काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री बनेको करिब आठ महिनापछि पहिलो राजकीय भ्रमणमा भारत पुगेका शाहले यसपटक परम्परागत कूटनीतिक अभ्यासदेखि भ्रमण व्यवस्थापनसम्मका विभिन्न १२ अभ्यास तोडेका छन् ।
विगतका प्रधानमन्त्रीहरूले विदेश भ्रमणका क्रममा अपनाउँदै आएका स्थापित परम्परा र प्रक्रियालाई निरन्तरता नदिँदा उनको भारत भ्रमण अन्य प्रधानमन्त्रीको भन्दा फरक देखिएको छ । प्रधानमन्त्री शाहले भारत भ्रमणअघि संसद्लाई जानकारी गराउने, पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने, राष्ट्रपतिलाई भ्रमणबारे ब्रिफिङ गर्ने तथा परराष्ट्र मामिलाका जानकार र विज्ञहरूबाट सुझाव लिने अभ्यासलाई निरन्तरता दिएनन् । त्यति मात्र होइन, भ्रमण टोलीको आकार, भ्रमणको अवधि, परिवारका सदस्यको सहभागिता र भारतमा बस्ने व्यवस्थासमेत विगतका प्रधानमन्त्रीहरूको तुलनामा फरक बनाइएको छ ।
सामान्यतया प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमणलाई मुलुकको कूटनीतिक प्राथमिकता, राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यस्तो भ्रमणअघि संसद्, राजनीतिक दल, पूर्वप्रधानमन्त्री र विज्ञहरूसँग परामर्श गर्ने अभ्यास रहँदै आएको थियो । तर शाहले ती अभ्यासलाई आवश्यक ठानेनन् । प्रधानमन्त्री शाहको भारत भ्रमणअघि संसद् बैठकसमेत बोलाइएन । विगतका प्रधानमन्त्रीहरूले विदेश भ्रमणमा जानुअघि संसद्मा आफ्नो भ्रमणबारे जानकारी गराउने र राष्ट्रिय महत्त्वका विषयमा सदनलाई अवगत गराउने गरेका थिए । तर शाहले संसद् बैठक नै नबोलाई भारत भ्रमणमा निस्किए । संसद् बैठक नबोलाइनुको पछाडि सरकारका पछिल्ला निर्णय र गतिविधिबारे आफ्नै दलका सांसदसमेत असन्तुष्ट रहेको विषयलाई कारणका रूपमा हेरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले तत्काल संसद् बैठक बोलाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्दै आएका थिए । तर उनीहरूको आग्रह सुनुवाइ भएन ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै पनि सरकारका केही निर्णयप्रति असन्तुष्टि रहेको पार्टीका नेताहरू बताउँछन् । भारत भ्रमणअघि संसद् बैठक बसेको भए सुनकोसी–मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषय, प्रहरी न्युजरुममै प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटना तथा सुशासनका नाममा अघि बढाइएको इनम प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसमेत जोडिएको विषयले सदनमा प्रवेश पाउने सम्भावना थियो । रास्वपाका एक पदाधिकारीका अनुसार यी विषयमा आफ्नै पार्टीका सांसदहरूले समेत सरकारसँग जवाफ माग्ने अवस्था आउन सक्थ्यो । त्यसैले प्रधानमन्त्रीले भ्रमणअघि संसद् बैठक नबोलाएको हुन सक्ने उनको भनाइ छ । ती पदाधिकारीले संसद् बैठक मंसिरको दोस्रो वा तेस्रो सातातिर मात्रै बस्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार मंसिर ९ गतेसम्म संसद् बैठक बस्ने सम्भावना देखिएको छैन । यसैबीच, कात्तिक २९ गते रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र महामन्त्री विपिन आचार्यसहित २० सदस्यीय टोली १० दिने भ्रमणका लागि चीन प्रस्थान गरेको थियो । सत्तारूढ दलका सांसदहरूको विदेश भ्रमण भइरहँदा संसद् भने लामो समयदेखि निष्क्रिय रहेको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका छन् ।
प्रधानमन्त्री शाहले भारत भ्रमणअघि पूर्वप्रधानमन्त्रीहरूसँग पनि कुनै औपचारिक छलफल गरेनन् । यसअघिका प्रधानमन्त्रीहरूले पहिलो औपचारिक विदेश भ्रमण वा महत्त्वपूर्ण द्विपक्षीय भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक तथा व्यक्तिगत भेटघाट गर्ने गरेका थिए । यस्तो छलफलमा छिमेकी मुलुकसँगको सम्बन्ध, राष्ट्रिय हितका विषय र भ्रमणका क्रममा उठाउनुपर्ने मुद्दाबारे सुझाव लिने अभ्यास थियो । तर शाहले कुनै पनि पूर्वप्रधानमन्त्रीलाई भेटेनन् । उनीहरूसँग छलफलका लागि बोलाउने वा भ्रमणका प्राथमिकताबारे सुझाव माग्ने कामसमेत भएन । यसले प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय सहमति र राजनीतिक परामर्शको परम्परालाई प्राथमिकता नदिइएको देखाएको छ । शाहले प्रधानमन्त्री बनेपछि गरेको पहिलो विदेश भ्रमण पनि भारत थिएन । गत भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङसहित पाँच जिल्लामा ठूलो क्षति पुर्याएको थियो । त्यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी असोज ६ गते अमेरिकाको न्युयोर्क पुगेका थिए । त्यो भ्रमण राजकीय नभए पनि प्रधानमन्त्री बनेपछि उनले गरेको पहिलो विदेश भ्रमण भने अमेरिका नै थियो । परराष्ट्र मन्त्रालयले अहिलेको भारत भ्रमणलाई उनको पहिलो राजकीय भ्रमणका रूपमा व्याख्या गरेको छ ।
त्यस्तै, प्रधानमन्त्री शाहले भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई पनि जानकारी गराएनन् । विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिसँग भेट गरी भ्रमणका उद्देश्य, कार्यसूची र द्विपक्षीय सम्बन्धका विषयमा जानकारी गराउने प्रचलन थियो । भ्रमणबाट फर्किएपछि पनि राष्ट्रप्रमुखलाई ब्रिफिङ गर्ने अभ्यास रहँदै आएको थियो । तर शाहले यसपटक उक्त परम्परालाई निरन्तरता दिएनन् । परराष्ट्र मामिलाका विज्ञ, कूटनीतिज्ञ तथा जानकारहरूसँग परामर्श गर्ने अभ्यास पनि यसपटक देखिएन । भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणअघि सीमा विवाद, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, सुरक्षा र आर्थिक सहकार्यलगायत विषयमा विज्ञहरूको सुझाव लिने गरिन्छ । तर शाहले भ्रमणका क्रममा उठाउनुपर्ने विषयमा विज्ञहरूसँग विस्तृत छलफल नगरेको बताइएको छ । भ्रमणको औपचारिकतामा पनि शाहले नयाँ अभ्यास गरेका छन् । यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा निस्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिने प्रचलन थियो । तर यसपटक प्रधानमन्त्रीको बिदाइका क्रममा सलामीको कार्यक्रम राखिएको छैन । शाहले विमानस्थलमा औपचारिक सलामी लिन रुचि नदेखाएको उनको सचिवालयका अधिकारीहरूले बताएका छन् ।
यद्यपि भारत पुगेपछि भने उनले भारतीय पक्षबाट प्रदान गरिने गार्ड अफ अनरमा सहभागिता जनाउने कार्यक्रम छ । नेपाली भूमिमा बिदाइ सलामी नलिने तर भ्रमण गर्ने मुलुकमा प्रदान गरिने औपचारिक सम्मान ग्रहण गर्ने उनको कार्यतालिका छ । प्रधानमन्त्रीको विदेश भ्रमणअघि राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू सम्बन्धित मुलुकमा पुगेर सुरक्षा अवस्था, सम्भावित जोखिम र आवश्यक व्यवस्थापनबारे जानकारी संकलन गर्ने अभ्यास पनि रहँदै आएको थियो । सामान्यतया प्रधानमन्त्रीको भ्रमण हुनुभन्दा केही दिन वा एक साताअघि नै सुरक्षा निकायका प्रतिनिधि सम्बन्धित मुलुक पुग्ने गर्थे । तर यसपटक भारत भ्रमणअघि नेपाली गुप्तचर टोलीलाई सक्रिय नपारिएको विभागका एक अधिकारीले बताएका छन् । प्रधानमन्त्रीको सचिवालयबाट चासो नदेखाइएकाले टोली भारत नगएको ती अधिकारीको भनाइ छ । भ्रमण टोलीको संरचनामा पनि यसपटक परिवर्तन गरिएको छ । प्रधानमन्त्री शाहकी पत्नी सबिना काफ्ले भारत भ्रमणमा सहभागी छैनन् । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण टोलीमा उनको नाम समावेश छैन । यसअघिका प्रधानमन्त्रीहरूले भारतको राजकीय भ्रमणमा श्रीमतीलाई समेत साथमा लैजाने गरेका थिए । तर शाहले पारिवारिक सहभागिताबिनै भ्रमण गर्ने भएका छन् ।
त्यस्तै, प्रधानमन्त्रीको भ्रमण टोली पनि विगतको तुलनामा निकै सानो बनाइएको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण टोलीमा ३४ सदस्य रहनेछन् । यसअघि भारतको राजकीय भ्रमणमा जाने प्रधानमन्त्रीहरूले कम्तीमा ४७ सदस्यीय टोली लैजाने गरेका थिए । भ्रमणमा मन्त्री, उच्च सरकारी अधिकारी, निजी सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा अन्य प्रतिनिधिको सहभागिता रहने गर्थ्यो । तर शाहले यसपटक अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई मात्र साथमा लगेका छन् । नेपाल र भारतका शीर्ष व्यावसायिक नेतृत्वबीच हुने संयुक्त बिजनेस राउन्ड टेबलमा पनि प्रधानमन्त्री शाह सहभागी हुने छैनन् । यस्तो कार्यक्रममा दुवै देशका प्रमुख व्यवसायी तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी भएर व्यापार, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने परम्परा छ । प्रधानमन्त्रीको उपस्थितिमा हुने उक्त छलफलले नेपालमा भारतीय लगानी आकर्षित गर्न र दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिन्छ । तर यसपटक उक्त कार्यक्रमको नेतृत्व अर्थमन्त्री स्वर्णिम वाग्लेले गर्ने भएका छन् ।
भ्रमणको अवधिका हिसाबले पनि शाहले विगतका प्रधानमन्त्रीहरूको अभ्यास तोडेका छन् । यसअघि भारतको राजकीय भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीहरूले तीनदेखि छ दिनसम्मको कार्यतालिका बनाउने गरेका थिए । कतिपय प्रधानमन्त्रीले औपचारिक भेटघाटसँगै धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमणसमेत गर्ने गरेका थिए । तर शाहको भारत बसाइ दुई दिनमा सीमित छ । औपचारिक भेटघाट र निर्धारित कार्यक्रमबाहेक अन्य कुनै अतिरिक्त कार्यक्रम नराखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतमा बस्ने स्थानको छनोट पनि यसपटक फरक छ । नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारत सरकारले हैदरावाद हाउसमा आवासको व्यवस्था गर्ने गरेको परम्परा रहँदै आएको थियो । तर शाह दिल्ली पुगेर त्यहाँको एक होटलमा बस्ने कार्यतालिका छ । मंसिर ६ गते अपराह्न दिल्ली पुग्ने उनी भारतमा एक रात मात्रै रहनेछन् । प्रधानमन्त्री बनेको लामो समयपछि मात्र भारतको राजकीय भ्रमणमा निस्कनु पनि उनको अर्को क्रमभंग हो । २०८२ चैत १३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका शाहले करिब आठ महिनापछि भारतको राजकीय भ्रमण गरेका हुन् । यसअघिका प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेको बढीमा चार महिनाभित्र भारत भ्रमण गर्ने अभ्यास थियो । छिमेकी मुलुक भारतसँगको सम्बन्धलाई नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण आधार मानिने भएकाले नयाँ प्रधानमन्त्रीले पदभार सम्हालेपछि भारत भ्रमणलाई प्राथमिकता दिने गरेका थिए ।
यसरी संसद्लाई जानकारी नगराउनेदेखि पूर्वप्रधानमन्त्री र राष्ट्रपतिसँग परामर्श नगर्ने, विज्ञहरूको सुझाव नलिने, भ्रमण टोली सानो बनाउने, श्रीमतीलाई सहभागी नगराउने, छोटो समय भारत बस्ने र प्रधानमन्त्री बनेको आठ महिनापछि मात्रै राजकीय भ्रमण गर्ने लगायतका विषयले शाहको भारत भ्रमणलाई विगतभन्दा फरक बनाएको छ । प्रधानमन्त्री शाहले यी अभ्यासलाई प्रशासनिक मितव्ययिता, औपचारिकताको कटौती र नयाँ कार्यशैलीका रूपमा अघि बढाएका हुन् वा परम्परागत कूटनीतिक प्रक्रियालाई कम प्राथमिकता दिएका हुन् भन्ने विषयमा भने राजनीतिक तथा कूटनीतिक वृत्तमा बहस हुने देखिन्छ । भ्रमणको वास्तविक उपलब्धि भने भारतसँगको द्विपक्षीय छलफलमा उठाइने मुद्दा, हुने सहमति र त्यसको कार्यान्वयनले निर्धारण गर्नेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































