रास्वपा–बालेनबीच एकता वार्ता कहाँ रोकियो ?

काठमाडौं । निरन्तर संवादमा रहँदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको वार्ता हाल आएर रोकिएको छ ।

पछिल्ला दिनहरूमा लगातार छलफलमा रहेका उनीहरूबीच शनिबार निर्णायक सहमति जुटाउने तयारी भए पनि प्रत्यक्ष संवाद हुन नसकेपछि वार्ता तत्कालका लागि अवरुद्ध बनेको स्रोतले जनाएको छ । बिहीबार र शुक्रबार बालेन र रविबीच निरन्तर छलफल भएको थियो ।

ती छलफलमा ऊर्जा मन्त्रीसमेत रहेका कुलमान घिसिङलाई समेत समेटेर अघि बढ्ने विषयमा गम्भीर रूपमा कुरा भइरहेको थियो । शनिबार वार्तालाई टुंग्याउने भनिए पनि दुवै पक्षबीच भेटघाट हुन सकेन । वार्ताको संयोजनमा संलग्न स्रोतका अनुसार शनिबार संवाद प्रत्यक्ष भेटमा नभई टेलिफोन कुराकानीमा मात्रै सीमित भएको छ ।

“केही घण्टादेखि वार्ता औपचारिक रूपमा रोकिएको अवस्था छ,” स्रोतले भन्यो, “बालेन, रवि र कुलमानबीच अहिले फोनमार्फत मात्र संवाद भइरहेको छ ।” सहमति नजुट्नुको मुख्य कारण समानुपातिक उम्मेदवारको हिस्सा र एकताको ढाँचामा मतभेद रहेको बताइएको छ । रास्वपा सभापति लामिछानेले पार्टीभित्र पहिल्यै धेरै आकांक्षी रहेकाले समानुपातिक उम्मेदवार सूची ७०–३० को अनुपातमा बनाइनुपर्ने प्रस्ताव अघि सारेका थिए । उनले आवश्यक परे उक्त अनुपातमा छलफल गरेर तलमाथि गर्न सकिने लचकता पनि देखाएका थिए ।

तर, बालेन शाहले भने आफू, कुलमान घिसिङ र जेन–जी समूहलाई समेटेर समानुपातिक हिस्सा आधा–आधा हुनुपर्ने अडान राखेको स्रोतको भनाइ छ । यस विषयमा सहमति नजुटेपछि रविले ६०–४० को प्रस्ताव दोहोर्‍याउँदै आएको बताइएको छ । स्रोतका अनुसार रविले बालेनसँग “प्रधानमन्त्री र वरियताको कुरा त भनिसकेको छु, अहिलेलाई यति गरेर एकता गरौं” भन्दै सहमतिका लागि आग्रह गरेका थिए । उनले आवश्यकता परे ६०–४० को विषय सार्वजनिक रूपमा नउठाई अघि बढ्न सकिने संकेतसमेत दिएका थिए ।

कुलमान घिसिङलाई एकताको दोस्रो चरणमा समेट्ने विषयमा रविले पटकपटक आग्रह गरे पनि बालेन भने त्यसमा सहमत देखिएका छैनन् । बालेनले कुलमान र जेन–जी समूहलाई छाडेर वर्तमान परिस्थितिमा अघि बढ्न नसकिने स्पष्ट रूपमा बताएका छन् । “कुलमानलाई कसरी मिलाउने भन्ने मेरो जिम्मा हो, तर उहाँलाई र जेन–जीलाई सँगै लिएर जानुपर्छ,” बालेनले रविसँग भनेको स्रोत उद्धृत गर्छ । स्रोतका अनुसार, रविसँग एकताको प्रक्रिया अघि नबढेमा बालेन पक्षले वैकल्पिक तयारी पनि अघि बढाइसकेको छ । समानुपातिक उम्मेदवारको सूची बुझाउने गरी काम भइसकेको बालेनका कोर टिमका एक सदस्यले बताएका छन् । “यदि यो प्रक्रिया अघि बढेन भने हामी आफ्नै सूची लिएर जान तयार छौं,” उनले भने । बालेनकै सुझावमा ‘देश विकास पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सोही पार्टीको नाममा समानुपातिक सूची बुझाउने तयारी रहेको स्रोतको दाबी छ । बालेन भने रास्वपा र कुलमान दुवैसँग समानान्तर रूपमा संवाद अघि बढाउँदै जेन–जी समूहलाई पनि सँगै लैजाने रणनीतिमा रहेको बताइएको छ । तर, केही प्रक्रियागत र हिस्सेदारीसम्बन्धी विषय नमिल्दा सहमति टुंगिन नसकेको बालेन टिमसँग नजिक रहेका एक सदस्यले जानकारी दिए ।

शनिबार निर्णायक वार्ता हुन नसकेपछि कुलमान घिसिङ नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठक पनि बसेको थियो । उक्त बैठकले रास्वपाबाट आएको प्रस्तावप्रति आपत्ति जनाएको बताइएको छ । विशेषगरी पार्टीको नाम, नेतृत्व, चुनाव चिन्ह र भूमिकासम्बन्धी विषयमा रास्वपाको प्रस्तावप्रति असन्तुष्टि देखिएको स्रोतले जनाएको छ ।

“पार्टी सभापति, प्रधानमन्त्री, पार्टीको नाम र चुनाव चिन्ह सबै छाडेर कसरी एकतामा जान सकिन्छ ?” पार्टीका एक नेताले भनेका छन् । यसैबीच, बालेन शाहका स्वकीय सचिव भूपदेश शाहले परस्पर सम्मान र समान सहभागिताको आधारमा मात्रै वार्ता अघि बढ्न सक्ने बताएका छन् । “हामी समानता र परस्पर सम्मानको आधारमा संवाद गर्न चाहन्छौं,” उनले भने, “यसअघि विभिन्न एजेन्डामा छलफल भए पनि समान सहभागीताको विषय पर्याप्त रूपमा उठ्न सकेको थिएन । अब ती विषयलाई पनि समेटेर छलफल अघि बढाइँदैछ ।” उनका अनुसार वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन सबै पक्ष अझै संवादमै छन् । तर, हालसम्म ठोस सहमति नजुट्दा बालेन, रवि र कुलमानबीचको सम्भावित राजनीतिक सहकार्य अनिश्चित बनेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।