आजबाट अयोध्या–जनकपुर रेल सेवा

जनकपुर । भारतको धार्मिक नगरी अयोध्या र नेपालको धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधामबीच रेल सेवा सञ्चालन हुने भएपछि मधेश प्रदेशसहित देशकै पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार संयुक्त रूपमा अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएसँगै जनकपुरधामवासी, पर्यटन व्यवसायी तथा स्थानीय उद्योगी व्यवसायी उत्साहित भएका छन् । त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहसँग जोडिएका दुई ऐतिहासिक तथा धार्मिक नगरीबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुन लागेको विषयलाई स्थानीयले केवल यातायात सुविधाका रूपमा मात्र नभई दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएका छन् । रेल सेवा सञ्चालनमा आएपछि भारतबाट जनकपुरधाम आउने धार्मिक पर्यटकको संख्या बढ्ने र नेपालबाट अयोध्या जाने नेपाली दर्शनार्थीलाई पनि सहज हुने विश्वास गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ का स्थानीय रमेश कुमार झाले अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालन हुने खबरले आफू निकै खुसी भएको बताए । उनका अनुसार रेल सेवा सुरु भएपछि जनकपुरधाम र आसपासका बासिन्दालाई अयोध्या पुग्न पहिलेको तुलनामा धेरै सहज हुनेछ । ‘अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुने कुरा सुनेरै खुसी लागेको छ । झन् गुड्न थालेपछि अझ खुसी लाग्नेछ,’ झाले भने, ‘अब यहाँका स्थानीयलाई अयोध्या दर्शन गर्न जान सजिलो हुनेछ । त्यहाँबाट जनकपुरधाम दर्शन गर्न आउने यात्रुका लागि पनि सरकारले बढीभन्दा बढी सुविधा उपलब्ध गराउनुपर्छ ।’ उनले रेल सेवा सञ्चालनसँगै दुवै देशका नागरिकबीच धार्मिक भ्रमण र आवतजावत बढ्ने अपेक्षा गरे । भारतबाट आउने पर्यटकलाई जनकपुरधाममा सहज रूपमा बस्ने, खाने र धार्मिक स्थलको भ्रमण गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । जनकपुरधाम उपमहानगरपालिका–१ का स्थानीय लम्बु महाराजी पनि रेल सेवा सञ्चालन हुन लागेकोमा उत्साहित छन् । धार्मिक दृष्टिकोणले अयोध्या र जनकपुरधामबीच रेल सम्पर्क स्थापित हुनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

‘धार्मिक दृष्टिकोणले जनकपुरधाम–अयोध्या रेल सुचारु हुनु अत्यन्तै खुसीको कुरा हो । पहिले अयोध्या पुग्नका लागि पटकपटक बस र रेल परिवर्तन गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब सोझै रेलबाट अयोध्यासम्म पुग्न सकिने भएपछि दर्शनार्थीलाई ठूलो सुविधा हुनेछ ।’ उनका अनुसार यसअघि अयोध्या जान चाहने नेपालीले लामो यात्रा र विभिन्न यातायातका साधन परिवर्तन गर्नुपर्ने अवस्था थियो । प्रत्यक्ष रेल सम्पर्कले समय र यात्राको झन्झट कम गर्ने विश्वास उनले व्यक्त गरे । रेल सेवा सञ्चालनको सबैभन्दा ठूलो लाभ पर्यटन र व्यवसाय क्षेत्रमा पुग्ने स्थानीय व्यवसायीको अपेक्षा छ । जनकपुरधाम उपमहानगरपालिका–२ का विकास साहका अनुसार रेल सेवा सुरु भएपछि जनकपुरधाममा भारतीय पर्यटकको आगमन बढ्नेछ । यसले होटल, रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार तथा अन्य सेवा व्यवसायमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ । ‘अयोध्या–जनकपुरधाम रेल सेवा सुचारु भएपछि सबैभन्दा बढी फाइदा जनकपुरधामका व्यवसायीलाई हुनेछ । अयोध्याबाट मात्र नभई अयोध्या जान चाहने नेपाली पनि जनकपुरधाम आउने क्रम बढ्नेछ,’ साहले भने ।

उनका अनुसार भारतबाट आउने धार्मिक पर्यटकलाई जनकपुरधाममा बढी समयसम्म बस्ने वातावरण बनाउन सके स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ । त्यसका लागि जनकपुरधामका प्रमुख धार्मिक स्थलसँगै आसपासका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताए । जनकपुरधाममा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, गंगासागर, धनुषसागरलगायत धार्मिक तथा ऐतिहासिक स्थल छन् । यी स्थानको व्यवस्थित प्रचारप्रसार र पर्यटकमैत्री सेवा विस्तार गर्न सके रेलमार्फत आउने पर्यटकलाई जनकपुरधाममा आकर्षित गर्न सकिने व्यवसायीको धारणा छ । होटल एसोसिएसन नेपाल, मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनवालाले अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालन हुनुलाई जनकपुरधामको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार लामो समयदेखि होटल व्यवसायीले देख्दै आएको सपना अब पूरा हुने अवस्थामा पुगेको छ । ‘अयोध्या–जनकपुरधाम रेल सेवा सुरु हुनुले जनकपुरधामका होटल व्यवसायीको लामो समयदेखिको सपना साकार भएको छ,’ उनले भने, ‘जनकपुरधामवासीका लागि यो एउटा आशीर्वाद प्राप्त गरेजस्तै हो ।’

उनले यस रेल सेवालाई पर्यटन क्षेत्रमा ठूलो अवसरका रूपमा व्याख्या गरे । भारतको अयोध्या आउने धार्मिक पर्यटकलाई जनकपुरधामसम्म ल्याउन सके होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि हुने उनको विश्वास छ । झुनझुनवालाका अनुसार अयोध्याबाट जनकपुरधाम आउने यात्रुको सुविधालाई ध्यानमा राखेर जनकपुरधामसहित धनुषा जिल्लाभरिका होटल व्यवसायी तयारी अवस्थामा छन् । यात्रुको आवागमन बढ्ने अपेक्षासहित होटल व्यवसायीले सेवा व्यवस्थापनमा ध्यान दिएका छन् । उनले भारतबाट आउने पर्यटकलाई आकर्षित गर्न होटलमा विशेष छुटको व्यवस्था गर्ने तयारीसमेत भइरहेको जानकारी दिए ।
उनका अनुसार रेल सेवा सञ्चालन हुनु मात्रै पर्याप्त हुँदैन । यात्रुलाई गुणस्तरीय सेवा, सहज आवागमन, सफा वातावरण र उचित आतिथ्य प्रदान गर्न सके मात्रै जनकपुरधामलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि रेल सेवा सञ्चालनले जनकपुरधाम मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने बताए । उनका अनुसार भारतबाट आउने पर्यटकले जनकपुरधामको भ्रमणपछि मधेश प्रदेशका अन्य पर्यटकीय स्थल तथा काठमाडौंसम्म पुगेर धार्मिक र पर्यटकीय भ्रमण गर्न सक्नेछन् । उनले भारतीय यात्रुलाई लक्षित गरेर जनकपुरधाममा बसोबास, खानपान र घुमफिरको व्यवस्था मिलाउन व्यवसायीहरू सक्रिय रहेको जानकारी दिए । पर्यटकको सहजताका लागि जनकपुरधाम उपमहानगरपालिकासँग समन्वय गरेर सरसफाइ व्यवस्थापनमा समेत ध्यान दिइएको उनले बताए । ‘भारतबाट आउने यात्रुको स्वागतका लागि रेल्वे स्टेसनमै झाँकी तथा लोकनृत्य प्रस्तुत गर्ने तयारी गरिएको छ,’ भण्डारीले भने, ‘पहिलो पटक जनकपुरधाम आउने यात्रुका लागि निःशुल्क भोजनको व्यवस्था पनि गर्न लागेका छौँ ।’ उनका अनुसार पाहुनालाई स्वागत गर्ने परम्परागत सांस्कृतिक कार्यक्रमले जनकपुरधामको पहिचान प्रवद्र्धन गर्नुका साथै पर्यटकलाई स्थानीय संस्कृति र परम्पराबारे जानकारी गराउन सहयोग पुग्नेछ ।

यसैबीच नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीले अयोध्या–जनकपुरधाम रेल सेवा उद्घाटन भए पनि नियमित व्यावसायिक सञ्चालन भने अर्को सातादेखि मात्रै हुने जानकारी दिए । उनका अनुसार पहिलो पटक ८ गते जनकपुरधाम आउने रेलमा भारतबाट आएका यात्रु रहनेछन् । उक्त रेल सोही दिन भारत फर्किने कार्यक्रम छ । अर्को सातादेखि भने सर्वसाधारणले टिकट बुक गरेर यात्रा गर्न पाउनेछन् । रेलको भाडादर निर्धारण गर्ने काम अन्तिम चरणमा रहेको र एक–दुई दिनभित्रै टिकट शुल्क सार्वजनिक गरिने पराजुलीले बताए । यात्रुले जनकपुरधामस्थित रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइने उनको भनाइ छ । रेल सेवा सञ्चालनको तयारी करिब एक महिनाअघिदेखि नै सुरु गरिएको थियो । यस अवधिमा भारतीय रेल्वे विभागका विभिन्न तहका पदाधिकारीले जनकपुरधाम आएर रेल्वे स्टेसन तथा पूर्वाधारको निरीक्षण गरेका थिए । नेपालतर्फका सम्बन्धित अधिकारीसँग विभिन्न चरणमा बैठक तथा छलफलसमेत भएको थियो ।

रेलमार्गको प्राविधिक अवस्था परीक्षण गर्न भारतबाट १७ वटा बोगी भएको रेलसमेत जनकपुरधाम आएको थियो । उक्त परीक्षण तथा निरीक्षणपछि सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको हो । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । सोही भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले संयुक्त रूपमा अयोध्या–जनकपुरधाम रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अयोध्या र जनकपुरधामबीचको सम्बन्ध धार्मिक आस्था र पौराणिक मान्यतासँग जोडिएको छ । भगवान् रामको जन्मभूमि मानिने अयोध्या र माता सीताको जन्मभूमि मानिने जनकपुरधामलाई जोड्ने रेल सेवाले यी दुई धार्मिक सहरबीचको सम्बन्धलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ । स्थानीयवासी र व्यवसायीले रेल सेवालाई अवसरका रूपमा लिएका छन् । तर यसको दीर्घकालीन लाभ लिन नियमित र सहज रेल सञ्चालन, यात्रुको सुरक्षा, सीमा क्षेत्रमा आवागमनको सहजीकरण, पर्यटकीय पूर्वाधारको विकास तथा गुणस्तरीय आतिथ्य सेवामा ध्यान दिनुपर्ने आवश्यकता पनि देखिन्छ ।

अयोध्याबाट जनकपुरधाम आउने पर्यटकलाई यहाँका धार्मिक स्थलमा मात्रै सीमित नराखी मधेश प्रदेशका अन्य गन्तव्यसम्म पुर्‍याउन सके पर्यटनको लाभ व्यापक बन्न सक्छ । त्यस्तै, जनकपुरधामलाई भारतका अन्य धार्मिक तथा पर्यटकीय सहरसँग जोड्ने अवसरका रूपमा समेत यो रेल सेवालाई उपयोग गर्न सकिनेछ । रेल सेवा सञ्चालनसँगै दुई देशबीचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । अब यसको वास्तविक सफलता भने नियमित सञ्चालन, यात्रुको बढ्दो आकर्षण र स्थानीयस्तरमा पर्यटनबाट सिर्जना हुने आर्थिक अवसरले निर्धारण गर्नेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।