सिमरा घटनाको सन्देश : चुनावको वातावरण अझै बनिसकेको छैन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले बुधबार १२ः३० देखि कर्फ्यु लगाउने निर्णय गर्‍यो । कर्फ्युको कारण नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजीबीचको तनाब नियन्त्रण गर्नु थियो । तर अवस्था सोचेजस्तो भएन ।

अहिले पनि जीतपुर सिमरा उपमहानगरपालिका दुई क्षेत्रमा कर्फ्यु जारी नै छ । गण्डक नहरदेखि फथलैया सडक खण्डको दायाँ–बायाँ ५ सय मिटर तथा सिमरा विमानसल वरिपरि ५ मिटिरसम्म कर्फ्यु लागिरहेकै छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार कर्फ्यु साँझ ८ बजेसम्म जारी रहनेछ । प्रशासनले कर्फ्यु लगाए पनि आक्रोशित युवाले कर्फ्यु उल्लंघन गर्दै सिमरामा प्रदर्शन गरिरहेछन् । ‘शान्ति सुरक्षा कायम गर्न युवा आ–आफ्नो घर फर्किनु होला’ भन्ने प्रहरीको माइकिङ उनीहरुले बेवास्ता गरिरहेछन् । झडप र कर्फ्युको भित्री सन्देश बुझ्न यसको पृष्ठभूमि केलाउनै पर्छ ।

एमालेको प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न एमाले अपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलाई सिमरा पुग्नु थियो । सो कार्यक्रम लक्षित गर्दै जेनजी अगुवा सम्राट उपाध्यायले मंगलबार राति नै एमाले कार्यक्रम असफल पार्न शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए । पछि झडप हुँदा उनी पनि कुटिए, घाइते भए । सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त बन्यो । यही पृष्ठभूमिमा प्रशासनले कर्फ्यु ओदश जारी गरेको हो ।

बुधबार बारामा अहिले भएको तनाब केही समयपछि साम्य हुनेछ तर यसले दिएको दीर्घकालीन सन्देश सुखद हुने देखिँदैन । मुख्य राजनीति शक्तिका नेतालाई अवरोध गर्ने विषय राजनीतिक कुरा पनि हो । यसको राजनीतिक अर्थ छ । बारा झडपले मुख्यतः चार सन्देश दिएको छ ।

जेन–जी आन्दोलन नेपालमा भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध सुरु भएको हो । उनीहरूले स्थापित राजनीतिक दल र तिनका नेताहरूले देशको विकास र सुशासनमा ध्यान नदिएकोमा आपत्ति जनाउँदै आएका छन् । बाराको झडपले युवाले प्रमुख राजनीतिक दल एमालेलाई सिधै चुनौती दिन तयार रहेको सन्देश दिएका छन् । उनीहरूका गतिविधिमा अवरोध पुर्‍याउँदा सशक्त प्रतिरोध गर्ने सन्देश पनि दिएका छन् ।

विमानस्थलमै भएको झडपमा स्थापित दलका नेताहरूले कार्यकर्ता घुसपैठ गराई सुनियोजित ढङ्गले तोडफोड गरेको आरोप जेन–जी अगुवाले लगाएका छन् । बारामा कर्फ्यु तोडेर प्रदर्शन चलिरहँदा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘सरकार निर्वाचन—निर्वाचन भन्छ, आज ४ बजेतिर निर्वाचनबारे छलफल गर्न बोलाएको छ । कसैले भेला गर्छ, सभा गर्छ । त्यसैमा भौतिक आक्रमण गर्ने ? सभा गर्न नदिने ? यस्तो वातावरणमा कसरी चुनाब हुनसक्छ ?’ निर्वाचन लक्षित उनको सवाल निकै अर्थपूर्ण छ । वास्तवमै दलहरुले स्वतन्त्र, शान्ति र निर्भयपूर्वक सभा, भेला गर्न नसक्ने अवस्थामा चुनाब हुन सक्छ ?

बाराको घटनामा पिटाइ खाएका सम्राट उपाध्यायले गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न खोज्दा आफूहरुमाथि सुनियोजित आक्रमण भएको दाबी गरेका छन् । उनी सुदन गुरुङ समूहको बारा जिल्ला अध्यक्ष हुन् । यो झडपमा दुई पक्षले एक अर्कालाई सहिष्णुता साथ स्वीकार्न नसकेको देखाउँछ । देशको राजनीतिक वातावरण ध्रुवीकरण बढ्दै गएको छ । अझ त्यो समूह र व्यक्ति केन्द्रित हुने खतरा बढेको छ ।

जेन–जीहरुले आन्दोलनबाट केपी शर्मा ओलीको सरकार ढालेका थिए । युवाले देशको बेथितिविरुद्ध आन्दोलन गरेका थिए । अहिले उनीहरुले दलका गतिविधिलाई देशको बेथितिको निरन्तरताको रुपमा हेरेजस्तो देखिन्छ । बुधबारको घटना भनेको देशभरि सञ्जाल फैलिएको ठूलो राजनीतिक दलका नेतालाई अवरोध गर्न खोजेको घटना पनि हो ।

यो द्वन्द्वले संकेत गरेको अर्को खतरनाक सन्देश हो– स्थापित दलहरु युवाको विरोधलाई चुनौतीको रुपमा लिन्छन् । जेन–जी युवा दलका गतिविधिलाई बेथितिको निरन्तरता ठान्छन् । यो ध्रुवीकरण निकै खतरनाक हुने देखिन्छ । बुधबारको झडपले राजनीतिक वातावरण अझ स्थिर नभइसकको देखाउँछ । यो द्वन्द्वले राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियामा दीर्घकालीन असर पार्न सक्ने देखिन्छ ।