सर्लाही । गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ ।
हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताए । उनको अनुहारमा यसपटक युद्ध जितेको सिपाहीको जस्तै सन्तुष्टि देखिएको छ । महतोले यस वर्ष तीन बिघा खेतमा गोलभेँडा रोपेका थिए । “१२ कट्ठाको गोलभेँडा सिजनको सुरु असोजबाटै निस्कन सुरु भयो”, उनले भने, “अहिलेसम्म पनि बेचिरहेको छु ।” यस वर्ष गोलभेँडा क्रेटको रु १ हजार ७०० देखि २ हजार ७०० सम्ममा बेचेको उनले सुनाए । अहिलेसम्म १२ कट्ठा खेतबाट महतोले रु ८ लाख बढीको गोलभेँडा बिक्री गरिसकेका छन् ।
अझै १ डेढ लाखको बिक्री हुने उनको अनुमान छ । विगत २० वर्षदेखि गोलभेँडाखेती गर्दै आएका उनले गत वर्ष भने गोलभेँडामा लगानीसमेत डुबेको बताए । अरुको जग्गा भाडामा लिएर लगाएको पाँच बिघा गोलभेँडा टिप्ने पैसासमेत नआएपछि खेतमै ट्र्याक्टर लगाएको उनको भनाइ छ । त्यसको डरले यस वर्ष उनले खेती घटाएर तीन बिघामा मात्र गोलभेँडा लगाएका छन् ।
यस वर्षजस्तो गोलभेँडाको भाउ उनलाई थाहा भएअनुसार कहिले पाएको थिएन । यस वर्ष गोलभेँडाले पाएको मूल्य ऐतिहासिक रहेको किसानको भनाइ छ । गत वर्ष गोलभेँडाखेतीबाट लागेको झण्डै रु १० लाख ऋण यस वर्षको आम्दानीले लगभग तिरेको उनले सुनाए । “धेरै ऋण तिरिसकेँ, अब थोरै बाँकी छ । अझै गोलभेँडा बेच्न बाँकी छ । यस वर्ष ऋण पूरै तिरिन्छ होला”, महतोले भने ।
गत वर्ष गोलभेँडाको मूल्य नपाएपछि खेतीबाट पछि हटेका धेरै किसान यतिबेला निकै पछुतो मानिरहेका छनभने गत सिजनको घाटा बिर्सिएर गोलभेँडा रोप्ने अधिकांश किसान निकै खुसी छन् । गत वर्ष सुरुमा निकालेको बाहेक गोलभेँडाले मूल्य नपाउँदा धेरै किसानले गोलभेँडा खेतमै जोत्नुपरेको थियो । त्यही डरले यसपटक धेरै किसानले गोलभेँडा रोप्ने आँट गरेनन् ।
जसले गर्दा बजारमा गोलभेँडाको मागअनुसार उत्पादन नभएको स्थानीय व्यापारी विनोद खड्का बताउछन् । उनका अनुसार यस वर्ष परेको बेमौसमी वर्षा र गत वर्ष मूल्यमा आएको गिरावटका कारण मूल्यवृद्धिमा सहयोग पुगेको हो । “बेमौसमी वर्षाले नेपाल र भारत दुवैतर्फ गोलभेँडाखेतीमा क्षति पुगेको छ । त्यसले गर्दा बजारमा आपूर्ति कम र माग बढी भएपछि मूल्य बढ्नु सामान्य नियम हो”, उनले भने ।
यस वर्ष गोलभेँडाले राम्रो मूल्य पाउनु दोस्रो कारण भारतीय गोलभेँडा नेपाली बजार भित्रिन नपाउनु पनि रहेको व्यवसायीको भनाइ छ । विगत वर्षहरूमा यसबेला नेपाली बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती हुने गरेको थियो । तर, यस वर्ष वर्षात्का कारण खेतीमै क्षति पुगेपछि उतै मागअनुसारको आपूर्ति छैन । त्यसले गर्दा भारतमै गोलभेँडा महँगो भएको व्यवसायी खड्काको भनाइ छ ।
यस घटनाले नेपालको उत्पादनले उपयुक्त मूल्य पाउन भारतीय उत्पादन खुला रूपमा नेपाल भित्रिने परिपाटी बन्द हुनुपर्ने स्पष्ट भएको धेरै किसानको धारणा छ । गोलभेँडामात्र नभई यस क्षेत्रमा उत्पादन भएका हरेक हरियो तरकारीले समेत यस वर्ष ऐतिहासिक मूल्य पाएको छ । यस वर्ष भान्टा प्रतिकट्ठा रु एक लाख बढीको बिक्री गरेको स्थानीय किसान धनबहादुर तामाङले सुनाए ।
“पाँच कट्ठामा लगाएको भान्टा अहिलेसम्म रु पाँच लाख ३३ हजारको बेचिसकेँ”, उनले भने । भान्टा निस्किन सुरु भएदेखि अहिलेसम्म तामाङले रु ७० देखि १२० प्रतिकेजी मूल्य पाइरहेका छन् । भान्टाको मूल्य पनि यसपटक निकै लामो समय एकैनास रहेको थियो । सँगै लगाएका छिमेकीको भान्टाको बोट बेमौसमी वर्षाले मरेको तर, आफूले निकै मिहिनेत गरेर जोगाएको बोटबाट राम्रो उत्पादन भएको उनको भनाइ छ ।
हरिवन नगरपालिका–२ का किसान गिरिराज खरेलका अनुसार विगतमा पनि गोलभेँडाको मूल्य सुरुमा राम्रो रहने गरेको थियो । सिजनको सुरुमा चार हजार क्रेटसम्म किसानले लिने गरेका उनको अनुभव छ । तर, हप्ता दिन नबित्दै चार सय क्रेटमा झर्ने गरेको थियो । “सिजनको तेस्रो हप्ताबाट मुस्किलले रु तीन सयदेखि चार सय प्रतिक्रेट किसानले पाउने गरेका थिए । तर, यसपटक त्यसो भएन”, उनले भने ।
यसपटक किसानले चार महिनासम्म एकैनासको मूल्यमा गोलभेँडा बेच्न पाएका छन् । अझै केही समय गोलभेँडाको मूल्य यस्तै रहने उनको अनुमान छ । आफूले विगत २९ वर्षदेखि गोलभेँडाखेती गर्दै आएको बताउने खरेलले यतिको राम्रो मूल्य अहिलेसम्म आफूलाई थाहा नभएको बताए ।
गत वर्ष ऋणमा डुबेका गोलभेँडा किसानले यस सिजन खेतबारी जोड्ने हैसियत बनाएका उनको दाबी छ । सिजनको सुरुमा र अन्तिममा दुईपटक भाउ पाउँदै आएको गोलभेँडाका लागि यस सिजन स्वर्ण वर्षका रूपमा आएको उनले सुनाए ।





































