ओलीले किन भनिरहेका छन् मलाई पक्राउ गर्न खोजिएको छ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीमाथि गम्भीर आरोप लगाएका छन् । शनिबार एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री कार्कीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गराउने उद्देश्यले विभिन्न निकायमा राजनीतिक हस्तक्षेप बढाएको दाबी गरे ।

ओलीका अनुसार प्रधानमन्त्री कार्कीले सम्पत्ति शुद्धीकरण विभागमा बारम्बार दबाब सिर्जना गर्दै आफूविरुद्ध मुद्दा चलाउन, प्रमाण तयार पार्न र ‘गिरफ्तारीको आधार बनाइदेऊ’ भनी निर्देशन दिँदै आएकी छन् । तर विभाग प्रमुखले कानुनविपरीतको काम गर्न अस्वीकार गरेपछि प्रधानमन्त्रीले उनलाई सरुवा गरी आफ्नो ‘अनुकूल व्यक्ति’ राखेको आरोप पनि ओलीले लगाए ।

कार्यक्रममा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू भन्नु हुन्छ— ‘प्रमाण तयार गर्नुस्, मुद्दा चलाउनुस्, गिरफ्तार गर्नु पर्‍यो।’ तीन–तीन पटक बोलाएर त्यही कुरा गरिन्
। तर विभाग प्रमुखले भने– ‘म गैरकानुनी काम गर्न सक्दिन, झुट्टा प्रमाण तयार पार्न सक्दिन ।’ त्यसपछि प्रधानमन्त्रीले तुरुन्तै उनलाई हटाएर आफू मनपर्ने मान्छे ल्याइन् ।’ ओलीले वर्तमान सरकारले ‘अत्यधिक राजनीतिक प्रतिशोध’का आधारमा निर्णय गर्दै गएको आरोप पनि दोहोर्‍याए । उनका अनुसार राजनयिक मर्यादाबिपरीत राजदूतहरू फिर्ता बोलाइन्, अस्थिरता बढाउने कदम चालिनु र संवैधानिक सीमाभन्दा बाहिरका कार्य गरिनु, यी सबै कदमले सरकारको असंवैधानिक चरित्र प्रस्ट पारेको छ ।

उनले भने, ‘सरकारले गर्नै नहुने काम गर्दैछ । विदेशमा हाम्रो कूटनीतिक छवि बनाएका राजदूतहरूलाई एउटै आदेशमा फिर्ता बोलाइयो। यस्तो काम राजनयिक परम्पराको अपमान हो । देशको प्रतिष्ठा र स्थायित्वलाई चोट पुर्‍याउने निर्णय सरकारले निरन्तर गर्दै छ ।’ अध्यक्ष ओलीले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई ‘अवैधानिक’ भन्दै यस्तो सरकारले अध्यादेशमार्फत गम्भीर निर्णय गर्न नहुने टिप्पणी गरे । उनी भन्छन्, ‘अवैधानिक सरकारले अध्यादेश ल्याउने अधिकार प्रयोग गर्नु संविधानकै अपमान हुनेछ ।’ देशमा भइरहेका राजनीतिक हरेक उतार–चढावबीच ओलीको ताजा आरोपले सत्ता–प्रतिपक्षबीचको तनाव झन् चर्किएको देखिन्छ । प्रधानमन्त्री सत्ता पक्षबाट यसबारे औपचारिक प्रतिक्रिया नआए पनि ओलीले उठाएका मुद्दाले आगामी राजनीतिक बहसलाई थप ताताउने निश्चित देखिन्छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री थिए । त्यति बेला ७५ भन्दा धेरै व्यक्तिको ज्यान गएपछि प्रधानमन्त्रीको हैसियतमा ओलीकै निर्देशनमा भएको घटना भनिँदै आएको छ । ओली मात्रै होइन त्यतिबेलाका गृहमन्त्री कांग्रेस नेता रमेश लेखकमाथि पनि उही आरोप छ । भदौ २४ गते ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमा भागेका थिए । त्यसयता जेनजीका विभिन्न समूहले यस घटनाको दोषी ओलीसहितका नेता रहेको भन्दै उनीहरुलाई पक्राउ गरेर कारबााही प्रक्रिया अघि बढाउन सरकारमाथि दबाब दिइरहेका छन् ।

ओलीसहितलाई पक्राउ नगरेको भन्दै जेनजीकै समर्थनमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याललाई त तिनै जेनजीका प्रतिनिधिले पदबाट राजीनामा दिनसमेत सुझाइरहेका छन् । त्यस्तै जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको समितिले पनि ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यद्यपि ओली उक्त बयानमा जाने सम्भावना भने कम छ । जेनजी आन्दोलनपछि पुराना पार्टीका सबैजसो नेताहरु आत्मालोचना गर्दै नयाँ परिवेशसँगै अघि बढ्ने बताइरहँदा ओली भने उल्टै जेनजीलाई परिचालित भएको आरोप लगाउँदै, सरकारमाथि पनि खनिँदै भाषण गरिहेका छन् । उनले सरकारले आफूलाई पक्राउ गर्नुलाई नै उपलब्धी ठानेको ओलीको भनाइ छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।