मानव संवेदना र सिमान्तकृत आवाजको कथाः ‘कायरा’ लोकार्पण सम्पन्न

काठमाडौं । आख्यानकार सविता खनालको कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह हालै सम्पन्न भएको छ । लोकार्पण धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा सम्पन्न भएको थियो ।

कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशन तथा चर्चित आख्यानकार घनश्याम खड्काले गरेका थिए । स्थापित बालसाहित्यकार रामदेव पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा महाकाव्यकार डा. नवराज लम्साल रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कायरा उपन्यासले नेपाली साहित्यमा सिमान्तकृतका मुद्दा , भुइँमान्छेको मुद्दा अनि मानवभित्रको संवेदनालाई सशक्त रूपमा उठाएकोमा खुशी व्यक्त गरेका थिए ।

कृति विमोचनपछि बोल्दै लेखिका सविता खनालले कायरा लेख्दाको अनुभवलाई सुनाएकि थिइन् । जीवनका जटिलता , अनुभूतिजन्य विषय र आत्मसंघर्षलाई प्रस्तुत गर्ने कुरामा आफू प्रेरित रहेको लेखिकाको भनाइ रहेको थियो ।

कार्यक्रममा साझा प्रकाशनका सदस्य जयन्ता पोखरेल, राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) ले पनि कृतिको समिक्षात्मक परिचर्चा र कृतिकारको प्रसंशा गरेका थिए ।

कार्यक्रममा अन्य वक्ताका रूपमा ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युमिसा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त लगाएतको उपस्तिथि थियो । यस्तै कार्यक्रममा साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कायरा फरक विषयको उपन्यास हो । मानव मनमा लुकेका संवेदना, साहस र आत्मसंघर्षका कथाहरूलाई उजागर गर्ने उपन्यास कायराले जीवनका सूक्ष्म प्रश्नहरूसँग पाठकलाई साक्षात्कार गराउने प्रयास गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।