एमालेमा देखिएको व्यक्तिकेन्द्रित दौड

नेकपा एमाले ११औँ महाधिवेशनको संघारमा उभिएको छ । जिल्लाबाट प्रतिनिधि छानिइसकेपछि ललितपुरको च्यासलस्थित मुख्यालयमा गतिविधि तीव्र बनेको छ । नेताहरू भविष्यका पदहरूका लागि सक्रिय प्रचारमा छन् भने कार्यकर्ताहरू मनपर्ने नेताको प्रशंसा र प्रतिस्पर्धी पक्षको आलोचनामा व्यस्त छन् । अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि मैदानमा छन्, जहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुला चुनौती दिएका छन् ।

२०७९ को आमचुनावमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरेको एमाले देशको सबैभन्दा ठूलो कम्युनिस्ट दल मात्र होइन, देशभर फैलिएको बलियो संगठन, जनवर्गीय सञ्जाल र लाखौँ सदस्य भएको संरचना पनि हो । २००६ सालमा पुष्पलालद्वारा कम्युनिस्ट पार्टी स्थापना भएपछि विकसित हुँदै आएको यो प्रवाहको प्रमुख घटकका रूपमा एमालेले १० महाधिवेशन पार गरिसकेको छ र अब ११औँतर्फ अघि बढेको छ । जेन जी आन्दोलनपछि संघीय सत्ता गुमाए पनि प्रदेश र स्थानीय तहमा यसको प्रभावमा क्षय आएको छैन ।

यति ठूलो संरचनामा महाधिवेशन हुनु राजनीतिक बहस, वैचारिक समीक्षा र भविष्यको दिशानिर्देश तय गर्ने अवसर हो । तर एमालेभित्र त्यस्तो तत्परता देखिँदैन । यो महाधिवेशन सामान्य समयमा हुँदै गरेको नियमित प्रक्रिया होइन । देश जेन जी आन्दोलनपछि राजनीतिक संक्रमणको कठिन मोडमा छ, फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमाथि आशंका बनेको छ, र आन्दोलनले देखाएका शासनका सवालहरू सम्बोधन गर्दै सुधारको मार्गचित्र बनाउनुपर्ने बेला हो । यस्तो परिस्थितिमा एमालेकै महाधिवेशनले गहिरो मन्थन उत्पन्न गर्ने अपेक्षा थियो ।

तर, आन्दोलनप्रति एमाले नेताहरूको दृष्टिकोण नै समस्या बनेको छ । अध्यक्ष ओलीदेखि महेश बस्नेतसम्मका नेताहरू आन्दोलनलाई विद्रुप बनाउने कोसिसमै देखिन्छन् । आन्दोलन उनीहरूको विरुद्ध होइन—उनीहरूले चलाएको राजनीतिक संस्कृति, अहंकार, नातावाद र जडतामाथि नै लक्षित थियो भन्ने आत्मसमीक्षा पार्टीभित्र लगभग अनुपस्थित छ । स्वीकारोक्तिका स्वरहरू भए पनि ती क्षीण र सुनिन नसक्ने स्तरमा छन् ।
महाधिवेशनमा जेन जी आन्दोलनबारे गम्भीर छलफल हुने अपेक्षा विपरीत, अध्यक्ष ओलीले आफूले एक निर्देशात्मक भाषण गरेपछि महाधिवेशन सकिने संकेत गरेका छन्—यसलाई बहसको क्षेत्र खारेज गर्ने घोषणा नै मानिन्छ । ईश्वर पोखरेलले चुनौती दिएपछि नेतृत्वमा ‘राम्रो प्रतिस्पर्धा’ हुने जस्तो देखिए पनि बहस प्रवृत्ति र नीतिमाथि होइन—व्यक्तिकेन्द्रित समीकरणमा सीमित छ ।

जेन जी आन्दोलनको पूर्वसन्ध्यामा गोदावरीमा गरिएको विधान महाधिवेशनले न नयाँ विचार दियो, न उठेका प्रश्नहरूको जवाफ दियो । युवाहरूको असन्तुष्टिप्रति ओलीले व्यक्त गरेको अझिमानी दृष्टिकोण २४ घण्टा नबित्दै गलत सावित भएको थियो । आन्दोलनका झट्काले देशका संरचनालाई नै हल्लाइदिएपछि अहिलेको महाधिवेशन आत्मालोचन र रूपान्तरणको गहन क्षण बन्नुपर्ने हो । तर एमालेको तयारी हेर्दा महाधिवेशन नेतृत्वलाई निरन्तरता दिने, विधान संशोधनलाई औपचारिकता दिने र केही अनुहार अदल–बदलमा सीमित हुने संकेत स्पष्ट छ ।

राजनीतिक मन्थन र प्रवृत्तिगत परिवर्तनबिना एमालेलाई ‘नयाँ सन्देश’ दिने क्षमता रहँदैन । नेतृत्व जो आए पनि परिणाम उस्तै रहनेछ, यदि पार्टीभित्र यथास्थितिवाद हाबी रहिरह्यो भने । एमालेले व्यक्ति होइन—प्रवृत्ति परिवर्तनको बहस उठाउनैपर्छ । जडता होइन—गतिशीलता प्राथमिकता बन्नुपर्छ । जेन जी आन्दोलनपछि ‘हामीले सिक्यौं, सुधार गर्छौं’ भन्ने सन्देश दिनसक्नुपर्ने हो ।

देशकै ठूलो र संगठित दल भएको दाबी गर्ने एमालेले जिम्मेवारी पनि त्यसैअनुसार लिनुपर्छ । राजनीतिक अवस्थाको वस्तुनिष्ठ मूल्यांकन, भविष्यको कार्यदिशाको स्पष्ट रेखांकन र विवेकपूर्ण बहस–संवादलाई प्रोत्साहन गर्दै यो महाधिवेशनले परिवर्तनको संकेत दिन सके मात्र पार्टी आफ्नो प्रभाव र विश्वसनीयता पुनःस्थापित गर्न सक्छ ।

एमालेपंक्तिमा पनि यही अपेक्षा छ—महाधिवेशन पदसम्बन्धी होड होइन, प्रवृत्ति परिवर्तन र आत्मसुधारको यथार्थोन्मुख यात्रा बनोस् ।

मिति २०८२ मङ्सिर २१ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।