काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानको आयातमा ट्यारिफ बढाउने चेतावनी दिएका छन् । सोमबार ट्रम्पले रुसी तेलको मुद्दामा भारतले सहयोग नगरे भारतीय सामानको आयातमा हालको ट्यारिफ बढाउन सक्ने चेतावनी दिएका हुन् ।
भारतको रुससँगको तेल व्यापारतर्फ संकेत गर्दै ट्रम्पले आफ्नो प्रशासनले लामो समयदेखि यसमा विरोध गर्दै आएको बताए । गत अगस्ट २०२५ मा भारतमाथि ५० प्रतिशतसम्म ट्यारिफ बनाउने कारण पनि यही रहेको बताएका थिए । ट्रम्पले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नाम उल्लेख गर्दै उनलाई राम्रो मानिस भन्दै अमेरिकी राष्ट्रपति आफू खुसी नभएको कुरा उनीहरूलाई थाहा भएको बताए । ट्रम्पले भने, “भारतीय प्रधानमन्त्री मोदीले म खुसी छैन भन्ने थाहा पाइसकेका थिए र मलाई खुसी बनाउनु महत्त्वपूर्ण थियो । उनीहरूले व्यापार जारी राखे भने हामी उनीहरूमाथि ट्यारिफ छिट्टै बढाउन सक्छौँ ।”
मोदीले यस्तो भन्दै गरेको अडियो ह्वाइट हाउसले सेयर गरेको थियो । रोयटर्सले ट्रम्पलाई उद्धृत गर्दै भनेको छ, “यदि उनीहरूले रुसी तेलको मुद्दामा सहयोग गरेनन् भने हामी भारतमाथि ट्यारिफ बढाउन सक्छौँ ।” राष्ट्रपतिले यी टिप्पणीहरू भेनेजुएलाका नेता निकोलस मादुरोको गिरफ्तारीपछि अमेरिकाको अर्को कदमहरूको रूपरेखा बताउने एक ब्रिफिङका क्रममा गरेका थिए । दक्षिण अमेरिकी देशमाथि हालै भएका हमलाहरूमा पनि तेल मुख्य कारण भएको बताइएको छ । ट्रम्पको यो नयाँ ट्यारिफ वृद्धिको चेतावनी भारत र अमेरिकाबीच चलिरहेको व्यापार वार्ताका बीच आएको हो । ट्रम्पले यसअघि भारतले रुसी तेल खरिद बन्द गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आश्वासन दिएको दाबी गरेका थिए । उनले अक्टोबरमा मोदीसँग भेटेर पाएको आश्वासनपछि भारतले अब रुसबाट तेल किन्न बन्द गर्ने बताएका थिए । यो भनाइ भारतीय आयातमा ५० प्रतिशत ट्यारिफ लागू भएको केही हप्तापछि आएको थियो ।
यद्यपि, भारतले ट्रम्पको दाबीलाई खण्डन गर्दै मोदी र ट्रम्पबीच यस्तो कुनै कुराकानी नभएको बताएको थियो । ट्रम्प प्रशासनले रुसी तेलको मुद्दामा आफ्नो विरोध जारी राखेको छ भने भारतले यससम्बन्धी नीतिहरू बजारको उपलब्धता र भारतीय उपभोक्ताहरूको आवश्यकताबाट निर्देशित हुने बताउँदै आएको छ । यो मुद्दामा ट्रम्पका नयाँ टिप्पणीहरूले भारत र अमेरिकाबीच कूटनीतिक सम्बन्धमा नयाँ तनाव निम्त्याउन सक्ने बताइएको छ । रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो । ट्रम्प प्रशासनका धेरै अधिकारीहरूले रुसले यो तेल व्यापारबाट प्राप्त आय युक्रेनमा युद्धका लागि प्रयोग गर्ने गरेको आरोप यसअघि लगाएका थिए । साथै भारतले पनि रुसी तेल फेरि बेचेर अर्बौं डलर कमाइ गरिरहेको आरोप लगाइएको छ । ट्रम्पद्वारा भारतमाथि भारी ट्यारिफ लगाउने कदमलाई मुख्य रूपमा पुटिनमाथि युक्रेन आक्रमण रोक्न दबाब दिने रणनीतिका रूपमा हेरिएको थियो ।
अगस्ट २०२५ मा अमेरिकाबाट भारतीय वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ लागेपछि निर्यात क्षेत्रमा ठूलो झट्का लागेको बताइएको छ । अमेरिकातर्फ हुने करिब ४८–५० अर्ब डलरको निर्यात प्रभावित भयो, जुन कुल निर्यातको १८–२० प्रतिशत हो । सबैभन्दा बढी असर कपडा, छाला, आभूषण, सी–फुड र अटो पाट्र्स क्षेत्रमा परेको छ । यसका कारण भारतको जीडीपी वृद्धिदरमा ०.३–१ प्रतिशत कमी आएको, प्रारम्भिक चरणमै निर्यात गिरावट २० प्रतिशतभन्दा माथि पुगेको तथा घरेलु र साना उद्योगमा रोजगारीको जोखिम देखापरेको बताइएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।
































