जुम्लामा खानेपानीलगायत समस्या समाधान गर्छौं : मन्त्री यादव

जुम्ला । खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका विद्यार्थी र जनसमुदायले भोग्दै आएका खानेपानीलगायत समस्या समाधान गरिने बताएका छन् ।

सपना देख्नसक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका हुन् ।

आज जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको अवलोकनपश्चात् उनले खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पनि भूमिका खेल्ने बताए ।

यहाँको हिमा गाउँपालिका–१ देवारगाउँमा आइतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन र खानेपानीबारे बुझ्न मन्त्री यादवसहित मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठलगायतको टोली आज यहाँ पुगेको हो ।