प्रतिपक्षद्वारा सदन अवरोध, आधा घण्टाका लागि स्थगन

काठमाडौं । प्रतिपक्ष दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । सभाको आजको बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् ।

अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरे । त्यसअघि सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय उपलब्ध गराएका थिए । सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गरेका थिए । सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलका सांसदहरूले सत्तापक्षका सासंदहरूलाई बोल्न अवरोध गरेका थिए ।

रास्वपाका सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरे। उनले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने जिकिर गरे । “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अबैध असुलीको र्‍याकेट चलिरहेको छ”, सांसद खनालले भने , “गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदोरहेछ । तर किन उहाँलाई अध्यागमनमा पठाइयो । गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ ।”