काठमाडौं । राजसंस्था पुनः स्थापनाको मागसहित भएको प्रदर्शनमा हिंसात्मक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईँ भारतमा फेला परेका छन् ।
नेपाल प्रहरीले भारतको आसाम राज्यमा उनलाई ट्र्याक गरी भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।
एक उच्च प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीसँग समन्वय गर्दै उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ ।
प्रसाईँ निकट एक व्यक्तिले पनि उनको पक्राउ पुष्टि गरे । तर, उनले ‘प्रसाईंले आफ्नै सुरक्षाको लागि भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको’ दाबी गरे ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा ‘राजवादी जनआन्दोलन’ का नाममा भएको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो ।
प्रदर्शनमा सरकारी र निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । सो आन्दोलनको नेतृत्व प्रसाईँले गरेका थिए ।
उक्त दिनको घटनापछि प्रसाईँ फरार थिए । तीनकुनेमा प्रहरीलाई नै गाडीले ठक्कर दिँदै अघि बढेको भिडियो सार्वजनिक भएपछि उनी सम्पर्कविहीन बनेका थिए ।
फरार भएका प्रसाईँले सामाजिक सञ्जालमार्फत दुई वटा भिडिओ सन्देश सार्वजनिक गर्दै आफूलाई असुरक्षित महसुस भएको र त्यसकारण ‘लुकेर बसेको’ दाबी गरेका थिए ।
बुधबार मात्रै पनि उनले फेरि अर्को भिडिओ सार्वजनिक गर्दै आफू भागेको नभई ‘बाँच्न लुकेको’ बताएका थिए ।
तर, प्रहरी स्रोतका अनुसार उनी लामो समयसम्म सामाजिक सञ्जालसमेत नचलाएर गुपचुप बसेका थिए । नेपाल प्रहरीको विशेष ब्युरोको टोली विशेष सूचनाको आधारमा भारतसम्म पुगेपछि उनलाई ट्र्याक गर्न सफल भएको हो ।





































