शिक्षक-प्रहरी झडप : पत्रकारसहित २७ घाइते

काठमाडौं । नयाँ बानेश्वरमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा कम्तीमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन् । प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो ।

नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीले नियोजित रूपमा आन्दोलनमाथि आक्रमण गरेको आरोप लगाए ।

“साढे १२ बजे प्रहरीले एकाएक लाठी र पानीको फोहोरा प्रहार गर्‍यो । हालसम्म २७ जना शिक्षक घाइते भएका छन्,” उनले भने ।

उनका अनुसार घाइतेमध्ये दरबार हाइस्कूलका प्रिन्सिपल पदम बर्तेला पनि छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ । केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ ।

झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन् । उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले २० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए ।

महासंघका अनुसार बानेश्वरको निषेधित क्षेत्रभन्दा अगाडि भाषण मञ्च बनाइएको थियो । भीडलाई संयमित राख्न स्वयंसेवक परिचालन गरिएको थियो । तर, स्वयंसेवक पदम पटेलामाथि प्रहरीले कुटपिट गरेको र उनको आँखामा गहिरो चोट लाग्यो ।

सोही क्रममा हेलमेटधारी केही व्यक्तिले प्रहरीमाथि ढुंगा प्रहार गरेको तर ती व्यक्ति शिक्षक नभएको महासंघको दाबी छ । “आन्दोलनलाई भड्काउन घुसपैठ पठाइयो,” ढकालले भने ।

महासंघले शनिबार शिक्षामन्त्रीसँग भएको छलफलमा सात बुँदे सहमति हुने संकेत देखिए पनि बजेटले माग सम्बोधन नगर्ने देखिएको जनाएको छ ।