काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षति भएपछि राष्ट्रिय सभाको बैठक वैकल्पिक स्थल सिंहदरबारमा बस्ने भएको छ ।
संघीय संसद् सचिवालयले सिंहदरबार परिसरमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक सञ्चालन हुने गरी व्यवस्थापन गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भौतिक तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । उनका अनुसार हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम पनि माघ ४ गतेअघि नै पूरा हुने छ ।
‘राष्ट्रिय सभाको बैठक सञ्चालन गर्न आवश्यक सबै संरचना तयार पार्ने काम भइरहेको छ,’ प्रवक्ता गिरीले भने, ‘अब थोरै प्राविधिक तथा व्यवस्थापकीय काम बाँकी छ, जुन तोकिएको समयअघि नै सम्पन्न हुन्छ ।’ सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गर्ने निर्णय गरिसकेको छ ।
यसका लागि मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय गरी संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । नेपालको संविधानअनुसार संघीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने अधिकार राष्ट्रपतिमा निहित हुन्छ, जसका लागि सरकारले सिफारिस गर्नुपर्छ । यही संवैधानिक व्यवस्थाअनुसार सरकारले राष्ट्रपतिसमक्ष अधिवेशन आह्वानको सिफारिस गरेको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी र तोडफोड भएको थियो । त्यसपछिको राजनीतिक घटनाक्रमका क्रममा अन्तरिम सरकार गठन भयो र प्रतिनिधिसभा विघटन गरियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी थिइन् । त्यसयता राष्ट्रिय सभा बैठक बस्न सकेको थिएन । संघीय संसद् सचिवालयका अनुसार आगामी अधिवेशनका लागि राष्ट्रिय सभामा पर्याप्त कार्यसूची (विजनेस) तयारी अवस्थामा छन् ।
विभिन्न विधेयकहरूमाथि छलफल र निर्णय हुनुका साथै सरकारले यसअघि जारी गरेका अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ । त्यसका अतिरिक्त संसदीय समितिहरूले तयार पारेका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू पनि सभामा पेश हुनेछन् । अधिवेशन सुरु भएपछि राष्ट्रिय सभाका सदस्यहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू प्रस्तुत गर्न पाउनेछन् । साथै राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन हुने परम्परा रहेको छ । यसले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने र जनसरोकारका विषयमा प्रत्यक्ष जवाफदेहिता सुनिश्चित गर्ने विश्वास सचिवालयको छ ।
सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई अस्थायी संसद् कक्षका रूपमा प्रयोग गर्ने निर्णयसँगै राष्ट्रिय सभाको नियमित कामकारबाही अवरुद्ध नहुने अपेक्षा गरिएको छ । संसद् भवन पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म राष्ट्रिय सभाको बैठक यही वैकल्पिक स्थलबाट सञ्चालन गरिने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































