सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण : परराष्ट्रमन्त्री 

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यो मञ्चमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने बताएकी छन् ।

दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशीलता सम्बन्धी आज काठमाडौँमा आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसै बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने स्पष्ट पारिन्।

राणाले भनिन् ‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन् । त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो । त्यसैले यो सबैको साझा मञ्च हो ।’

हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, बन डढेलो लगायतका जलवायुजन्य गम्भीर प्राकृतिका प्रकोपको सामना गरिरहेको दृष्टान्त पेश गर्दै यस्ता समस्याहरू यस क्षेत्रकै समस्या रहेकाले तिनको निकासका लागि यो कार्यक्रम महत्वपूर्ण रहने पनि बताइन्।

मन्त्री डा. राणाले आगामी शुक्रबारदेखि काठमाडौँमा आयोजित यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्वपूर्ण प्लेटफर्म रहेकाले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल हुने जानकारी पनि दिए ।

सो कार्यक्रममा मन्त्री डा. राणाले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको र यससम्बन्धी नीति तथा रणनीतिक कार्य योजनाहरू निर्माण गरी काम गरिरहेको जानकारी गराइन्।