एक खेल अगावै न्युजिल्यान्डलाई वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला

काठमाडौं । न्युजिल्यान्डले वेस्ट इन्डिजमाथि पूर्ण वर्चस्व कायम गर्दै तीन खेलको टेस्ट शृंखला २–० ले जितेको छ । सोमबार बे ओभल, माउन्ट माउङ्गानुईमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ३२३ रनले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो ।

अन्तिम दिन वेस्ट इन्डिजको ब्याटिङ पूर्ण रूपमा धराशायी भएपछि न्युजिल्यान्डले सहज जित दर्ता गर्‍यो । ४६२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ४३–० बाट खेल पुनः सुरु गरेको थियो। सुरुवात राम्रो देखिए पनि उनीहरू लन्चअगाडि र पछाडि लगातार विकेट गुमाउँदै ८७–० बाट १३८ रनमै अलआउट भए । वेस्ट इन्डिजले जम्मा ५१ रन जोड्दा १० विकेट गुमाएको थियो । चिया ब्रेकपछि केहीबेरमै खेल समाप्त भयो ।
न्युजिल्यान्डका लागि तीव्र बलर ज्याकोब डफीले घातक बलिङ गर्दै ५ विकेट लिए ।

उनले ४२ रन खर्चेर ५ विकेट लिँदै खेलको लय पूर्ण रूपमा न्युजिल्यान्डतर्फ मोडे। स्पिनर अजाज पटेलले पनि ३ विकेट लिए । पाँचौं दिन पिच निकै बिग्रिएको थियो । बल तीव्र रूपमा टर्न हुनुका साथै असमान उछाल देखिँदा चौथो इनिङ्समा ब्याटिङ गर्न अत्यन्तै कठिन भएको थियो। यही अवस्थाको न्युजिल्यान्डका बलरहरूले उत्कृष्ट फाइदा उठाए ।

डफीले यस टेस्ट शृंखलामा कुल २३ विकेट लिए । यससँगै उनी एकै वर्षमा सबैभन्दा धेरै विकेट लिने किवी खेलाडी बनेका छन् । उनले यसअघि सर रिचर्ड हाड्लीको नाममा रहेको कीर्तिमान तोडेका हुन् । विशेष रूपमा यस टेस्टका लागि टिममा समावेश गरिएका अजाज पटेलले निरन्तर दबाब सिर्जना गर्दै महत्त्वपूर्ण भूमिका खेले ।

वेस्ट इन्डिजका लागि ब्रान्डन किङले अर्धशतकसहित सर्वाधिक ६७ रन बनाए । तर अन्य ब्याटरहरू पूर्ण रूपमा असफल रहे । आठ जना ब्याटर दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कप्तान रोस्टन चेसले तेस्रो टेस्टमा २ र ५ रन मात्र बनाए । सम्पूर्ण शृंखलामा उनले जम्मा ४२ रन बनाए र केवल तीन विकेट लिए । खेलपछि चेसले आफ्नो प्रदर्शनलाई निराशाजनक भन्दै आफूले टिमलाई निराश पारेको स्वीकार गरे ।

यसअघि न्युजिल्यान्डले पहिलो इनिङ्समा डेभन कोन्वे (२२७) र टम ल्याथम (१३७) को शतकीय योगदानमा ५७५ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले केभिन होजको अविजित १२३ रनको मद्दतमा ४२० रन बनाएको थियो। पहिलो इनिङ्सपछि न्युजिल्यान्डले १५५ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा न्युजिल्यान्डले ३०६–२ मा घोषित गर्दा कोन्वेले १०० र ल्याथमले १०१ रन बनाए । ल्याथम र कोन्वे टेस्ट क्रिकेटको इतिहासमै दुवै इनिङ्समा शतक बनाउने पहिलो ओपनर जोडी बने । कन्वे एउटै टेस्टमा डबल शतक र शतक बनाउने टेस्ट इतिहासका १०औँ ब्याटर पनि बने ।

खेलपछि न्युजिल्यान्डका कप्तान टम ल्याथमले टोलीको प्रदर्शनको खुलेर प्रशंसा गरे। उनले टस जितेर पहिले ब्याटिङ गर्दै ठूलो स्कोर बनाउनु र त्यसपछि बलिङमा देखाएको आक्रामकता नै जितको आधार बनेको बताए ।

यो जितसँगै न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा अस्ट्रेलियापछि दोस्रो स्थानमा उक्लिएको छ । पहिलो टेस्ट ‘ड्र’ मा सकिएको थियो भने दोस्रो टेस्टमा न्युजिल्यान्ड ९ विकेटले विजयी भएको थियो ।
न्युजिल्यान्डको समग्र टोली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैमा देखिएको सन्तुलनले वेस्ट इन्डिजमाथि स्पष्ट दबदबा कायम गरेको यस शृंखलाले प्रमाणित गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।