काठमाडौं । नेपालका दुई वटा हात्तीहरू बुधबार कतार उडेका छन् । भैरहवा विमानस्थलबाट कतार एयरको विमान चढाएर उनीहरूलाई कतार लगिएको हो।
२०८१ वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो । त्यसपछि हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्तीहरू कतारलाई दिन छनोट गरिएको थियो । नेपालले अन्य देशलाई हात्ती उपहार दिएको पहिलो पटक हो । यसअघि विभिन्न देशलाई एक सिंगे गैंडा भने नेपालले उपहारका रूपमा पठाएको थियो ।
७ वर्षकी रूद्रकली र ५ वर्षको खगेन्द्र प्रसादलाई खोरमा राखेर जहाज चढाइ बिदा गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए । भैरहवा विमानस्थलमा नेपालले हात्तीहरू कतार सरकारलाई हस्तान्तरण गरेको थियो । कतारले चार्टर विमानमार्फत हात्तीहरू लगेको हो। यसअघि सोमबार खोरसहित हात्तीहरूलाई ट्रक चढाएर चितवन सौराहाबाट भैरहवा पठाइएको थियो । सौराहामा वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई हात्तीहरूलाई बिदा गरिएको थियो । रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्र प्रसादका माउते पाचुखा थारू पनि उनीहरूसँग कतार गएका छन ्। साथमा एक जना भेटेरिनरी प्राविधिकलाई पनि पठाइएको निकुञ्जले जानकारी दियो ।
रूद्रकली र खगेन्द्रप्रसाद दुबैका बाबु जंगली हात्ती रोनाल्डो रहेको रेकर्ड प्रजनन् केन्द्रमा छ । रूद्रकलीलाई पूजाकली र खगेन्द्र प्रसादलाई कोशीकलीले जन्माएका हुन् । पूजाकलीको रूद्रकलीलाई जन्माएको केही समयमा मृत्यु भएको थियो । त्यसपछि रूद्रकलीलाई चितवनकली नामको हात्तीको संरक्षणमा हुर्काइएको प्रजनन् केन्द्रका प्रमुख चौधरीले बताए । खगेन्द्र प्रसादकी आमा कोशीकली प्रशीक्षक हात्ती हुन् । कोशीकली निडर हात्ती भएकाले छावाहरूलाई तालिम दिन प्रयोग गर्ने गरिएको चौधरीले बताए । प्रजनन् केन्द्रमा अहिले ७ छावासहित १६ वटा हात्ती छन् । २०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर प्रजनन् केन्द्र सञ्चालनमा ल्याइएको थियो। त्यतिखेर हात्तीको बदलामा नेपालले भारतलाई ४ वटा एक सिंगे गैंडा दिएको थियो । नेपाललाई थाइल्याण्ड र बर्माले पनि २/२ वटा हात्ती दिएका थिए ।
हालसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ । एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा पनि उपहार दिइएको छ । नेपाल सरकारले हालसम्म चीन, भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रेलिया लगायत देशलाई गैंडा उपहार दिएको छ ।




































