के गर्दैछन् कांग्रेसका दुई महामन्त्री ?

काठमाडौं । ठूलो र पुरानो विरासत बोकेको नेपाली कांग्रेसका शक्तिशाली महामन्त्री गगन थापाले मंगलबार भिडियो सन्देशमार्फत् आजित भएको शैलीमा दिक्दारी पोखे ।

प्रतिस्पर्धी एमाले महाधिवेशन, चुनाव र प्रतिनिधिसभा विघटनबारे प्रस्ट छ । कांग्रेस असोज २८ गते यता अलमलिएको छ । यसैले थापाले ५ मिनेट २३ सेकेण्डको भिडियोको सुरुमा दिक्दारीका कुरा राखे ।

‘नेपाली कांग्रेसको बैठक असोज २८ गतेदेखि बसेको छ । कहिले टुंगिने पनि निश्चित छैन । बैठक बस्छ, सर्छ । अनि बैठकमा छलफल पनि पहिला इलेक्सन कि, अधिवेशन कि, अधिवेशन पनि नियमित कि, विशेष कि भनेर यस्तै यस्तै कुरा भइरहेको छ । आरोप–प्रत्यारोप चलिरहेको छ’, थापाले भनेका छन्, ‘बैठकमा कुरा सुन्दा, हेर्दा तपाईंलाई कति वाक्कदिक्क लागेको होला ? नलाग्ने कुरा पनि भएन । यस्तो नहुनुपर्ने हो तर भइरहेको छ ।’

पार्टीले लिने नीति दृष्टिकोण तिनको लागि एजेन्डा टेबल गर्नुपर्ने व्यक्तिले यो हदको वैराग किन व्यक्त गरेका होलान् ? प्रभावशाली पार्टीका लोकप्रिय युवा नेतालाई एजेन्डा ल्याउने, छलफल गराउने र एउटा टुंगोमा पुग्न कठिन हुन नपर्ने हो । अप्ठ्यारो अवस्थाबीच छिटो निर्णय लिएर अगाडि बढ्नुपर्ने समयको चाप छ । तर छलफल आरम्भ गरेको महिना दिनसम्म पनि पार्टीले एउटा दिशा लिन सकेन । यो स्थितिलाई थापाले दुई विचारका संघर्ष भनेका छन् । ‘एकथरि साथीहरू भन्नुहुन्छ– जे भइरहेको छ ठीक छ । चैत २३–२४ को घटना अब बिर्सौं । ८४ को चुनाव आउन लागेको थियो, असोज ८२ मा अगाडि सर्‍यो,’ थापाले पहिलो कारणमा भनेका छन्, ‘चुनावमा जाऔँ, भोट मागौँ, जितौँ । म यसलाई सही वा गलत भन्दिनँ ।’ पार्टीभित्र र बाहिरका मानिससँग कुरा गरेको कुराकानीका सन्देशलाई उनले दोस्रो विचार भनेका छन् । जसलाई डरलाग्दो सन्देशको रूपमा ग्रहण गर्नुपर्ने उनको मत देखिन्छ । ‘विश्वप्रकाश शर्मा, म लगायतका साथीहरूले पार्टीका साथीहरू र पार्टीभन्दा बाहिरका मानिसहरू सँग धेरै कुराकानी गर्‍यौँ । कति टेलिफोन र सन्देशहरू आए । यी सबैबाट हामीले पाएको सन्देश के हो भने– भदौ २३–२४ को घटना नेपाली कांग्रेसका लागि एउटा स्पष्ट सन्देश होः रोकिनुहोस्,’ थापाले भनेका छन्, ‘तिमीहरू जसरी चलिरहेका थियौ, त्यो ठीक छैन । तिमीहरू जसरी काम गरिरहेका थियौ, त्यो ठीक छैन । तिमीहरू बदलिनुपर्छ । नबदलिए अहिलेसम्म हामीले तिमीहरूलाई हालेको भोट बदल्छौँ ।’

भोट–भोट भनेर मात्रै नकुँदौँ आफैँलाई बदलौँ भन्ने उनको अपिलको अन्तर्य देखिन्छ । ‘ठूलो निराशा छ । हामीसँग धेरै प्रश्नहरू छन्, धेरै सुधार भइदेओस् भन्ने चाहनाहरू छन् । त्यसैले तपाईंहरूकै कुरा सुनेर हामी पार्टीभित्र भनिरहेका छौँ– हामी भोट–भोट भनेर मात्र नकुदौँ,’ थापाले भनेका छन्, ‘हामी केहीबेर अडिऔँ, रोकौँ र सोचौँ । तपाईंहरूले भन्नुभएको कुरालाई मनन गरौँ । त्यसबाट सुधार गर्नुपर्ने कुराहरू सुधार गरौँ, नयाँ कुराहरू सोचौँ, आफूलाई नयाँ बनाएर लैजाऔँ ।’ जेन–जीको सुनामी वेगको आन्दोलनलाई हेर्ने, स्वीकार गर्ने र यसका सन्देशलाई मनन गर्नें नेतामा थापा अग्रणी देखिएका छन् । पार्टी फोरममा उनले अहिलेसम्म भएका कमजोरी, सुधार र अब लिनुपर्ने बाटोबारे बोलेका छन्, लेखेका छन् । गल्ती भएकोमा प्रस्ट भाषामा माफी पनि मागेका छन् । यसैले पुरानै नीति र नेतृत्वलाई लिएर चुनावमात्रै भने पार्टीले ठूलो क्षति भोग्ने उनको निरन्तरको मत छ । जेन–जी आन्दोलनको रापतापलाई यत्तिकै ‘जेनेरलाइज’ नगरौँ भन्नेमा थापा दृढ देखिन्छन् ।

एक समय थियो मान्छे जम्मा गरेर नेताले भाषण गर्दा सहभागी कार्यकर्ता र शुभेच्छुकले निःसन्देह मन पराइदिन्थे । राजनीतिक रूपमा दीक्षित र शिक्षित गर्न भाषण एउटा माध्यम थियो, परम्परा थियो । प्रविधिमा आएको छलाङले हामी नयाँ युगमा छौँ । जसले असम्भवलाई सम्भव बनाइरहेको छ । हुन पनि जेन–जी आन्दोलनको भदौ २३ र २४ गतेको घटना मानिसहरूलाई अहिले पनि सपना जस्तो लाग्छ । आन्दोलन सामाजिक सञ्जाल बन्द गरेको रोषमा भएको थियो । प्रविधिको सदुपयोग र दुरूपयोगमा बहस छ, हुन्छ । तर, जेन–जी आन्दोलनलाई फेसबुक बन्दा हुँदा डिस्कर्डले जोडेको थियो । नतिजा जे भए पनि युवाहरूले डिस्कर्डबाटै सुशीला कार्कीलाई प्रधानमन्त्रीको उम्मेदवार तय गरे । अन्ततः प्रधानमन्त्री बनाएरै छाडे । सपना जस्तो उनीहरूको आँधीमय आन्दोलन भयो । दुईतिहाइको सत्ता गर्लम्मै ढल्न बेर लागेन । आफ्ना अडानमा टसको मस नहुने प्रधानमन्त्री केपी शर्मा ओलीसमेत राजीनामा दिन बाध्य भए । आन्दोलनकारीको निसानामा परी कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं बहालवाला परराष्ट्रमन्त्री आरजु राणा देउवा घाइते भए । दिनभर सुरक्षाकर्मीले पहरा दिएर बल्ल देउवा दम्पतीलाई उपचारको लागि अस्पताल लान सक्यो । कांग्रेस, एमाले, माओवादीका शीर्षदेखि तल्लो तहसम्मका नेता सेनाको साथ लिएर लुरुलुरु हिँड्न बाध्य भए ।

दशकौँसम्म देशलाई अपेक्षित गतिमा अगाडि बढाउन नखोजेपछि समकालीन राजनीतिक नेतृत्वमाथि सबैभन्दा ठूलो प्रश्न छ । आक्रोश, निराशा र बेचैनीका थुप्रै प्रश्नबाट नेताहरू घेरिएका छन् । यस्ता प्रश्नले के पुराना, के नयाँ, के वृद्ध के युवा ? सबै ‘उही ड्याङका मूला’को भाष्य बन्यो । कांग्रेस सभापति देउवा लखेटिँदा, युवा भएरसमेत गगन थापासमेत घर छोडेर भाग्नुपर्ने स्थिति आयो । शारीरिक रूपमा अशक्त बनेका काका, साना छोरीहरूलाई छिमेकीले बचाएको र आफू पनि मुस्किलले उम्केको भनेर उनले थुप्रैपटक भनिसके । छिमकीको साथले गर्दा सभापतिकै जस्तै हालत हुने भन्दै सहजै केन्द्रीय समितिमै स्वीकारे । अहिलेसम्म भएका कमजोरी र बदनामीको भारी बोक्न तयार हुन्छु भनेर थापाले नभनेको मञ्च र फोरम छैन । एक समय थियो मान्छे जम्मा गरेर नेताले भाषण गर्दा सहभागी कार्यकर्ता र शुभेच्छुकले निःसन्देह मन पराइदिन्थे । राजनीतिक रूपमा दीक्षित र शिक्षित गर्न भाषण एउटा माध्यम थियो, परम्परा थियो । प्रविधिमा आएको छलाङले हामी नयाँ युगमा छौँ । जसले असम्भवलाई सम्भव बनाइरहेको छ । मञ्चबाट गरिने भाषण अब परम्परागत भइसक्यो । प्रविधिको सामान्य प्रयोगले एकैछिनमा लाखौँलाई प्रभावित गर्ने समय आइसक्यो । प्रत्यक्ष भाषणको भाषा सामाजिक सञ्जाल र प्रविधितिर सर्‍यो ।

यसै प्रविधिको बलमा यत्ति छिट्टै उथलपुथल र राजनीतिक परिवर्तन भयो कि मान्छेहरू २३ र २४ गतेको घटनालाई अझै सपनाजस्तो ठान्छन् । आन्दोलनका विध्वंसलाई हेर्दा आशंकाका अनेक आयाम देखाउन नसकिने होइन । आन्दोलन, विद्रोहदेखि विध्वंस के नाम दिने भनेर मान्छे विभाजित पनि भएकै छन् । सामाजिक सञ्जालमै व्यक्त भएको रोषले परम्परागत विरासत र सत्ताको सबै वैभवलाई एकैछिनमा ढालिदियो । पहिलेपहिले राजनीतिक परिवर्तन विशाल जनसागर सडकमा आएपछि मात्रै सम्भव हुन्थ्यो । यसपटक राज्य शासनको अकर्मण्यताविरुद्ध सडकमा विशाल जनसागरले मार्चपास गर्नुपरेन । परम्परागत राजनीतिक ढर्राबाट नेताहरू माथि नउठेको झोकको नतिजा दुःखद् रह्यो । ७६ जनाले ज्यान गुमाए । सुशासन र भ्रष्टाचारमुक्त नेपालको माग राखेर भएको आन्दोलन विध्वंसमा पुगेर सकियो । राज्यका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका ढल्न बेर लागेन । नेताका घर, निवास, डेरा, व्यापारिक प्रतिष्ठानसम्म खर्बौंको क्षति हुन पुग्यो । समयको माग, चाप र दबाब पुराना दल र नेताले नबुझ्दा देश यो स्थितिमा पुगेको धेरैले मनन गरेका छन्, तर स्वीकार गरेका छैनन् ।

सत्ताका दुई ठूला शक्ति कांग्रेस र एमाले मिलेर सुशासन दिने आश्वासन दिए । तर नतिजा दिएनन् । सशक्त प्रतिपक्षीको मैदानसमेत खाली गरेको जनताले मन पराएनन् । त्यसैले जेन–जीको प्रदर्शन र त्यसपछिको क्षणभरमै भएको उलटफेरमा बहस गर्न सकिन्छ तर बेवास्ता गर्न सकिँदैन । गगन थापा तिनै व्यक्ति हुन् जसले जेन–जी आन्दोलनको सुरुदेखि नै स्वामित्व लिए । अर्थात् वर्षौंसम्मका अकर्मण्य राज्य र नेताको बेथितिले ल्याएको परिणाम भनेर स्वीकारे । थापाको यो मतलाई सुन्न, हेर्न र प्रतिक्रिया जनाउन लाखौँको ओइरो लागेको छ । अर्थात् जेन–जी आन्दोलनपछिको भ्याकुममा गगनले के बोल्छन् भनेर आज देशैले कुरेको स्थिति छ । कांग्रेसभन्दा बाहिर, दलसँग चासो नराख्नेले समेत गगनको अपिललाई मन पराएका छन् । एक स्टेप अघि बढेर एमाले सचिव योगेश भट्टराईले समेत जेन–जी आन्दोलन उत्कर्षमा पुग्दा गगनलाई प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए ।

अर्थात् परम्परागत सिंगो राजनीतिक प्रणालीमाथि प्रश्न उठेको बेला गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेहरूमाथि केही भरोसा देखिएको छ । यतिसम्म की हामी नेपालका सुदन गुरुङले समेत ‘गगन थापा पो भेट्नुपर्ने मान्छे रहेछ’ भनेर कुराकानी गरे । ‘कालो बादलमा चाँदीको घेरा हुन्छ’ भने जस्तो कांग्रेसलाई देखाउन यतिखेर यी अनुहार छन् । यसैले १५ औँ महाधिवेशन, फागुन २१ गतेको चुनावको विषयमा छिटो उचित निर्णय पुग्न उनीहरूले पार्टीमाथि विकल्पसहितका दबाब बढाइरहेका छन् । तर सात भाइका नाममा उनीहरू ललकारिएका छन् । गगन र विश्व १४ ‍औँ महाधिवेशनबाट रवाफसहित जिते । गगन ६४ प्रतिशत मत ल्याएर विजयी हुँदा ठूलो गुटबिना विश्वप्रकाशले महामन्त्रीमा बाजी मारे । बलियो संस्थापनका डा. प्रकाशशरण महत पराजित भए । शानदार मतले जितेका यिनै नेताले आज पार्टीमा सुधार र परिवर्तनको माग गरेका छन् । महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जान माग गरेका छन् । नियमित नभए विशेष महाधिवेशनको विकल्प पनि दिएका छन् । तर विडम्वना जितेका महामन्त्रीलाई आशीर्वाद र टीकाको भरमा टिकेका नेताले नमिठोसँग ललकारेका छन् । कात्तिक १९ गतेको केन्द्रीय समितिको बैठकमा नेता कृष्णप्रसाद सिटौला निर्मम सुनिए । सामाजिक सञ्जालबाट आफूहरूलाई खरानी बनाउने चेतावनी दिएको बताए ।

‘तपाईंले सचिवालयमा नै मान्छे भर्ती गरेर हामीलाई खरानी बनाउने चेतावनी दिनुभएको छ । विचार गर्नुस् खरानी पनि कुनै दिन काम लाग्न सक्छ,’ सिटौलाले भनेका थिए, ‘तर तपाईंले बाँकी नेताहरूलाई सिध्याएर पार्टी कब्जाको सपना देख्नुभएको छ । सामाजिक सञ्जालबाट हो तपाईं सभापति बन्ने ?’ थापालाई ललकारेका सिटौलाले दुई महिनाअघि सामाजिक सञ्जाल बन्द भएको रोषमा जेन–जीले उलटपुलट गरेको बिर्सिएका थिए । अर्कोतिर जेन–जी आन्दोलनको पर्सिपल्ट भदौ २६ गते थापाले सामाजिक सञ्जाल फेसबुकमा हालेको एउटा भिडियो सन्देशलाई अन्देखा गरेका थिए । थापाको १५ मिनेट ७ सेकेण्डको त्यो भिडियो ७.८ मिलियन अर्थात् ७८ लाखले हेरेका छन् । झण्डै ६२ हजारको प्रतिक्रियामा उनलाई अघिपछि जस्तो ‘बाख्रा’ भनेर लखेटिएको छैन । बरु पेचिलो अवस्थामा ‘आइदेऊ देशलाई पार लगाइदेऊ’ भनेर लेखिएका छन् । शंकाको सुविधा दिँदै आलोचनात्मक समर्थन गर्ने पनि उत्तिकै छन् । भिडियोमा उनले कांग्रेस महामन्त्रीको रूपमा नभई नागरिक तहबाट बोले । भदौ २३ गते १९ जना युवाको मारिएको प्रत्यक्ष संलग्नता नभए पनि माफी मागेको घोषणा गरे । नेताहरूसँग जनता रिसाउँदा त्यो घटना घटेको स्वीकार्न दकस मानेनन् । आफ्नै दल सम्मिलित सरकारलाई सुधार्न खोजेको प्रयत्न काम नलागेको उनले पटक–पटक स्वीकारे । माफी मागे । ‘कमजोरी भएको हो, सिक्ने हो, कांग्रेसलाई जरैबाट बदल्ने हो । युवाहरूले मन पराउने पार्टी बनाउने हो’ भन्ने प्रण गरेका थिए । सभापति घाइते भएकोमा उत्तिकै दुःख प्रकट गरे, स्वास्थ्य लाभको कामना गरे ।

के विमलेन्द्र निधि, के प्रकाशमान सिंह, के विजयकुमार गच्छदार, के डा. शशांक कोइराला, के डा. प्रकाशशरण महत सबैको बोली र लोली उस्तै छ गगन र विश्वहरूले पार्टी कब्जा गरे । त्यसको भोलिपल्ट फेरि अर्को भिडियो जारी गरे । उस्तै अपिलको भिडियो ३ मिलियन हेरियो । अरु नेता सेनाकै निगरानीमा हुँदा थापा जलेर खरानी भएको केन्द्रीय कार्यालय सानेपा पुगेर अर्को भिडियो बनाए । उनले ‘आत्तिएको समाजलाई सहारा दिन र भग्नावशेषलाई सफा गर्न र पुनर्स्थपना’मा जुट्न अपिल गरे । मनमा रिस नराखी एक अर्कालाई सहयोग गर्न उनले अपिल गरे । उनको त्यो भिडियो पनि साढे २ मिलियन हेरिएको छ । त्यसयता पनि थापाको त्यस्तै प्रकृतिका पाँचवटा भिडियो सन्देश जारी भएका छन् । सबै भिडियोका सार ‘कमजोरी भयो सच्चिन्छौँ, बदलिन्छौँ’ भन्ने छ ।
गगनले चारवटा भिडियो सन्देश जारी गरेपछि सिटौला पनि भदौ २९ मा सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भए । सिटौलाले जेन–जी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ, आतंक, युवाको दुःखद् निधन भएको बताएका थिए । राज्यका सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जलेको, नेताको घर सम्पत्तिको क्षतिको फेहरिस्त दिए । संकटमा पार्टीको एकताले नै चुनौतीको सामना गर्ने बताएका थिए । जेन–जी आन्दोलनको रापतापमा गगनलाई सुन्न खोजेजस्तो सन्देश र संख्या सिटौलाको भिडियोमा थिएन । अर्थात् उनको पहिलो भिडियोमा २ लाख १२ हजार भ्युज आएको छ । तर गाली खाइने डरले उनले प्रतिक्रिया गर्न र हेर्न नमिल्ने बनाएका छन् । शासन सत्तामा बस्दाको गल्ती र कमजोरीलाई उनले स्वीकार्न चाहेनन् ।

अनिर्णयको बन्दी बनेको कांग्रेसमा सिटौलामात्रै यस्तो सुनिएका छैनन् । के विमलेन्द्र निधि, के प्रकाशमान सिंह, के विजयकुमार गच्छदार, के डा. शशांक कोइराला, के डा. प्रकाशशरण महत सबैको बोली र लोली उस्तै छ गगन र विश्वहरूले पार्टी कब्जा गरे । गगन र विश्वले हामी नेतृत्त्वमा दाबी गर्दैनौँ समयमा महाधिवेशन गरे बाहिर बस्छौँ भनेर घोषणा गरेका छन् । विकल्पमा विधानअनुसार विशेष महाधिवशेनलाई प्रक्रियामा हाल्देऊ भनेका छन् । यतिसम्म कि थापाले शेखर कोइरालालाई भेटेरै अन्तरिम प्रयोजनको लागि लागि सभापतिमा दाबी गर्दिनँसम्म भनिसकेका छन् । निर्वाचनभन्दा टीका र आशीर्वादबाट आएका नेताहरूले आफू लज्जित भएको भने बिर्सिन पुगे । गगनलाई आरोपित गरेका सिटौला आरोप गलत भएपछि उनले सोही बैठकमै माफी माग्नुपरेको थियो । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले त ‘अपडेट नहुने नेता आउटडेटेड’ भन्दै प्रतिवाद गरे । केन्द्रीय समितिको बैठकमा नेता शाहीले गाडी चढ्दासमेत नेतालाई चोर फटाहा भनेर दुत्कार्ने गरिएको टिप्पणी गरेका थिए । ‘सबै अतिवादी भएका छौँ । हस्तीलाई नै जनताले हराइदिन्छन् । गाडीमा चढ्दासमेत कांग्रेसका जोसुकै भए पनि चोर फटाहा भन्छन्‌’, शाहीले भनेका थिए । कार्यवाहक सभापतिलाई सिटौलासहितका सात भाइले ‘कार्यबाहेक’ बनाएको भन्दै व्यंग्य गरे । देउवानिकटका नेता आङ्गेलु शेर्पाको भनाइ त झन् टिठलाग्दो छ ।

तर देउवा हिँडेको भोलिपल्टैदेखि सिटौला र निधिहरूको जोडबलमा खड्का गुटको बैठक डाक्न विवश भए । नियमित र विशेष महाधिवेशन गर्नै नसक्ने अडानमा सात भाइले संस्थापनलाई चिराचिरामा विभाजन गर्ने अवस्थामा पुर्‍याइदिए । ‘हामी के नीति र नेतृत्व लिएर चुनावमा जाने ? चुनावमा त वातावरण बनेपछि जाने होला,’ कात्तिक १९ गतेको बैठकमा शेर्पाले भनेका थिए, ‘अधिवेशन गरेर मुद्दा टुंगो लगाएर मात्रै दृष्टिकोणसहित जानुपर्छ । यत्तिकै चुनावमा जाँदा भोट दिने होइन, जनता लौरो लिएर आउँछन् ।’ सात भाइको अतिवादपछि संस्थापनबाट जितेका सह–महामन्त्री फरमुल्लाह मन्सुरले टिम छोडेका छन् । गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार नबनाए पार्टीका नेतालाई चुनाव जित्नै गाह्रो हुने मत राखे । सिटौलाको चेलो हुँ भन्दै तारामान गुरुङले समेत गगनलाई अगाडि सार्न माग गरे । ‘म शेरबहादुर देउवाको टिमबाट जितेको हुँ । कृष्ण सिटौलाको कार्यकर्ता हुँ,’ गुरुङले भनेका थिए, ‘तर अहिलेको परिस्थितिलाई मूल्यांकन गर्दा गगनलाई पार्टी सभापति, प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय गर्नुपर्छ ।’ केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले सामाजिक सञ्ञ्जालको बेगलाई कमजोर नआँक्न चुनौती दिए । ‘हामी सामाजिक सञ्जालमा कमजोर छौँ । तर सञ्जाल प्रयोगलाई हुर्मत लिएका छौँ । अहिले पनि जेन–जीले चाह्यो भने महत्त्वपूर्ण शहर आधी घण्टामा देश कब्जा गर्न सक्छ,’ स्नेहीले भनेका थिए, ‘जेन–जीको भावनालाई सम्बोधन नगरी, आन्दोलन, सुशासन, सामाजिक मुद्दा सम्बोधन नगरी, उच्चस्तरीय नेताको बिदाइ नगरी हुँदैन ।’

विशेष महाधिवेशन पार्टी फुट्छ भन्ने सिटौलालाई स्नेहीले प्रश्न गर्दै भनेका थिए– पार्टी फुटाउने विधानको धारा १७ (२) तपाईं नै महामन्त्री हुँदा किन राखेको हो ?’ भदौ २३ गते १९ युवा मारिएपछि नैतिकताको आधारमा राति तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिए । तर आदर्शवादी सिटौला लेखकको राजीनामाको मसी सुक्न नपाउँदै गृहमन्त्री बन्न तयार भइसकेको समेत कांग्रेस स्रोत बताउँछ । केहीदिन केन्द्रीय समितिको बैठकमै महामन्त्री शर्माले सामाजिक सञ्जालले सत्ताबाट हट्नुपरेको टिप्पणी गरेका थिए । ‘हामी संयमतापूर्वक प्रस्तुत हुनुपर्छ । हाम्रो प्रस्तुति अलि बढी भएको छ । सामाजिक सञ्जालको ठूलो प्रभाव छ । एकले अर्कोलाई खुइल्याउने प्रयासले आफ्नै कमजोरी भएको छ,’ उनले भनेका थिए, ‘सामाजिक सञ्जालले गर्दा हातमा सत्ता रहेन । साथमा देश रहेन । यो सामाजिक सञ्जालमार्फत् नै हो । यसैले जिम्मेवार बनौँ ।’ २५ केन्द्रीय सदस्य देउवाको संस्थापनबाट टाढिँदै मात्रै गएनन्, कांग्रेस निर्णयमा पुग्न नसक्दाको कथा यत्तिमै सकिँदैन । असोज २८ गते पार्टी पूर्णबहादुर खड्कालाई बिसाएर देउवा सिंगापुर उडे । तर देउवा हिँडेको भोलिपल्टैदेखि सिटौला र निधिहरूको जोडबलमा खड्का गुटको बैठक डाक्न विवश भए । नियमित र विशेष महाधिवेशन गर्नै नसक्ने अडानमा सात भाइले संस्थापनलाई चिराचिरामा विभाजन गर्ने अवस्थामा पुर्‍याइदिए ।

विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा दर्ता भयो । तर अनधिकृतको संज्ञा दिँदै सात भाइमध्येका नेताले यसलाई पनि उस्तै गरी ललकारे । बदलामा सिंगापुर पुगेका देउवालाई फर्काउनुपर्ने स्थिति आयो । तर यता संग्लो संस्थापन छोडेर गएका देउवाले आउँदा चारथरी संस्थापनको सामना गर्नुपरेको छ । पूर्णबहादुरको मूल संस्थापन, सात भाइ, ७० भाइ र २५ भाइ गरी संस्थापन आज चार टुक्रामा विभाजित भएको छ । स्थगित हुँदै आएको बैठक बिहीबारको लागि राखिएको छ । तर देउवा संस्थापनका अलग–अलग समूहको बैठक बुधबारसम्मै बसेका छन् । सात भाइकै कारण संस्थापन विभाजन भएको चाल देउवाले पाएको एक केन्द्रीय सदस्यले बताए । यी सबैलाई नजिकबाट हेरेरै महामन्त्री थापाले मंगलबार भनेका छन्, ‘तपाईंले ठूलो भरोसा दिनुभएको छ । केही समय लाग्ला, निर्णय थोरै ढिलो होला, तर निर्णय गलत हुन दिन्नौँ । गलत हुने छुट कसैलाई छैन । र, यो पटक हामी झुक्दैनौँ, झुक्किन्नौँ ।’

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।