मुलुकमा राजनीतिक परिवर्तन, नयाँ संविधान र डिजिटल सुशासनका चर्का नाराहरू जतिसुकै घन्किए पनि आमनागरिकले सरकारी अड्डा–अदालतबाट पाउने आधारभूत सेवाको गुणस्तर र व्यवहारमा अपेक्षित सुधार आउन सकेको छैन । सरकारी सेवा लिन जाने प्रत्येक ४ मध्ये १ जना नागरिक अझै पनि बिचौलियाको सहारा लिन बाध्य छन् भन्ने राष्ट्रिय सतर्कता केन्द्रको पछिल्लो सर्वेक्षणले राज्य संयन्त्रको वास्तविकता उजागर गरेको छ ।
केन्द्रको वार्षिक प्रतिवेदन २०८२/८३ मा समेटिएको ‘सेवाग्राही सन्तुष्टि सर्वेक्षण’को नतिजाले सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री प्रशासनका सरकारी दाबीहरू केवल राजनीतिक गफ र कागजी प्रतिबद्धतामा मात्र सीमित रहेको तीतो यथार्थलाई पुनः पुष्टि गरेको छ ।
देशभरका २१ जिल्लाका १ हजार ५५० सेवाग्राहीमाझ गरिएको अध्ययनले सार्वजनिक सेवा प्रवाहको कहालीलाग्दो चित्र प्रस्तुत गरेको छ । सर्वेक्षणमा सहभागीमध्ये केवल २२ प्रतिशतले मात्र तोकिएको समयसीमाभित्र सेवा पाएको बताउनुले सरकारी कर्मचारीतन्त्रमा जरा गाडेर बसेको ढिलासुस्ती, अकर्मण्यता र गैरजिम्मेवारीपनको पराकाष्ठालाई दर्शाउँछ । नागरिकलाई कुन सेवा कसरी, कति समयमा र कति शुल्कमा प्राप्त हुन्छ भन्ने स्पष्ट जानकारी दिन प्रत्येक सरकारी कार्यालयमा ‘नागरिक बडापत्र’ राख्ने कानुनी व्यवस्था छ । तर औसत ५८.५८ प्रतिशत सेवाग्राहीलाई नागरिक बडापत्रबारे जानकारी नै नहुनुले ती बडापत्रहरू केवल भित्ता सजाउने औपचारिकतामा मात्र सीमित रहेको प्रमाणित गर्छ । जब नागरिकले सहजै सेवाको प्रक्रिया बुझ्न सक्दैनन् र कर्मचारीबाट असहयोगी व्यवहार पाउँछन्, तब २७.६२ प्रतिशत सेवाग्राही बिचौलियाको शरणमा पुग्नु बाध्यता बन्न जान्छ ।
सर्वेक्षणको अर्को चिन्ताजनक पक्ष भनेको सरकारी कार्यालयहरूमा अनौपचारिक रूपमा संस्थागत बन्दै गएको ‘बिचौलिया तन्त्र’ र आर्थिक लेनदेन हो । कतिपय सरकारी प्रक्रियाहरू यति जटिल र झन्झटिला बनाइएका छन् कि सामान्य नागरिकले आफैँ फारम भरेर वा लाइन बसेर काम फत्ते गर्न असम्भवप्रायः देखिन्छ । यसैको फाइदा उठाउँदै कार्यालय परिसरमै सक्रिय बिचौलियाहरूले कर्मचारीसँगको मिलेमतोमा सेवाग्राहीको आर्थिक शोषण गरिरहेका छन् । सर्वेक्षणमा औसत ४.२७ प्रतिशतले सेवा लिँदा अतिरिक्त रकम वा घुस तिर्नुपरेको स्वीकार गर्नुले भ्रष्टाचार अझै पनि तल्लो तहसम्मै जीवित रहेको संकेत गर्छ । ४१.०८ प्रतिशत नागरिक सूचनाको हकबारे अनभिज्ञ रहनु र करिब ५१ प्रतिशत सार्वजनिक सुनुवाइमा सहभागी नहुनुले राज्य र नागरिकबिचको संवाद तथा जवाफदेहिताको कडी कमजोर रहेको देखाउँछ ।
विडम्बना के छ भने सार्वजनिक सेवा प्रवाह, सार्वजनिक खरिद र आर्थिक अनुशासनका विषयमा निगरानी राख्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ शक्तिहीन र सुझाव दिने निकायमा मात्र खुम्चिएको छ । केन्द्रले विगतमा दिएका सुधारात्मक निर्देशनहरू सम्बन्धित मन्त्रालय र कार्यालयहरूबाट कार्यान्वयन नभई अलपत्र पर्नुले राज्य संयन्त्रभित्र दण्डहीनता मौलाएको स्पष्ट हुन्छ । सार्वजनिक खरिद प्रक्रियामा हुने अपारदर्शिता, प्रतिस्पर्धा सीमित पार्ने चलखेल र वित्तीय अनुशासन उल्लंघनका उजुरीहरूमाथि कारबाही नहुँदा प्रशासनिक सुधारको प्रयास निरर्थक बन्दै गएको छ ।
सुशासन भनेको भाषणमा व्यक्त गर्ने सपना मात्रै नभई नागरिकले सरकारी कार्यालयको ढोकामा टेक्नेबित्तिकै महसूस गर्ने सम्मानजनक व्यवहार, छरितो सेवा र पारदर्शी प्रक्रिया हो । बिचौलियाको रजगज अन्त्य गर्न सरकारले तत्काल सार्वजनिक सेवा प्रवाहलाई पूर्णरूपमा प्रविधिमैत्री (फेसलेस र पेपरलेस) बनाउनु आवश्यक छ । नागरिक बडापत्रलाई डिजिटल र श्रव्यदृश्य माध्यमबाट सरल भाषामा बुझाउने, सहायता कक्ष (हेल्प डेस्क) लाई प्रभावकारी बनाउने र निर्धारित समयमा काम नगर्ने कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनमार्फत दण्डित गर्ने प्रणाली कडाइका साथ लागू गरिनुपर्छ । सतर्कता केन्द्रजस्ता नियामक निकायका निर्देशन कार्यान्वयनलाई बाध्यकारी नबनाएसम्म र प्रशासनिक नेतृत्वमा इच्छाशक्ति नदेखिएसम्म सुशासनको नारा केवल राजनीतिक गफमै सीमित रहिरहने निश्चित छ ।
२०८३ मंसिर ७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































