काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश लागू गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सुरक्षा अवस्था नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको प्रशासनले जनाएको छ।
जारी कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक आयोजना गर्न वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।
प्रशासनका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रभित्र कर्फ्यु लागू गरिएको छ। उक्त क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा निकायलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको छ। वीरगञ्जमा पछिल्लो समय उत्पन्न विवाद र त्यसपछि देखिएको अशान्त अवस्थाका कारण स्थिति तनावग्रस्त बनेको प्रशासनको भनाइ छ। शान्ति सुरक्षामा गम्भीर चुनौती देखिएपछि कर्फ्यु आदेश जारी गर्नु परेको बताइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। तर निषेधाज्ञापछि पनि अवस्था थप जटिल बन्दै गएपछि प्रशासनले थप कडा कदमका रूपमा कर्फ्यु आदेश लागू गरेको हो। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सुरक्षाकर्मीलाई सहयोग गर्न र शान्ति कायम राख्न अपिल गरेको छ।
साथै अफवाह फैलाउने वा उक्साउने खालका गतिविधिमा संलग्न नहुन पनि आग्रह गरिएको छ। वीरगञ्जमा कर्फ्यु लागू भएसँगै सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने संवेदनशील स्थानहरूमा कडा निगरानी राखिएको छ। स्थिति नियन्त्रणमा ल्याउन प्रशासन, प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय भइरहेको जनाइएको छ। प्रशासनले अवस्था सामान्य भएपछि कर्फ्यु आदेश फुकुवा गर्ने जनाएको छ। हालसम्म कर्फ्यु अवधिलाई बढाउने वा थप आदेश जारी गर्नेबारे भने कुनै निर्णय भएको छैन।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।
































