काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवारी दर्ताको चरणमा प्रवेश गरेका छन्। यससँगै देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा पुग्ने क्रम तीव्र बनेको छ। केही नेता निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने केही नेताहरू यात्राकै क्रममा रहेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उम्मेदवारी दर्ता गराउन नेताहरू व्यस्त देखिएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाको परम्परागत निर्वाचन क्षेत्र काठमाडौं–४ हो। विगतका निर्वाचनहरूमा यही क्षेत्रबाट उम्मेदवार बनेका थापाले यसपटक पनि यही क्षेत्र रोज्ने वा क्षेत्र परिवर्तन गर्ने भन्ने विषय अझै औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनले जहाँबाट उम्मेदवारी दिए पनि आफैं उपस्थित भएर मनोनयन दर्ता गर्ने तयारी गरेको कांग्रेस स्रोतले जनाएको छ। पार्टीभित्रको आन्तरिक राजनीतिक उतारचढाव र विशेष महाधिवेशनपछि बद्लिएको शक्ति सन्तुलनका बीच थापाको निर्वाचन रणनीतिलाई चासोका साथ हेरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार नै आफ्नो गृहजिल्ला झापा पुगेका छन्। ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्ने तयारीका साथ त्यहाँ पुगेका हुन्। झापा–५ ओलीको पुरानो निर्वाचन क्षेत्रसमेत भएकाले यसपटकको चुनावलाई उनले प्रतिष्ठाको विषय बनाएका छन्। पार्टी संगठनलाई थप सुदृढ गर्दै चुनावी अभियानलाई तीव्रता दिने उद्देश्यले उनी समयमै झापा पुगेको एमाले नेताहरूको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि निर्वाचन क्षेत्रतर्फ प्रस्थान गरेका छन्। सोमबार दिउँसो उनी हवाईमार्गबाट रुकुम पश्चिम पुगेका छन्। त्यहाँ स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गरेपछि उनी रुकुम पूर्व जाने कार्यक्रम रहेको छ। यसपटक प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गर्दै छन्। विगतमा विभिन्न क्षेत्रबाट निर्वाचन लड्दै आएका प्रचण्डको यो निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि आफ्नो निर्वाचन क्षेत्रतर्फ फर्किँदै छन्। उनी चितवन–२ बाट उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन्। सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका लामिछाने सभापछि सिधै चितवन फर्किएका छन् । चितवन–२ लाई रास्वपाले प्रतिष्ठाको क्षेत्रका रूपमा लिएको छ भने लामिछाने स्वयं पनि सक्रिय रूपमा चुनावी मैदानमा देखिएका छन्।
यस्तै, रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयरसमेत रहेका बालेन्द्र शाह (बालेन) पनि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका बालेनले त्यहीँ पार्टी सभापति रवि लामिछानेबाट औपचारिक रूपमा टिकट बुझेका छन्। त्यसपछि उनी दमकतर्फ प्रस्थान गरेका हुन्। बालेन सोमबार नै साँझ दमक पुगेको उनको सचिवालयले जनाएको छ। झापा–५ मा ओलीसँगको प्रत्यक्ष प्रतिस्पर्धाले राष्ट्रिय राजनीति थप रोचक बन्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पनि उम्मेदवारी दर्ताका लागि झापा जाने तयारीमा छन्। उनी झापा–३ बाट उम्मेदवारी दिने भएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवारी दर्ताका लागि सप्तरी जाने भएका छन्। उनी सप्तरी–३ बाट उम्मेदवार बन्न लागेका हुन्। अघिल्लो निर्वाचनमा यादव सप्तरी–२ बाट उम्मेदवार बनेका थिए। तर, उक्त निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका थिए। यसपटक क्षेत्र परिवर्तन गर्दै यादवले सप्तरी–३ रोजेका छन्।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि गोरखा २ बाट निर्वाचन लड्दैछन् । उनी त्यहाँ नेकपा एमालेका मिलन चक्रे, कांग्रेसका प्रकाशशचन्द्र दवाडी, नेकपाका लेखनाथ न्यौपाने पनि चुनावी प्रतिस्पर्धामा छन् । यसरी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता प्रक्रियासँगै देशको राजनीतिक माहोल थप तातिएको छ। प्रायः सबै प्रमुख दलका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। केही नेताहरू जाने क्रममा छन् भने केही नेताहरूले वारेसमार्फत उम्मेदवारी दर्ता गर्ने योजना बनाएका छन्। उम्मेदवारी दर्ता सकिएसँगै दलहरू चुनावी प्रचार–प्रसार र जनसंपर्कलाई अझ तीव्र बनाउने तयारीमा जुटेका छन्।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।





































