कांग्रेस विशेष महाधिवेशन : दुवै महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रले पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनासम्बन्धी दुई महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्तावहरू मंगलबार सम्पन्न बन्दसत्रबाट औपचारिक रूपमा अनुमोदन भएका हुन्। बन्दसत्रको पहिलो दिन महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति, सरकारको भूमिका, कांग्रेसको भावी रणनीति तथा पार्टीले खेल्नुपर्ने जिम्मेवारीका विषयमा केन्द्रित राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले पार्टी संगठनलाई कसरी चुस्त, प्रभावकारी र जनमुखी बनाउने भन्ने विषयमा केन्द्रित साङ्गठनिक प्रस्ताव पेस गरेका थिए। यी दुवै प्रस्तावमाथि बन्दसत्रमा विस्तृत छलफल गरिएको थियो।

मंगलबारको बन्दसत्रमा सातवटै प्रदेश, काठमाडौं उपत्यका, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिका प्रतिनिधिहरूलाई समेटेर छुट्टाछुट्टै नौ समूह निर्माण गरिएको थियो। ती समूहहरूमा प्रस्तावका प्रत्येक बुँदामाथि गहन छलफल, सुझाव र संशोधनका विषयमा विचार–विमर्श भएको थियो। समूहगत छलफलबाट आएका सुझावहरूलाई समेट्दै प्रस्तावहरूलाई अन्तिम रूप दिइएको र त्यसपछि बन्दसत्रले सर्वसम्मत रूपमा पारित गरेको हो।

पार्टी स्रोतका अनुसार पारित प्रस्तावहरूमा वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन, लोकतान्त्रिक प्रणालीको संरक्षण, सरकारप्रति पार्टीको भूमिकाको स्पष्टता, आन्तरिक एकता सुदृढीकरण, संगठन विस्तार तथा आगामी निर्वाचनका लागि कांग्रेसलाई मजबुत बनाउने रणनीतिहरू समेटिएका छन्। विशेष गरी संगठनात्मक प्रस्तावले पार्टीको तल्लो तहसम्म संगठन सक्रिय बनाउने, कार्यकर्ताको भूमिका बलियो पार्ने र जनतासँगको सम्बन्ध थप प्रभावकारी बनाउने विषयमा जोड दिएको बताइएको छ।

प्रस्ताव पारित भएसँगै आजका लागि बन्दसत्र स्थगित गरिएको छ। विशेष महाधिवेशन पक्षधर समूहले बन्दसत्रमार्फत पार्टीभित्र देखिएको असन्तुष्टि, संगठनात्मक कमजोरी र राजनीतिक दिशाबारे स्पष्ट बहस र निर्णयको वातावरण तयार भएको दाबी गरेका छन्। अब यी प्रस्तावका आधारमा आगामी दिनमा पार्टीले लिने औपचारिक निर्णय र कार्यक्रमप्रति सबैको ध्यान केन्द्रित भएको छ। थापाले पार्टीभित्र देखिएका समस्याहरुको विषयमा निर्णय गर्ने अधिकार विशेष महाधिवेशनको हललाई मात्र भएको बताएका छन्।

मंबन्दसत्रको हललाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले पार्टीभित्र देखिएको विवादको सम्बनधमा संवाद जारी रहेपनि महाधिवेशनको हल बाहिर गएर टुंगिन नसक्ने टिप्पणी गरेका हुन्। उनले पार्टी निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढिसकेको उल्लेख गर्दै ती कार्यक्रमहरु स्थगित नहुने स्पष्ट पारे। उनले पार्टीभित्र टिकट वितरणको विषयमा बार्गेनिङ भइरहेको भनि फैलाइएको हल्लाप्रति आपत्ति पनि जनाए। हजारौँ प्रतिनिधि दुई दिनदेखि पार्टी सुधारका विषयमा मन्थन गरिरहेको भन्दै महामन्त्री थापाले यसलाई टिकटको स्वार्थसँग जोडेर अपमान गर्ने प्रयास नगर्न चेतावनी दिए।

उनले भने, ‘साथीहरुले पार्टीभित्र देखिएका केही समस्याहरुलाई संवादबट टुंग्याउन सकिन्छ कि भनेर संवाद पनि गरिरहेका छन्। त्यो छलफल पनि आवश्यक थियो। तर त्यो छलफलको कुरा यो हलबाट बाहिर कतै गएर पनि टुंगिदैन। यो विशेष महाधिवेशन हो यही हलले गर्नेछ। भोलि बिहान पनि प्रतिनिधिहरु आएर निर्णय गर्‍यो भने महामन्त्रीहरूले त्यो निर्णयलाई शिरोधार्य गर्नुपर्छ। हलले जे अनुमोदन गर्छ त्यो कुरालाई मान्ने हो। हलले अनुमोदन नगरेको केही पनि मानिँदैन।’उनले पार्टीलाई सही दिशामा लैजान नेतृत्व र नीति दुवै परिवर्तन गरिने दोहोर्‍याए।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।