काठमाडौं । नेपालमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था बन्दै गएसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको दिल्ली दौड सुरु भएको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक गठबन्धन, तालमेल र राजनीतिक समीकरणको गृहकार्य तीव्र भइरहेका बेला नेताहरूको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
गत साता मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँदिल्ली पुगेर स्वदेश फर्किएका थिए। दिल्लीमा विभिन्न राजनीतिक भेटघाट गरेका भट्टराईले फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतलाई मिलाउने भूमिकामा सक्रियता बढाएका थिए। ललितपुरको ज्वागलमा भएको राजनीतिक वार्तामा पनि बाबुराम सहभागी भएका थिए। दिल्ली भ्रमणपछि उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय देखिन थालेपछि अन्य नेताहरूको पनि भारततर्फको आवागमन बढेको छ।
यही क्रममा पछिल्लो पटक आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली पुगेका छन्। उनी आइतबार बिहान नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग करिब आधा घण्टा संवाद गरेपछि दिल्ली प्रस्थान गरेका थिए। प्रचण्डको दिल्ली भ्रमणलाई औपचारिक रूपमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ लाई सम्बोधन गर्ने कार्यक्रमसँग जोडिएको बताइएको थियो।
तर दिल्ली पुगेपछि प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको खुल्न आएको छ। स्रोतका अनुसार डोभाल प्रचण्ड बसेको होटलमै पुगेका थिए र दुईजनाबीच करिब एक घण्टा लामो वार्ता भएको थियो। यद्यपि उक्त भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर नेपालको आन्तरिक राजनीतिक अवस्था, आगामी निर्वाचन र क्षेत्रीय विषयहरू छलफलको केन्द्रमा रहेको अनुमान गरिएको छ।
प्रचण्ड दिल्लीमा व्यस्त रहेका बेला नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि भारततर्फ प्रस्थान गरेकी छन्। डा. देउवा सोमबार दिउँसो २ बजे दिल्ली पुगेकी हुन्। उनी भारत किन गइन् भन्ने विषयमा औपचारिक जानकारी दिइएको छैन। तर स्रोतका अनुसार उनले पनि नयाँदिल्लीमा राजनीतिक भेटघाट गर्ने तयारी गरेकी छन्। यसले ठूला दलका नेताहरू एकै समयमा दिल्ली केन्द्रित हुनुको कारणप्रति थप चासो बढाएको छ।
नेपालमा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते सम्भावित प्रतिनिधिसभा निर्वाचनलाई लिएर कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन वा तालमेलको गृहकार्य चलिरहेको छ। यी तीन दलबीच द्विपक्षीय वा त्रिपक्षीय गठबन्धनका विभिन्न विकल्पमा छलफल भइरहेको समयमा शीर्ष नेताहरूको दिल्ली दौड सुरु भएको हो। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा पुराना दलविरुद्ध नयाँ शक्तिहरूको बलियो मोर्चा बन्दै गएको सन्दर्भमा ठूला दलहरू आन्तरिक र बाह्य समर्थन सुदृढ गर्न सक्रिय भएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। यही कारण चुनावी समीकरण मिलाउने र रणनीतिक परामर्श लिने उद्देश्यले भारत भ्रमणलाई तीव्र बनाइएको अनुमान गरिएको छ।
यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि हाल दिल्ली यात्रामा रहेको खुलेको छ। नाताले दाजु पर्ने नेकपा संयोजक प्रचण्ड सोमबार दिउँसो प्रवासी नेपालीको सभालाई सम्बोधन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ। आगामी निर्वाचन नजिकिँदै जाँदा एकपछि अर्को गरी शीर्ष नेताहरूको दिल्ली भ्रमणले नेपालको राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ। यी भ्रमणहरूले भावी सत्ता समीकरण, गठबन्धन र चुनावी रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई लिएर चासो बढ्दै गएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































