काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् ।
स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका हुन् । रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष ‘प्रचण्ड’ले गभर्नर नियुक्तिको विषयमा दलहरुबीच नभई बिचौलियाबीच कुरा नमिलेको दाबी गरेका छन् । त्यसै कारणले ढिला भएको उनको दाबी छ ।
‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरूको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, उनले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरूले कहिले काँग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । त्यसैले ढिलो भइराखेको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले सरकार पनि बिचौलियाको स्वार्थ अनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरूलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए । उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्त्वपूर्ण संवेदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरेका छन् ।
पार्टी र समाजवादी मोर्चाकै तर्फबाट पनि पटक पटक सरकारलाई खबरदारी गरिरहेको बताउँदै उनले सरकारले भने त्यतातिर ध्यान नदिएको बताएका छन् ।उनले काँग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा भनिसकेको बताउँदै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको बताए ।
‘पहिले त माओवादी र ‘प्रचण्ड’ले भनेको पूर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला । अहिले त यो कुरा काँग्रेसका महामन्त्रीहरूले नै भन्न थाल्नुभयो ‘, उनले भने, ‘अब त छ्याङ्ग भयो नि ! ‘प्रचण्ड’ले लगाएको यो झुटो होइन रैछ, साँचो रैछ भन्ने ।’ उनले सरकारलाई अझै पनि बिचौलियकाको स्वार्थअनुसारका नियुक्ति गर्ने र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न सुझाव दिएका छन् । उनले यो गणतन्त्रका लागि पनि अपरिहार्य र अनिवार्य भएको बताएका छन् ।





































