‘डढेलो नियन्त्रणका लागि पूर्वतयारी खोई ?’

काठमाडौं । सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय निकुञ्जमा एक सातादेखि निरन्तर डढेलो लागेको र बस्तीमा समेत असर गरेको जानकारी गराउँदै दुर्लभ रेडपाण्डासहित बहुमूल्य जडीबुटी लोप हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले जाजरकोट भूकम्पप्रभावितले अझै पनि उचित क्षतिपूर्ति पाउन नसकेको जानकारी गराउँदै तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने सुझाए ।

सांसद ठाकुरप्रसाद गैरेले शनिबार सिंहदरबारभित्रै रहेको खानेपानी मन्त्रालयमा आगलागी भएको घटनाले पूर्वतयारी, सचेतना र जिम्मेवारीप्रति नै प्रश्न उठेकाले सो बारेमा सदनमा जानकारी माग गरे । उनले सुक्खा समय आउन लागेकाले आगलागीप्रति बढी सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद हितबहादुर तामाङले लाङटाङ राष्ट्रिय निकुञ्जमा एक सातादेखिको डढेलो नियन्त्रण हुन नसकेको र यसप्रति सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै यसबाट लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति लोप हुने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । चोरी सिकारी गर्नेले पनि डढेलो लगाएको हुनसक्ने भन्दै उनले नियन्त्रणका लागि उचित कदम चाल्न सरकारसँग माग गरे ।

सांसद बिन्दवासिनी कंसाकारले देशभरै नै आगलागीका घटना बढेको बताउँदै सरकारले पूर्वतयारी प्रभावकारी गर्न नसकेको आरोप लगाइन् । साथै उनले मापदण्ड पनि पालनामा कडाइ गर्नुपर्नेमा जोड दिँदै संसद्मा गैरसरकारी जलन विधेयक दर्ता भए पनि किन अघि नबढाइएको भनी प्रश्न गरिन् ।

सांसद अनिशा नेपालीले सल्यानमा महोत्सवमा आगलागी भई ठूलो धनसम्पत्तिको क्षति भएको भन्दै छानबिन गर्न माग गरिन् । उनले हरेक पालिकामा दमकलको व्यवस्था गर्न माग गर्दै पीडितलाई क्षतिपूर्तिको प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रभु शाहले सहयोगी कर्मचारीको हाल अस्थायी पदपूर्ति मात्र हुने गरेको र यसले गर्दा उनीहरूको जनवजीवन कष्टकर भएको उल्लेख गर्दै यसमा स्थायी पदपूर्ति किन रोकियो भनी सरकारसँग प्रश्न गरे । साथै उनले कानुन संशोधन गरेर भए पनि यी वर्गलाई सुविधा दिनुपर्ने माग गरे।

सांसद कान्तिका सेजवालले जुम्लामा विगत २४ घण्टादेखि लगातार डढेलो सुरु भएको र यसले बस्तीमा समेत असर गर्न सक्ने तथा दुर्लभ वन्यजन्तु नष्ट हुने चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् । साथै उनले खानेपानी मन्त्रालयमा भएको आगलागीका घटनाका सम्बन्धमा संसद्मा जानकारी गराउन माग गरिन् ।

सांसद ईश्वरी घर्तीले दाङको घोराहीबाट रोल्पाको होलेरी हुँदै रूकुमपूर्वको मैकोटसम्मको दुई सय २० किमी सहिद मार्गलाई आवश्यक बजेट व्यवस्था गरी स्तरोन्नति गर्न माग गरिन् ।

सांसद पूर्णबहादुर घर्तीले सुर्खेतमा पुलको लठ्ठा तान्ने क्रममा अनिल घर्ती र अर्जुन झाँक्रीको भेरी नदीमा खसेर भृत्यु भएको र झाँक्रीको अझै शव फेला नपरेकाले तत्काल प्रभावकारी खोजीमा लाग्न सरोकारवालासँग माग गरे ।

सांसद डा अमरेसकुमार सिंहले संविधानमा समावेशीको स्पष्ट व्यवस्था भए पनि वर्तमान सरकारले राज्यका हरेक निकायमा नियुक्ति र सरूवा बढुवा गर्दा व्यवहारमा कार्यान्वयन नगरेको अरोप लगाए ।