म हालसम्म पनि मेरो आफ्नो स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरमै स्वास्थ्यलाभको कामनासहित बेड नम्बर ४५२ मै छटपटी रहेकै छु । र सधैँ सामाजिकसञ्जालमार्फत तपाईँ र तपाईँका सन्तानले गरेको हरेक हर्कत हेरी बसिरहेको छु ।
सम्माननीय जेनजी प्रधानमन्त्री सुसीला कार्की ज्यु लगायत जेठो पुत्रसहित अन्य मन्त्री पुत्र/पुत्री ज्युहरुमा जेनजी सरकारको नेतृत्व गरेको १०० दिन पूरा गर्नु भएकोमा ट्रमा सेन्टरको बेड नम्बर ४५२ क्याबिनबाट म घाइते प्रकाश बोहराको तर्फबाट तपाईँ र तपाईँका पुत्र/पुत्रीको जीवन सुख सयल, लेनदेन, बार्गेनिङ, लिलाम बडाबढसहित बाँकी दिन सम्पन्न होउन् भनी शुभकामना टक्र्याएँ ।
म हालसम्म पनि मेरो आफ्नो स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरमै स्वास्थ्यलाभको कामनासहित बेड नम्बर ४५२ मै छटपटी रहेकै छु । र सधैँ सामाजिकसञ्जालमार्फत तपाईँ र तपाईँका सन्तानले गरेको हरेक हर्कत हेरी बसिरहेको छु । अब त तपाईँहरुलाई प्रश्न गर्ने मन पनि छैन ।
छ त केबल पश्चाताप र आफ्नो सन्तानको चिन्ता बस । अब अरु केही आशा बाँकी रहेन । जे का लागि ज्यानको बली चडाइयो, त्यो त अब केबल कल्पनामै सीमित रह्यो । किनकि तपाईँका सन्तानले नारायण गोपालको गीत उडायो सपना सबै हुरीले भने जस्तो बनाइसके, तिम्रा सन्तानलाई शुभकामना ।
मैले धेरैपटक मेरो जुत्ताको बारेमा अली अली झक्झकाइरहेँ, तर सुनुवाइ नभएपछि आज लेख्न बाध्य भएको छु । मैले मेरो परिचय अब दिई राख्नुपर्छ भन्ने लाग्दैन, त्यसैले म अब विषयमा नै गर्छु । म एक सामान्य परिवारको सन्तान र मैले आफ्नो जिम्मेवारी र नयाँ चेतनाका साथ आफ्नो र आफ्नो परिवारको भविष्य बनाउन भनी मेहनत गर्दा पनि गन्तव्य पहिल्याउन नसक्दा मैले आफ्नो निर्णय परिर्तन गरी वैदेशिक रोजगारीमा जाने सोच गरेँ । कल्पना सपना सबै यही थन्क्याउँदै आफ्नो मनलाई कठोर बनाउँदै भरखरै बिहे गरेकी आफ्नी जीवन सङिनीलाई केही आशा, केही सपना, केही साचो र केही झुटो मिठास बाँडदै अध्यन गर्न भन्दै आफ्ना रहरका पोका जीबन सङिनीको जिम्मा लगाउँदै आफूलाई माया गर्ने बा–आमा, आफ्ना आफन्त सबैको मायाको पोको आशीर्बादको रुपमा ग्रहण गरी मनभित्र कोसेली सम्झेर अध्यन गर्न भन्दै म रोजगारीका लागि रसीया (रुस) हानिएँ ।
म रोजगारीमा जाँदा मेरो वंश मेरो सन्तानको मेरी जीवन सङिनीसँग भ्रुणको जिम्मा लगाएर गएको थिएँ । म कति कठोर मन लिएर गएको थिएँ होला ? अब आफैँ कल्पना गर्नुस् । यी सबैको उद्देश्य एउटै थियो, देशमाबेरोजगारको समस्या र परिवार र सन्तानको भविष्यका लागि । तपाईँ र तपाईँका सन्तानले लिलाम गरेको गतिलो जुत्ता लगाउनु थियो । म फर्किएँ आउँदा मेरो सन्तान ११ महिनाको भइसकेको थियो । आफ्नो जीवन संगिनी र आफ्नो कलिलो सन्तानसँग केही समय बिताएपछि पुनः वैदेशिक रोजगारीमा जानुपर्ने पीडा देशको भ्रष्टाचारको जालोमा अडकिएको देश देखेर मन विरक्त भएको बेला जेनजी अभियान मेरो लागि एउटा आशाको त्यान्द्रो भएर आयो ।
तर आज यो लेख्दै गर्दा यो केबल एक नाटक मञ्चन रहेछ । म र मेरा थुप्रै साथी यो नाटक मञ्चनको नसामा लठ्ठिएका छौँ । यसैमा पर्छ मेरो जुत्ताको कहानी । मेरो जुत्ता पनी त्यो आन्दोलनको एक बाहक बन्यो, त्यो जुत्ताले जेनजी आन्दोलनमा जान मलाई भरमग्दुर साथ दियो । जुन जुत्ता रसियाको गोला बारुद र ड्रोनबाट बर्साइएका गोली छल्दै बचेको ज्यानले कमाएको मिहिनेतको फलबाट किनको जुत्ता थियो । त्यही भएर जुत्ताले मलाई साथ दिइरहेको थियो । सबै ऊर्जा त्यही जुत्तामा थियोे र त्यो जुत्ता पनि तपाईँहरुको नाटकको नसामा लठ्ठिएर बेपत्ताको लिस्टमा नामाकरण भएको छ ।
धेरै सङ्कट पार गरेर स्वदेश फर्कीएपछि काठमाडौंदेखि आफ्नो घर दैलेख जाने क्रममा जीवन सांगिनीको रोजाइमा नेपालगञ्जको एक पसलमा खरिद गरिएको थियो, त्यो जुत्ता । त्यही जुत्ताले भदौ २३ गतेको जेनजी आन्दोलनको त्यो नेतृत्व निर्जीब जुत्ताले गर्यो । आन्दोलनको तागत बन्यो । आज जुत्ता र म एउटै अवस्थामा छौँ । ाज जुत्ता र म एउटै बन्यौ, केबल प्रयोग र लथालिङ्गको अवस्था । यसकै लागि थियोे सबै यो नौटंकी ? आज तपाईँहरुमा वैदेशिक रोजगारीमा पठाउन तछाडमछाडको खेल सुरु भएको छ । सम्पत्ति विवरण तपाईँहरु लुकाउँदै हुनुहुन्छ । त्यो बेलाको नेपो बेबीको नाटक मञ्चन थियो ? जेनजी आमा र तपाईँका मन्त्री सन्तानका सन्तानहरु सबै अमेरिकामै मोजमस्तीमै छन् । अनि अब हाम्रा सबै साथीको अवस्था अब त्यो जुत्ताको जस्तै कथामै सीमित हुने भयो ? जेनजी प्रधानमन्त्रीज्यु तपाइँप्रति थुप्रै प्रश्न छन् ॥ जसको कुनै उत्तर छैन, सबै अनुउत्तरित छन् ।
म घाइते भएको दिनदेखि आजसम्म मेरो जीबन संगिनी मेरो लागि एउटा हातमा खानाको भाँडो र अर्को हातमा आफ्नो श्रीमान् विदेश भएको बेला बडो जतनको साथ जोगाएर जन्म दिएको आफ्नो र मेरो सन्तान अर्को काखमा च्यापेर बिहान र बेलुकी मेरा लागि खाना बोक्दै काठमाडौंमा भौतारिँदै मेरो स्वास्थ्यलाभको कामना गर्दै छिन् । र मेरो सन्तान आज १८ महिनाको भयो । मेरो श्रीमतीले किनिदिएको जुत्ता लिलाम हुँदा अब मसँग मेरो जीवन सङिनीलाई र मेरा आफन्तलाई दिने मसँग न यश्को प्रश्न छ न उत्तर छ । म अलपत्रै छु जुत्ता जस्तै । मेरो सन्तानले भोलि यसको जवाफ माग्नेछन्, मसँग केही जवाफ छैन । तर हेक्का रहोस्, मेरो सन्तानले तपाईहरुसँग उत्तर खोज्नेछन्, जुन प्रश्नले तपाईँ र तपाईँका पुत्र/पुत्रीलाइ लखेटी रहनेछ । लिलाम भएको मेरो जुत्ताले तपाईँहरुलाईँ सपनामा पनि लेखेटनेछ ।
त्यो बेला जुत्ता लिलाममा सामेल भएकाहरुलाई निद्रा पनि लाग्ने छैन । आज मन्त्री पद लिलाम बडाबड भएको खबर सुन्दै छौँ । सरुवा बढुवामा दोहोरी चलेको खबर सुन्दै छौँ । प्रश्नहरु आइहरनेछन् । तपाईहरु भाग्न पाउनुहुने छैन । यसको जवाफ त दिनै पर्नेछ । हाम्रो आवाजलाई बन्द गर्ने दबाउने र अन्त्य गर्ने चेस्टा नहोस्, न्याय चाहिन्छ । हस् जेनजी प्रधानमन्त्रीज्यु ।
(जेन जी आन्दोलनका क्रममा रक्ताम्य जुत्ता भाइरल भएको थियो, जुन दैलेखका प्रकाश बोहोराको हो ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































