क्रिकेट उत्सव एनपीएलमा पारदर्शिताको प्रश्न

नेपाली क्रिकेटको विकासका लागि ‘गेम चेन्जर’ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको सफलतापछि अब दोस्रो संस्करण सुरु भइसकेको छ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति भएको छ । त्रिवि मैदानमा खेलाडीहरू पहिलोपटक फ्लडलाइटमूनि खेल्दै छन् । दर्शकहरूले बेलुका ‘फुर्सद’ को समयमा क्रिकेटको मजा लिने अवसर पाएका छन् । नेपाली खेलकुदको उत्सवजस्तै बनेको छ एनपीएल ।

नेपाल क्रिकेट संघ (क्यान) विभिन्न आरोह अवरोह पार गर्दै आफ्नै आयोजनामा अर्बौँको कारोबार हुने फ्रेन्चाइज लिग गर्ने अवस्थामा आइपुगेको छ । सन् १९९६ मा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालले तेस्रोपटक विश्वकपमा चयन हुँदासम्म निकै संघर्ष गरेको छ । क्यान आर्थिक अभाव, व्यवस्थापकीय अनुभवहीनता र राजनीतिक खिचातानी र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिबन्धजस्ता ठक्कर खाँदै इस्पात् बनेर उभिएको छ ।
यो उत्सवका लागि नेपाली खेलाडीहरू जसले विश्वमा नेपालको झण्डा फहराएका छन्, संसारसामु नेपालको गौरव बढाएका छन्, उनको योगदान पनि कम छैन । खेलाडी नै हुन्थेनन् भने त खेल नै कसरी सफल हुन्थ्यो ।

क्रिकेटको बादशाह मानिने छिमेकी टिम भारतमाथि हालै मात्र नेपालले हङकङ सिक्सेसमा सानदार जित हात पार्‍यो । भन्नुको अर्थ यो हो कि एनपीएल सफल हुनुमा यदि आयोजकहरूले मिहिनेत गर्दा गर्दै पनि खेलाडीहरूले गरेको प्रदर्शनले पनि निकै ठूलो भूमिका खेलेको छ, र त्यसमा पनि क्रिकेटप्रेमी आम नेपालीहरूको यो खेलप्रति सद्भावले पनि ।

आईसीसीको पूर्ण सदस्य पनि नरहेको नेपाल संसारभरका एसोसिएट्स टिममध्ये सबैभन्दा सफल टिम हो । दर्शकका हिसाबले आईसीसीका पूर्ण सदस्य टिमभन्दा राम्रो छ । नेपाली क्रिकेटका समर्थकहरू यूएई र ओमानमा मात्र छैनन्, क्यारेबियन मुलुकसम्म पनि पुगिरहेका छन् । त्यसैले त सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा भएको टी–२० विश्वकपमा नेपाली दर्शकको लोभलाग्दो उपस्थितिले आईसीसीसमेत प्रभावित भएको छ । उसले नेपाली क्रिकेटलाई महत्त्व दिइरहेको छ ।

नेपालले क्रिकेटमा पाइरहेको सफलता एकातिर छ, एनपीएलको पहिलो संस्करणमै विश्वभरका क्रिकेट प्रेमीको ध्यानाकर्षण गरेको सफलता पनि छ । सँगसँगै छ, पारदर्शिताको विषय । मैदानमा हुने खेल र व्यवस्थापनलाई एकै ठाउँमा राखेर पारदर्शिताको विषयलाई गोलमोटल गर्न खोजियो भने त्यसले खेलको गुणात्मक र दीर्घकालीन फाइदालाई असर पुर्‍याउँछ । यसको उदाहरण अफ्रिकी मुलुक केन्याको क्रिकेटलाई लिन सकिन्छ ।

कुनैबेला एकदिवसीय विश्वकपको सेमिफाइनलसम्म पुगेर विश्व क्रिकेटमा तहल्का मच्चाएको केन्यालाई अहिले क्रिकेट जगतले बिर्सिसकेको छ । एकदिवसीय र टी–२० विश्वकपको उपाधि जितिसकेको श्रीलंकाको क्रिकेट पनि धराशायी बनेको छ । यी मुलुकको क्रिकेट धराशायी हुनुमा पारदर्शिताको विषय प्रमुख हो र क्रिकेट बोर्डमा भएको भ्रष्टाचार प्रकरण कारक हो भन्ने हामीले बिर्सिनु हुँदैन ।

खेल र व्यवस्थापनलाई अलग अलग राखेर हेर्दा खेलमा फरक पर्दैन, तर भ्रष्टाचारीहरूमाथि कारबाही हुनसक्छ भन्ने उदाहरण छिमेकी मुलुक भारतमा १९औँ संस्करणमा हुन लागेको इन्डियन प्रिमियर लिग (आईपीएल) हो । आईपीएलका कल्पनाकार थिए – ललित मोदी । सन् १९९६ मा भारतमा एकदिवसीय विश्वकपको आयोजनापछि नै उनले युरोपमा हुने फुटबलको लिगजस्तै क्रिकेटको लिग आयोजना गर्ने योजना बनाए । क्रिकेटप्रति पागलपन भएका भारतीय समर्थकका कारण यसले सफलता पाउने उनको विश्वास थियो ।

त्यही विश्वासका साथ उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्डमा पुगे । राजस्थान क्रिकेट बोर्डको अध्यक्ष भइसकेपछि उनले यस सपनालाई कार्यान्वयनमा ल्याए । सन् २००८ मा भारतमा धुमधामका साथ आईपीएल सुरु भयो । ललित आईपीएलका गर्भनर थिए । अहिले आईपीएल खर्बौँको कारोबार गर्ने लिग बनिसकेको छ । एक खेलाडीले दुई महिना हुने प्रतियोगिताका लागि नेपाली रुपैयाँ करिब ४५ करोड पाएका छन् । विश्वभरका क्रिकेट प्रेमी आईपीएलको पर्खाइमा हुन्छन् ।

तर, आईपीएलले उचाइ लिँदै गर्दा यसका परिकल्पनाकार ललित भने भ्रष्टाचार प्रकरणमा मुछिए । उनी आईपीएलमा हुने सट्टेबाजीमा जोडिए । सन् २०१३ मा उनीमाथि क्रिकेट गतिविधिमा आजीवन प्रतिबन्ध लाग्यो । उनी भारतबाट भाग्न बाध्य भए । आईपीएलका परिकल्पनाकार भ्रष्टाचारमा मुछिएर देशै छोड्नुपर्ने अवस्था आए पनि भारतमा आईपीएलको लोकप्रियता घटेको छैन । त्यसको प्रभाव बरकरार छ । यो खेल र व्यवस्थापनलाई अलग राखेर गरिएको अनुसन्धानले सम्भव बनाएको हो । अनुसन्धानमा गरिएको पादर्शिताले सम्भव भएको हो ।

नेपालमा एनपीएलको सुरुवातसँगै प्रश्न उठेका छन् । स्पोन्सरको लगानी, जुवा खेलाउने कम्पनीको विज्ञापन, ब्रोडकास्टिङ राइट्स र विदेशी खेलाडी अनुबन्धको विषय पारदर्शी छैन । आठवटा फ्रेन्चाइज टिमको आम्दानी र खर्चको विषय पनि पारदर्शी छैन । क्यानले यो सबै आर्थिक व्यवस्थापन कसरी गरिरहेको छ ? कसैलाई थाहा छैन । कुन विदेशी खेलाडीले कति रकम पारिश्रमिक पायो, जानकारी दिइएको छैन ।

ब्रोडकास्टिङ राइट्स पाएको स्टार स्पोर्टसले उल्टै क्यानबाट रकम लिएको छ । यसमा नेपाली टेलिभिजन ब्रोडकास्टिङ कम्पनीहरूले प्रश्न उठाइरहेका छन् । योपटक खेल सुरु हुनुभन्दा केही घण्टाअघिसम्म ब्रोडकास्टिङ राइट्सका विषयमा विवाद भयो । ठेक्का प्रक्रिया तोडेर फेरि ठेक्का आह्वान गरियो । यस्तो किन गर्नुपरेको हो ? सरल जवाफ आवश्यक पर्छ । मैदानमा खेलाडीले गरेको प्रदर्शनको छायाँमा क्यानले यी प्रश्नको जवाफ नदिएर बस्ने छुट छैन ।

नेपाली क्रिकेटका प्रशंसक नेपाली त छँदै छन्, हरेक नेपालीको सद्भाव क्रिकेट र खेलाडीको विकासमा टेवा पुर्‍याउने एनपीएलजस्ता प्रतियोगिता भइरहून् । तर, पारदर्शिताबिना भएका यस्ता प्रतियोगिता दुई–चार संस्करणमै हराउने हुन् कि भन्ने भय हुन्छ । साथै, पारदर्शिताका लागि अहिले प्रश्न उठाइएन भने यस्ता प्रतियोगिताहरू यसै गरी चल्दै गएमा, भ्रष्टाचारको अर्को ठूलो उदाहरण खेल नै हुन सक्छ ।

मिति २०८२ मङ्सिर ८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।