जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् ।

“नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर छ”, कार्कीले भने ।

नेपाल लगानी बोर्डले गरेको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उनको भनाइ छ ।

नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जिएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपिसीजस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको उहाँले जानकारी गराए।