काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख ३ दलका शीर्ष नेतालाई अब कुनै अलमल नगरेर चुनाव सफल पार्न आग्रह गरेकी छिन् । चुनावी तयारीबारे छलफल गर्न कार्कीले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै यस्तो आग्रह गरेकी हुन् । ‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ,’ उनले भनिन्, ‘यो हामी सबैको जिम्मेवारी हो ।’
बैठकको सुरुवातमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ । यो घर तपाईँहरूकै हो ।’ आफू न्याय क्षेत्रबाट आएको स्मरण गराउँदै उनले राष्ट्रपतिबाट निर्वाचन गराउने कार्यादेश पाएपछि सरकार पूर्ण रूपमा चुनावको तयारीमा जुटेको स्पष्ट पारिन् । ‘प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु,’ कार्कीले थपिन् ।
निर्वाचन सफल पार्न सबै दलको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उनले भनिन्, ‘यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ ।’ निर्वाचनप्रति सकारात्मक वातावरण बनिरहेको भन्दै कार्कीले आफूले ३ वटै दलका नेता चुनवाको तयारीमा लागेको थाहा पाएको बताइन्। ‘तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने मैले देखेकी छु, यो स्वागतयोग्य छ,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको जानकारी नेताहरुलाई दिनइन् ।
‘हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ,’ कार्कीले भनिन्, ‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा यहाँहरूले पनि महसुस गर्नुभएकै होला ।’ त्यस्तै बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनमा जान तयार रहेको बताएका छन् । सबै राजनीतिक दल निर्वाचनमा जान तयार भए पनि चुनावको वातावरण बन्न नसकेको उनले उल्लेख गरे । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । सभापति देउवाले भने, “सबै पार्टीहरू चुनावमा जान तयार छन् । कांग्रेसलगायत सबै पार्टी तयार छन् । तर, वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्यो । एमाले पनि तयार छ ।”
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ मा प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी हुन् । आन्दोलन हुँदा प्रधानमन्त्री पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । आफू जेनजीको रोजाइमा परेर प्रधानमन्त्री भएर आएकी कार्कीले शीर्ष नेताको अनुहारसमेत नहेर्ने भन्दै छलफलका लागि तयार नभएको सन्देश दिएकी थिइन् ।
त्यस्तै सरकारले ओलीलाई स्थान हद तोकेर कतै जान पनि बन्देज लगाएको छ । तर, फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन मिति तोकिएको छ । दलहरु समानुपातिक उम्मेदवारको बन्द सूची तयार पार्दैछन् । आयोग पनि तयार रहेको सन्देश दिइरहेको छ । तर दलहरुले सुरक्षाको प्रत्याभूतिको कुरा उठाउँदै निर्वाचनमा जान तयार भए पनि त्रास कायमै रहेको बताउँदै आएको थिए । यहीबीच प्रधानमन्त्रीले शनिबार शीर्ष नेतृत्वसँग छलफल गरेकी हुन् । यसअघि राष्ट्रपतिले पनि तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई शितलनिवासमा बोलाएर छलफल गरेका थिए ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































