दाङ । देउखुरी क्षेत्रको राप्ती नदी उकास जमिन र पाँगो–बलौटे माटो सखरखण्ड खेतीका लागि उपयुक्त मानिन्छ। पुसको चिसो सिरेटोको वास्ता नगरी यहाँका किसान यतिबेला सखरखण्ड खन्न, टिप्न र बजार पठाउन व्यस्त देखिन्छन्।
कोही फरुवा चलाएर खन्दैछन् भने कोही सखरखण्ड टिप्दै, थुपार्दै र बोरामा भरेर व्यापारीलाई बुझाउने तयारीमा छन्। घरका सदस्य मात्रले काम नभ्याएपछि किसानले अतिरिक्त मजदुरसमेत लगाएका छन्।
राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादव समयमै खनेर बजारमा पुर्याउन सके राम्रो मुनाफा हुने भएकाले किसानले सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताए । तीन बिघा जमिनमा सखरखण्डखेती गरेका यादवले एक बिघामा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताए । दुई बिघा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको छ, खन्न सके सखरखण्ड लिन व्यापारी रोपेको ठाउँमै आउने गरेका छन्, बिक्रीका लागि कुनै समस्या छैन, उनि भन्छन् ।
व्यापारीलाई भनेको समयमा समान दिइसक्नुपर्छ । करिब डेढ लाख रुपैयाँको सखरखण्ड बिक्री गरिसक्नुभएका यादव यो वर्ष एक सय क्विन्टल बढी उत्पादन भए तीन लाख ५० हजारसम्मको बिक्री हुने बताउछन् । उनका अनुसार सेतो सखरखण्ड प्रतिकिलो ४० देखि ४५ र रातो सखरखण्ड ४५ देखि ४९ मा बिक्री भइरहेको छ । अन्य कृषि बालीको तुलनामा कम मिहिनेत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गरेका सोही ठाउँका अर्का किसान धर्मप्रसाद यादव बताउछन् ।
माघेसङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले बजारमा यसको व्यापार बढ्दै गएको सोही ठाउँका अर्का किसान सीता यादव बताउनुहुन्छ । यो समयमा राम्रो बिक्री हुने भएकाले आम्दानी पनि मनग्य हुने उनको भनाइ छ । राजपुर गाउँपालिका–३ र ४ नं वडाका २०० भन्दा बढी किसानले एकदुई कट्ठादेखि तीनचार बिघासम्म सखरखण्डको खेती गरेका छन् । एउटा किसानले थोरैमा २०–२५ हजारदेखि बढीमा रु ५–६ लाखसम्म यही समयमा सखरखण्ड बेचेर आन्दानी गर्छन् भने रु दुई करोड बढी पैसा गाउँ भित्रिन्छ । सखरखण्ड लिनका लागि व्यापारी बारीमै पुग्छन् ।
गत वर्ष ५० देखि ५५ प्रतिकिलो सखरखण्ड बिक्री गरेका किसानले यस वर्ष ४० देखि ४५ प्रतिकिलोका दरले सखरखण्ड बिक्री गरिरहेका छन् । बिक्रीका लागि समस्या नभए पनि बिचौलियाका कारण उचित मूल्य नपाएको किसानको गुनासो छ । कम मिहिनेत र लगानीमा छोटो समयमा राम्रो आम्दानी हुने सखरखण्ड भदौमा रोपिन्छ भने पुसको दोस्रो साताबाट खन्न सुरु हुन्छ । देउखुरीको राजपुरमा उत्पादन भएको सखरखण्ड लमही, घोराही, तुलसीपुर बजारका साथै वुटवलदेखि कोहलपुर र सुर्खेतसम्म पनि पुग्ने गरेको किसान बताउँछन् ।





































