सेवा लिने प्रत्येक चारमा एक जनाले अहिले पनि बिचौलियाको सहयोग लिनैपर्ने बाध्यत्मक अवस्था रहेको सरकारी सर्वेक्षणले नै देखाएको छ ।
सरकारी कार्यालयमा सेवा लिन जाँदा नागरिकले कति समय कुर्नुपर्छ, सेवा पाउने प्रक्रिया कति स्पष्ट छ र काम गराउन अरू व्यक्तिको सहयोग लिनुपर्ने अवस्था कति छ? भन्ने प्रश्नमा रहेर राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक अध्ययनले अझै पनि करिब एक तिहाइ सर्वसधारण सेवाका लागि विचौलियाको भर पर्नुपर्ने अवस्था रहेको देखाएको हो । केन्द्रको वार्षिक प्रतिवेदन २०८२/८३ मा समेटिएको सेवाग्राही सन्तुष्टि सर्वेक्षणले सार्वजनिक सेवा प्रवाहमा अझै सुधार आवश्यक रहेको देखाएको छ । केन्द्रले २१ जिल्लाका १ हजार ५५० सेवाग्राहीलाई समेटेर गरेको सर्वेक्षण अनुसार २२ प्रतिशतले मात्र तोकिएको समयमा सेवा पाएको बताएका छन् । सेवाप्रवाहमा सरकारी कर्मचारीको ढिलासुस्ती, प्रक्रियागत जटिलता कायमै रहेको देखाएको छ ।
नागरिकलाई सेवा प्रक्रियाबारे जानकारी दिने नागरिक बडापत्रको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ । प्रतिवेदनअनुसार सहभागीमध्ये औसत ५८.५८ प्रतिशतलाई नागरिक बडापत्रबारे जानकारी थिएन । नागरिक बडापत्रमा सामान्यतया सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात, लाग्ने शुल्क र सेवा उपलब्ध गराउनुपर्ने समयसीमाजस्ता विवरण राखिन्छन् । यस्ता जानकारी नागरिकसम्म नपुग्दा सेवा लिनुअघि नै उनीहरू अन्योलमा पर्न सक्छन् । औसत २७.६२ प्रतिशत सहभागीले कार्यालयबाट सेवा लिन बाहिरी व्यक्तिको सहयोग लिनुपरेको बताएका छन् ।
यसले सरकारी सेवा प्राप्त गर्ने प्रक्रियामा नागरिक आफैँले काम पूरा गर्न सक्ने सहजता कति छ भन्ने प्रश्न उठाउँछ । कतिपय सरकारी सेवा नागरिकका लागि भन्दा पनि बीचमा विचौलिया संरचना खडा गर्ने खालका छन् । त्यही भएर यस्तो सहयोग स्वभाविक भइसकेको छ । यसको निरन्तरता अझै कायम रहेको देखाएको हो । सेवा प्रवाहमा अतिरिक्त रकमको विषय पनि सर्वेक्षणमा समेटिएको छ । सेवा लिंदा घुस वा अतरिक्त रकम तिर्ने गरेको पनि सेवाग्राहीहरूले बताएका छन् । प्रतिवेदनअनुसार औसत ४.२७ प्रतिशत सहभागीले कार्यालयबाट सेवा प्राप्त गर्दा अतिरिक्त रकम दिनुपरेको बताएका छन् । औसत १३.५९ प्रतिशत सहभागीले आफूले प्राप्त गरेको सेवाप्रति असन्तुष्टि जनाएका छन् । सूचनाको हकबारे औसत ४१.०८ प्रतिशत सहभागी अनभिज्ञ रहेको र करिब ५१ प्रतिशत सार्वजनिक सुनुवाइमा सहभागी नभएको पाइएको छ ।
सार्वजनिक सेवा प्रवाहमा सूचना, समयपालन, नागरिकको सहज पहुँच र जवाफदेहिता अझै कमजोर रहेको देखिएको छ । केन्द्रले प्रतिवेदनमा सार्वजनिक सेवा प्रवाह, सार्वजनिक खरिद, आर्थिक अनुशासन र कर्मचारी व्यवस्थापनसम्बन्धी उजुरीका आधारमा सम्बन्धित निकायलाई निर्देशन तथा सुझाव दिएको जनाएको छ । सार्वजनिक सेवाको गुणस्तरका बारेमा अध्ययन तथा छानवीन गर्ने तथा सुधारका लागि निर्देशन दिनेमात्र हैसियत भएको केन्द्रले विगतमा दिएका सुधारका सुझाव नै अलपत्र परेका छन् ।
सेवा प्रवाहसम्बन्धी कार्यालयको ढिलासुस्ती, सेवाग्राहीप्रति असहयोगी वा अस्वाभाविक व्यवहार, कानूनअनुसार सेवा उपलब्ध नगराउने प्रवृत्ति र प्रक्रियागत जटिलता हटाउने विषयमा दिएका सुझाव तथा निर्देशन अलपत्र परेका हुन् । केन्द्रले सेवा छिटो, सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिंदै आएको छ । प्रतिवेदनमा दोस्रो प्राथमिकताका रूपमा सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी उजुरी उल्लेख छन् । खरिद प्रक्रियामा अपारदर्शिता, प्रतिस्पर्धा सीमित गर्ने कार्य तथा प्रचलित कानून र प्रक्रियाको उल्लंघनजस्ता विषयमा छानबिन गरी सुधारात्मक तथा कानूनबमोजिमका कारबाहीका लागि निर्देशन दिइएको केन्द्रले जनाएको छ । आर्थिक अनियमितता, सार्वजनिक स्रोतसाधनको दुरुपयोग, वित्तीय अनुशासन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी उजुरीमा पनि निर्देशन र सिफारिस गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































