काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारमा अवैध रूपमा सञ्चालन हुँदै आएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत रहेका ३७ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ।
आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका ती नेपालीलाई विभिन्न अनलाइन वेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टोसम्बन्धी ठगीका काममा संलग्न गराइएको दूतावासले जनाएको छ । गत कात्तिक २ गते म्यानमार सुरक्षाकर्मीले स्क्यामिङ केन्द्रहरूमा विशेष छापा मार्दा त्यहाँ कार्यरत नेपालीहरू आतंकित बनेर विभिन्न मार्ग हुँदै थाइल्यान्ड प्रवेश गरेका थिए । उनीहरूको अवस्थाबारे जानकारी प्राप्त भएपछि बैंककस्थित नेपाली दूतावासले थाइल्यान्डका सुरक्षा निकाय तथा प्रशासनसँग समन्वय गर्दै उद्धार प्रक्रिया अघि बढाएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि ती सबैलाई बुधबार (मंसिर ३) नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत काठमाडौं पठाइएको दूतावासले पुष्टि गरेको छ ।
दूतावासले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “थाइल्यान्ड प्रवेश गरेका ३७ नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्बडका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी २०८२ मंसिर ३ गते नेपाल एयरलाइन्सको उडान नं. आरए४०२ मार्फत स्वदेश फर्काएको छ ।” उनीहरू म्यानमार पुर्याइएपछि पासपोर्ट खोसिने, लामो समयसम्म बन्द कोठामा राखी जबरजस्ती अनलाइनमार्फत ठगी कार्य गर्न बाध्य पारिने, लक्ष्य पूरा नगराएमा विभिन्न प्रकारले दबाब वा दुर्व्यवहार सहनु पर्ने जस्ता समस्या रहेको दूतावासका अधिकारीहरूले बताएका छन् । यसैबीच, त्यही क्षेत्रमा अझै २३ नेपाली म्यावडीमा, दुई नेपाली थाइल्यान्डको मेसोटमा र चार नेपाली कम्बोडियामा फसेका रहेको जानकारी दूतावासले दिएको छ। तिनै मुलुकका सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायहरूसँग समन्वय जारी रहेको र चाँडै स्वदेश फर्काउने प्रयास भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विदेशमा जल्दोबल्दो रोजगारी पाउने आशामा अनधिकृत ढंगले दक्षिण–पूर्वी एसियाका मुलुकहरूमा गएर ठगी केन्द्रमा फसिने घटना पछिल्लो समय बढ्दै गएको दूतावासको निष्कर्ष छ। धेरै पैसा कमाउने लोभमा म्यानमार, कम्बोडिया, लाओस र थाइल्यान्ड जस्ता मुलुकमा पर्यटक भिसामा गएर अवैध काममा फसिने खतरा अत्यधिक रहेको चेतावनी दिंदै दूतावासले भनेको छ, “नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुहोला, कसैको प्रलोभनमा परी अनधिकृत मार्ग हुँदै विदेश नजान पुनः अनुरोध गर्दछौँ ।” हालै यस्ता स्क्यामिङ केन्द्रहरूबाट ठूलो संख्यामा दक्षिण एसियाली नागरिक उद्धार भइरहेका छन्। नेपाल सरकारले समेत कूटनीतिक निकायमार्फत समस्यामा परेका नागरिकहरूलाई उद्धार गर्न सक्रियता बढाएको छ। म्यानमारबाट भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीको उद्धारसमेत त्यही निरन्तर प्रयासको परिणामस्वरूप सफल भएको दूतावासले जनाएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।



































