गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित पहिरोको उच्च जोखिममा रहेको देवल गाउँका ८३ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ ।
पहिरोबाट प्रभावित तथा जोखिममा रहेका देवलवासीलाई चुमनुब्री–३ कै फिलिमस्थित सार्वजनिक जग्गामा स्थानान्तरण गर्न प्रक्रिया अघि बढाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले देवलका ८३ घरधुरीलाई फिलिममा स्थानान्तरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बिहीबार मात्रै समितिले स्थानान्तरणका लागि प्राधिकरणमा सिफारिस पठाएको हो ।
प्राधिकरणले यस विषयमा शुक्रबार नै आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको उनले बताए । ‘देवलका पहिरो पीडितलाई फिलिमको सार्वजनिक जग्गामा स्थानान्तरण गर्न बिहीबार प्राधिकरणमा सिफारिस गरेका छौँ । प्राधिकरणले यस विषयमा शुक्रबार नै केही निर्णय गर्छ’, शर्माले भने । यसअघि चुमनुब्री गाउँपालिकाले पनि देवलका पहिरो पीडितलाई फिलिममा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाउन सहमति दिएको थियो । गाउँपालिकाले ८३ घरधुरीका बासिन्दालाई फिलिमस्थित सार्वजनिक जग्गामा स्थानान्तरण गर्न सहमति जनाउँदै आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
देवल गाउँ लामो समयदेखि पहिरोको उच्च जोखिममा रहँदै आएको छ । बस्ती नै जोखिममा रहेको विषयलाई मध्यनजर गर्दै गत जेठ २८ गते भूगर्भविद्हरूको टोलीले गाउँमा पुगेर स्थलगत अध्ययन गरेको थियो । उक्त अध्ययनपछि भूगर्भविद्हरूले देवल गाउँलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाव दिएका थिए । भूगर्भविद्हरूको अध्ययनले बस्ती बसोबासका लागि असुरक्षित रहेको औँल्याएपछि स्थानीय तह र जिल्ला प्रशासनले स्थानान्तरणको प्रक्रिया अघि बढाएका हुन् । जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा सार्नुपर्ने सुझावअनुसार फिलिमको सार्वजनिक जग्गालाई सम्भावित स्थानका रूपमा अघि सारिएको हो ।
अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयपछि स्थानान्तरणसम्बन्धी थप प्रक्रिया अघि बढ्नेछ । प्राधिकरणबाट स्वीकृति प्राप्त भएमा देवलका ८३ घरधुरीका बासिन्दालाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने बाटो खुल्नेछ । वर्षायाममा पहिरोको जोखिम थप बढ्ने उत्तरी गोरखाका दुर्गम बस्तीमध्ये देवल पनि एक हो । भूगर्भविद्हरूले तत्काल बस्ती सार्न सुझाव दिए पनि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ्नुपर्ने भएकाले स्थानीय बासिन्दा जोखिमकै बीच बस्न बाध्य हुँदै आएका छन् । फिलिममा स्थानान्तरणको निर्णय कार्यान्वयन भए देवलवासीलाई सम्भावित पहिरोको जोखिमबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































