जुम्ला । जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ ।
जिल्लामा चालु आवका लागि कुल बजेट ३ अर्ब ३३ करोड १६ लाख १९ हजार बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको ४ दशमलव ६७ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए । जिल्लाको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको छ ।
सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट १ अर्ब ७९ करोड ५० हजार विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा ६ करोड ४८ लाख १२ हजार अर्थात् ३ दशमलव ६१ प्रतिशत पुँजीगत खर्च भएको छ । यसैगरी, सघन सहरी तथा भवन आयोजनामा १ अर्ब ३९ करोड २ लाख ५ हजार पुँजीगत बजेट विनियोजन भएकामा चालु आवको पहिलो चौमासिकमा ६ करोड ८४ लाख २२ हजार अर्थात् ४ दशमलव ९२ प्रतिशत खर्च भएको नियन्त्रक अछामीको भनाइ छ । उक्त कार्यालयका अनुसार जिल्लाका संघीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका ८ वटा स्थानीय तहका लागि पुँजीगततर्फ ३ अर्ब ३३ करोड १६ लाख बजेट प्राप्त छ ।





































