बालेन र मोदीले आज तल्लो अरुणको शिलान्यास गर्ने

काठमाडौं । तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी) प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीका अनुसार शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने चौधरीले जानकारी दिएको राससले जनाएको छ ।

आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका निर्माण हुनेछ । प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगिसकेका छन् । आयोजनाको क्षमता ६६९ मेगावाट छ । डिजिटल शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिने एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीले जनाएको छ । आयोजनाको संखुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेछ । आयोजनाका प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई उक्त रकम वितरण गरिएको हो । सो क्षेत्रमा पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । तल्लो अरुण आयोजना निर्माणस्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन् । आयोजनाले एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेछ । आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित बताइएको छ ।

भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि जम्मा भएको पानी खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.३ किलोमिटर सुरुङबाट विद्युत् गृहमा लगिनेछ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा आयोजना निर्माण हुनेछ । व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि नेपाल सरकारले चालु हालतमा उक्त आयोजना निःशुल्क पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । २०८० जेठ १८ गते लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको थियो । आयोजनाबाट कुल उत्पादित विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।