अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबार सुरु भएको राष्ट्रिय लिगले नेपाली फुटबलको वर्तमान अवस्था, व्यवस्थापन क्षमता र दीर्घकालीन सोचमाथि गम्भीर प्रश्न उब्जाएको छ ।
ए डिभिजनका १३ र प्रेसिडेन्ट लिगका ४ गरी १७ क्लबको सहभागितामा सुरु हुन लागेको यो लिग झन्डै तीन वर्षपछि सञ्चालन हुन लागेको हो । तर, लामो अन्तरालपछि फर्किएको लिग उत्सवभन्दा बढी अव्यवस्था र हतारको दस्तावेज जस्तो देखिन थालेको छ ।
लिग सुरु हुनु अघिल्लो दिन एन्फाले आयोजना गरेको प्रि–म्याच प्रेस कन्फरेन्समै यसको संकेत स्पष्ट देखियो । सहभागी १७ क्लबमध्ये १५ मात्र उपस्थित भए । प्रेसिडेन्ट लिगबाट छनोट भएका काँक्रेविहार र नव जन जागृति क्लबको अनुपस्थिति केवल औपचारिक कमजोरी मात्र होइन, आयोजकप्रतिको अविश्वास र तयारीको अभावको प्रतिविम्ब हो । तीन विभागीय टोलीबाहेक अधिकांश क्लबले लिगका लागि तयारी राम्रो नभएको स्वीकार्नु आफैंमा चिन्ताजनक तथ्य हो ।
अधिकांश क्लबले एक साताभन्दा कम समयको प्रशिक्षणमा लिग खेल्दैछन् । कतिपय क्लबले त पूर्ण टिम निर्माणसमेत गर्न भ्याएका छैनन् । विदेशी खेलाडी अनुबन्धन न्यून छ, घरेलु खेलाडी पनि अन्तिम समयमा जोडजाड गरेर मैदान उत्रिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा राष्ट्रिय लिगको नाममा सुरु हुन लागेको प्रतियोगिताले प्रतिस्पर्धा, गुणस्तर र विश्वसनीयता कति सुनिश्चित गर्न सक्छ भन्ने प्रश्न स्वाभाविक छ ।
समस्या क्लबहरूमा मात्र सीमित छैन, यसको मूल जिम्मेवारी आयोजक एन्फामाथि नै जान्छ । मिति निर्धारणमा हतार, क्लबहरूसँग पर्याप्त परामर्शको अभाव र दीर्घकालीन क्यालेन्डरको नहुनु एन्फाको पुरानै रोग हो । फुटबल जस्तो व्यावसायिक बन्दै गएको खेलमा प्रतियोगिता घोषणा गरेर मात्र पुग्दैन; त्यसका लागि पूर्वतयारी, संरचना र आर्थिक स्पष्टता अनिवार्य हुन्छ । तर, एन्फाले अझै पनि ‘कसरी भए पनि खेलाऊँ’ भन्ने मानसिकताबाट आफूलाई मुक्त गर्न सकेको देखिँदैन।
यद्यपि, यस अँध्यारो चित्रभित्र केही उज्याला पाटो पनि छन् । मछिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठले भनेजस्तै, कम्तीमा खेलाडीले मैदान पाउने अवसर त पाएका छन् । तीन वर्षसम्म लिग नहुँदा सयौं खेलाडी बेरोजगारजस्तै अवस्थामा थिए । नियमित प्रतियोगिता नहुँदा खेलाडीको फर्म, फिटनेस र भविष्य सबै अन्योलमा थियो । त्यस अर्थमा राष्ट्रिय लिगको सुरुआतलाई पूर्ण रूपमा नकारात्मक मात्र भन्न मिल्दैन ।
चर्च ब्वाइजका कप्तान एरिक विष्टले व्यक्त गरेको अपेक्षा पनि ध्यान दिन लायक छ । उनले लिगका लागि अझ राम्रो वातावरणको आशा गरेका छन् । यो आशा केवल खेलाडीको भावना होइन, सम्पूर्ण नेपाली फुटबलको चाहना हो । राष्ट्रिय लिग ए डिभिजनको तयारीका रूपमा उपयोग हुने हो भने, यसलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र सम्मानजनक बनाउनैपर्छ ।
तर प्रश्न यहाँ छ—के एन्फाले यसलाई साँच्चै तयारीको लिगका रूपमा लिएको हो, कि केवल आलोचना मत्थर पार्न गरिएको औपचारिकता मात्र? यदि दोस्रो हो भने, यसले नेपाली फुटबललाई थप पछाडि धकेल्नेछ । लिगको स्तर कमजोर भयो भने त्यसको प्रत्यक्ष असर दर्शक, प्रायोजक र खेलाडी सबैमा पर्छ । दीर्घकालीन रूपमा यसले घरेलु फुटबलप्रतिको भरोसा नै कमजोर बनाउँछ ।
नेपाली फुटबल आज निर्णायक मोडमा उभिएको छ । संरचनागत सुधार, पारदर्शिता र समयमै आयोजना हुने लिग बिना यो खेल अघि बढ्न सक्दैन । राष्ट्रिय लिग त्यसको एउटा अवसर हो—तर त्यो अवसरलाई एन्फाले कत्तिको जिम्मेवारीपूर्वक प्रयोग गर्छ, त्यसमा नै यसको सार्थकता निर्भर हुनेछ । अहिलेको हतारो, अधुरो तयारी र कमजोर समन्वयले भने राष्ट्रिय लिगलाई उत्सवभन्दा बढी चेतावनी बनाइदिएको छ ।
यदि एन्फाले यस चेतावनीलाई गम्भीरतापूर्वक लिँदैन भने, मैदानमा खेलाडी दौडिए पनि नेपाली फुटबलको भविष्य भने स्थिर उभिन सक्नेछैन ।
मिति २०८२ माघ १ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।



































