काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले आफनो पहिलो खेलमा प्रभावशाली प्रदर्शन गर्दै काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले सन्तुलित ब्याटिङ र उत्कृष्ट बलिङका कारण जित सुनिश्चित गयोेे । पहिलो खेलमा जनकपुर बोल्टलाई हराएको काठमाण्डुको यस वर्षको पहिलो हारसमेत यै मैदानमा दर्ता भयो ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको काठमाण्डु १६.५ ओभरमै ११८ रनमा अलआउट हुन पुग्यो । टोलीका लागि ओपनर आकाश त्रिपाठीले ३० बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाए पनि अन्य ब्याटरले साथ नदिँदा काठमाण्डुको इनिङ उकासिन सकेन । खेलको सुरुआतमै हेमन्त धामीले बेन चार्ल्सवेथलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए भने दोस्रो स्पेलमा भीम सार्कीलाई १२ रनमा समात्दै काठमाण्डुलाई थप दबाबमा पारे। त्यसपछि अर्को ओभरमा सन्तोष यादव रनआउट हुँदा काठमाण्डुको बलियो शीर्ष–क्रम भत्किन थाल्यो ।

आकाश त्रिपाठी र जोन सिमसनले चौथो विकेटका लागि ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि त्यो लामो समय टिकेन । ११औँ ओभरमा सिमसन २४ रनमा एलबिडब्लू आउट भए । त्यसको अर्को ओभरमा आकाश त्रिपाठीलाई हर्मित सिंहले पेभिलियन फर्काए । हर्मितले त्यसै ओभरको अर्को बलमा आदिल अन्सारीलाई एलबिडब्लू आउट गर्दै काठमाण्डुलाइ झनै संकटमा पारे ।

त्यसपछि मिलिन्द कुमार ११ रनमा, रशिद खान ६ रनमा र करण केसी १ रनमै आउट हुँदा काठमाण्डुको लक्ष्य पछ्याउने आशा बिस्तारै क्षीण हुँदै गयो। अन्तिमतिर सनी पटेलले १० रन बनाए पनि टोलीलाई हारबाट बचाउन पर्याप्त रहेन । सुदूरपश्चिमका स्कट कुगेइलिन, हेमन्त धामी र हर्मित सिंहले समान २–२ विकेट लिए ।

यसअघि, टस जितेर फिल्डिङ रोजेको काठमाण्डुले सुरुआतमै दबाब सिर्जना गर्न सफल भएको थियो । सुदूरपश्चिमका जोश ब्राउन पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबिडब्लू आउट भए भने ओभरको अन्तिम बलमा विनोद भण्डारी क्याचआउट भएर फर्किए । तेस्रो ओभरमा करण केसीले अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई २ रनमा आउट गरेपछि सुदूरपश्चिमको अवस्था २७/४ को संकटमा पुगेको थियो। इशान पाण्डे पनि ११ रनमै आउट भएपछि पावरप्लेमा सुदूरपश्चिमले ४ विकेट गुमाई सकेको थियो ।

यही अवस्थामा अमेरिकी ब्याटर हर्मित सिंहले आक्रामक ब्याटिङ गर्दै इनिङ उकासे । उनले १९ बलमै अर्धशतक पूरा गरे, जसमा २ चौका र ६ छक्का समावेश थिए । उनले ४९ रनमा जीवनदान पाएका थिए, जब १८औँ ओभरको अन्तिम बलमा रशिद खानविरुद्धको प्रहार काठमाण्डुका भीम सार्कीले क्याच छाडेका थिए ।

हर्मितले लगातार दुई ओभरमा करण केसी र मिलिन्द कुमारविरुद्ध तीन–तीन छक्का प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए । कप्तान दीपेन्द्रसिंह ऐरीले पनि निकै महत्वपूर्ण पारी खेले। उनले हर्मितसँग मिलेर ४.१ ओभरमा ६१ रनको साझेदारी गरे, जसले खेलको मोड नै बदलिदियो। दीपेन्द्रले ३० बलमा ३ चौका र १ छक्कासहित ३९ रन बनाए। अन्ततः सुदूरपश्चिम २० ओभरमै १४७ रनमा अलआउट भए पनि मध्य ओभरको तेज रनरेटले त्यो स्कोर प्रतिस्पर्धी बन्न पुग्यो ।

काठमाण्डुका लागि करण केसीले ४ विकेट लिए भने रशिद खान, मिलिन्द कुमार र सनी पटेलले २–२ विकेट हात पारे। तर ब्याटिङ विभागको कमजोर प्रदर्शनले काठमाण्डुलाई पहिलो हार बेहोर्न बाध्य बनायो ।

एनपिएलमा अब बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच अपरान्ह ४ बजे प्रतिस्पर्धा हुनेछ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराइसकेको छ भने लुम्बिनी पहिलो खेल खेल्दैछ ।