काठमाडौं । बाबुराम भट्टराई संरक्षकत्वको नेसपा नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान लगायतको एकताबाट ’प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा भएको छ ।
राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहका बीच नयाँ पार्टी गठनको घोषणा भएको हो । नवघोषित पार्टीको चुनाव चिह्न आँखा रहनेछ । साथै, नीलो पृष्ठभूमिमा आँखाअंकित झण्डा रहने घोषणा समेत गरिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो वैचारिक आधारलाई ’विकसित विज्ञानमा आधारित समाज विकासको नवीनतम् सिद्धान्त अनुरूपको नेपाली समाजवाद’ भनेर परिभाषित गरेको छ।
यसले परिवर्तनलाई शाश्वत मान्ने बुद्ध दर्शनलाई आत्मसात् गर्दै मार्क्सको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई समेत परिष्कृत गर्ने लक्ष्य राखेको छ । प्रतिबद्धतापत्र अनुसार, पुरानो वैचारिक विधिले एक्काइसौं शताब्दीका समस्या समाधान गर्न नसक्ने ठहर गर्दै पार्टीले चौथो र पाँचौं औद्योगिक क्रान्तिका उपलब्धिहरू, जस्तै– क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता (एआई) जस्ता ज्ञान–विज्ञानले परिष्कृत मार्क्सवादी दर्शनलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउने उल्लेख गरेको छ ।
यसको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने स्पष्ट पारिएको छ । प्रतिबद्धता पत्रमा मार्क्सवाद शब्दावली परे पनि पार्टीले आफूलाई कम्युनिस्ट भनेको छैन । तर, घोषणा सभामा नेता सुदन किराँतीले कम्युनिस्टको खोल छाडेर गुदीलाई आफूहरूँग राखेको बताएका थिए । पार्टीले आफ्नो संगठनात्मक संरचनामा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने घोषणा गरेको छ । पार्टीका सबै कमिटीहरू स्वायत्त हुनेछन् र आफ्नो नेता वा प्रतिनिधि छनोट आफैं गर्नेछन् ।
जनसंख्या र भूगोलका आधारमा जातजाति, धर्म, क्षेत्र, लिङ्ग र उमेर समूहको समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । पार्टीमा सामूहिक, समानुपातिक नेतृत्व प्रणाली र व्यक्तिगत जवाफदेहिता अनिवार्य हुने र एक व्यक्तिलाई एक कार्यकारी पद तथा एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने, एवं काम गर्न नसक्ने प्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था कार्यान्वयन गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ । पार्टीको संगठन कुनै जागिरे संरचना नभई स्वयंसेवक र अभियन्तामा आधारित हुने घोषणा समेत आइतबार गरिएको छ । पार्टीले देश र नागरिकप्रति विभिन्न सात बुँदामा आफ्ना मुख्य प्रतिबद्धताहरू व्यक्त गरेको छ ।
देशलाई केही वर्षभित्रै अल्पविकसित मुलुकको समूहबाट बाहिर निकाल्ने, १० वर्षभित्र मध्यम आय भएको देश बनाउने र २५ वर्षभित्र विश्वका विकसित मुलुकको हाराहारीमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य पार्टीले निर्धारण गरेको छ । चौतर्फी भ्रष्टाचारको अन्त्य गर्न “भ्रष्टाचारविरुद्ध युवाशक्ति“ (एन्टीकरप्सन युथ फोर्स) गठन गरी शून्य सहनशीलताको नीति अपनाइने पार्टीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, महिला, दलित, मुस्लिमलगायत सबै समुदायको समानुपातिक समावेशी सहभागिता, प्रतिनिधित्व र पहुँच स्थापित गरी ’इन्द्रेणी राष्ट्रियता’ प्रवद्र्धन गरिने उक्त पार्टीले जनाएको छ । देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्दै असमान सन्धिहरूको खारेजी, खुला सीमाको व्यवस्थापन र सबैसँग पञ्चशीलका सिद्धान्तका आधारमा सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
पार्टीको मूल लक्ष्य गरिबी बाँड्ने नभई हरेक नागरिकलाई स्वतन्त्र, धनी, खुसी र सम्पन्न बनाउने उद्देश्यसहितको ’मौलिक समाजवाद’ स्थापना गर्नु रहेको जनार्दन शर्माद्वारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा जनाइएको छ । प्रतिबद्धतापत्रले पुराना दलहरू (नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ऐतिहासिक योगदान गरे पनि सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि गुमाएको, देशलाई भ्रष्टाचार र यथास्थितिमा फसाएको आरोप लगाएको छ । यसै पृष्ठभूमिमा सेप्टेम्बर २०२५ मा भएको ’जेनजी विद्रोह’को बलमा नयाँ राजनीतिक पहलकदमीको आवश्यकता महसुस गरी पार्टी गठन गरिएको दाबी प्रतिबद्धता पत्रमा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































