काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागारबाट बुधबार साँझ रिहा भएपछि प्रतिक्रिया दिँदै न्यायको लडाइँ अझै बाँकी रहेको बताएको छ । बिहानैदेखि नै रिहाइको तयारी भइरहेका कारण भैरहवास्थित जिल्ला कारागार परिसरमा समर्थकहरूको भीड लागेको थियो ।
खराब मौसमका कारण काठमाडौँबाट सिधै भैरहवा नआउने भएका लामिछाने चितवन हुँदै सडकमार्गबाट करिब साँझ पौने ६ बजे भैरहवा पुगेका थिए । कारागारको मुख्य गेट बाहिर नारा जुलुस र हुटिङबीच उनी परिवार, रास्वपाका नेता तथा कार्यकर्ताको साथमा बाहिर निस्किएका थिए । बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार अदालतको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया, सर्त र बैंक जमानतको खाताबाट रकम बुझाइसकेपछि कारागार प्रशासनले उनीलाई मुक्त गरेको हो । जमानत र बिगो बापत ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीका रूपमा बुझाइएको अदालतले जनाएको छ ।
कारागार बाहिर निस्किएलगत्तै लामिछानेले संक्षिप्त प्रतिक्रिया दिंदै आफूलाई परेको अन्याय देशले झेलिरहेको अन्यायको तुलनामा केही नभएको दाबी गरे । उनले भने, “न्यायको यो लडाइँ मेरो बाँकी नै छ । मैले अझ धेरै लड्नु छ, र मैले अहिले लड्नुपर्छ । लड्न बाँकी छ भनेको मेरा लागि मात्र होइन, तपाईंका लागि, यो देशको न्यायका लागि लड्नुपर्ने छ । यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन ।” उनले आफू बोल्ने वास्तविक समय आउन बाँकी रहेको बताए । “सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला । आजलाई म यति मात्र भन्छु— हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ,” उनले भने । लामिछाने कारागारबाट बाहिरिएपछि रास्वपाका नेता तथा कार्यकर्ता उत्साहित देखिन्थे । उनकै पक्षमा हुटिङ, नाराबाजी र फूलमाला पहिर्याएर स्वागत गरिएको थियो । यसबीचमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
सहकारी ठगी प्रकरणबारे लामिछानेमाथि लागेका आरोपलाई उनले शुरुदेखि नै अस्वीकार गर्दै आएका छन् । पार्टी र समर्थकहरूले यो मुद्दालाई राजनीतिक प्रतिशोध र चरित्रहत्या गर्न खोजिएको आरोप लगाउँदै आएका छन् । तर सरकारले भने ठगीमा संलग्न जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताउँदै आएको छ । अब लामिछाने धरौटीमा बाहिरिएसँगै मुद्दाको सुनुवाइ अगाडि बढ्नेछ । अदालतमा प्रस्तुत हुने प्रमाण र दाबी प्रतिदाबीका आधारमा दोषी वा निर्दोषबारे कानुनी प्रक्रिया निरन्तर रहनेछ ।
रिहाइपछि लामिछानेको राजनीतिक गतिविधि र सार्वजनिक अभिव्यक्ति कति आक्रमक हुनेछन् भन्ने विषय रास्वपाको आगामी रणनीतिसँग जोडिएको छ । यसबीच सहकारी ठगीका पीडितहरू भने आफ्नो लगानी फिर्ता हुने आशामा अदालत प्रक्रियातर्फ चासोपूर्वक हेरेका छन् । सरकार, अभियोजन पक्ष र नियमनकारी निकायहरूको भूमिकामा पनि सर्वसाधारणको ध्यान रहेको छ । मुद्दा संवेदनशील र सामाजिक रूपमा प्रभाव पार्ने खालको भएकाले आगामी दिनमा यसको विषयमा राजनीतिक तथा कानुनी बहस झन् तीव्र हुने अनुमान गरिएको छ ।
































