काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ठूलो संख्यामा उम्मेदवारले नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार विभिन्न राजनीतिक दल तथा एकल चुनाव चिह्न प्रयोग गर्ने दलहरूका गरी कुल १७५ जना उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन्। निर्वाचन आयोगले बन्दसूचीमा समावेश भएका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेर सूचना प्रकाशित गरेको थियो।
आयोगले तोकेको सोही अवधिभित्र १७ वटा चुनाव चिह्न (एकलसहित) का उम्मेदवारहरूले बन्दसूचीबाट नाम फिर्ता लिएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार नाम फिर्ता लिने उम्मेदवारहरूमा एकल चुनाव चिह्न प्रयोग गरेर बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवारहरू समेत समावेश छन्। राजनीतिक दलहरूबीच चुनावी तालमेल, गठबन्धन तथा रणनीतिक समायोजनका कारण बन्दसूची संशोधन गरिएको आयोगको बुझाइ छ।
नाम फिर्ता लिने उम्मेदवारमध्ये सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रहेका छन्। सहायक प्रवक्ता जिसीका अनुसार लोसपाबाट मात्रै ११० जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन्। लोसपा अन्य दलहरूसँग चुनावी सहकार्यमा जुटेकाले समानुपातिक बन्दसूचीमा पेस गरिएका उम्मेदवारमध्ये ११० जनाको नाम फिर्ता गरिएको जनाइएको छ। यसैगरी जनमत पार्टीका २० जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ जना, जनादेश पार्टी नेपालका छ जना र नेकपा (एमाले) का पाँच जना उम्मेदवारले पनि समानुपातिकतर्फको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार–चार जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका दुई–दुई जना उम्मेदवारले पनि बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएका छन्।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्न प्रयोग गर्ने एक–एक जना उम्मेदवारले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका छन्। यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएको आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि राजनीतिक दलहरूले यही पुस १३ र १४ गते आयोगमा उम्मेदवारको नाम पेस गरेका थिए।
त्यसपछि कानुनले व्यवस्था गरेको समयसीमाभित्र दल तथा उम्मेदवारहरूले आवश्यक संशोधन गर्दै नाम फिर्ता लिएका हुन्। आयोगले अब फिर्ता भएका नामहरू समायोजन गरी अन्तिम बन्दसूची सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। समानुपातिकतर्फको उम्मेदवारी व्यवस्थापन र दलगत तालमेलसँगै आगामी निर्वाचनको समीकरण थप स्पष्ट बन्दै जाने निर्वाचन आयोगको अपेक्षा छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































