काठमाडौँ । दर्ता गर्नेआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। मनोनयनसँगै झापाको राजनीति देशकै ध्यान केन्द्रमा तानिँदैछ । कारण एउटै छ—सत्ताको निरन्तरताको दाबी गर्ने र ‘स्थापनाविरुद्धको विकल्प’को नारा बोकेका दुई नेता आमनेसामने हुँदैछन्।
प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक गरिसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रँदै छन्। सत्ता, व्यवस्था र राजनीतिक संस्कारमाथि फरक–फरक दृष्टिकोण बोकेका यी दुई नेताको भिडन्तलाई ‘पुरानो शक्ति बनाम नयाँ विकल्प’को निर्णायक लडाइँका रूपमा हेरिन थालिएको छ।
पूर्वप्रधानमन्त्री ओली अनुभवी, संगठित पार्टी संरचना र राज्यसत्तामा लामो पहुँचका साथ मैदानमा उत्रँदै छन्। अर्कोतर्फ, काठमाडौं महानगरपालिकाको मेयरका रूपमा ‘सिस्टमसँग टकराएर काम गर्ने नेता’को छवि बनाएका बालेन शाह पुरानो राजनीतिक नेतृत्वप्रति असन्तुष्ट मतदाताको भरोसामा झापा प्रवेश गर्न लागेका छन्। यही कारण झापा–५ को चुनाव परिणामले केवल एक सिट मात्र होइन, आगामी सत्ता समीकरणको दिशा नै संकेत गर्ने आँकलन गरिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बालेन शाहले बिहान ११ बजे र केपी शर्मा ओलीले दिउँसो १ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ। सम्भावित भिडभाड र शक्ति प्रदर्शनलाई ध्यानमा राख्दै प्रशासनले कडा सुरक्षा र समय व्यवस्थापन अपनाएको छ। भीड नियन्त्रण र सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूका लागि छुट्टाछुट्टै समय तोकिएको प्रशासनले जनाएको छ। निर्धारित समयअनुसार बिहान १० बजे हर्क साम्पाङको श्रम, संस्कृति पार्टी, साढे १० बजे मंगोल नेशनल अर्गनाइजेशन, ११ बजे रास्वपा र ११ः३० बजे नेपाल मजदुर किसान पार्टीले मनोनयन दर्ता गर्नेछन्।
त्यसैगरी दिउँसो १२ः३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, १ बजे नेकपा एमाले, साढे १ बजे नेपाली कम्युनिस्ट पार्टी (नेकपा), २ बजे नेपाली कांग्रेस, २ः३० बजे नेपाल सद्भावना पार्टी र ३ बजे जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूका लागि समय निर्धारण गरिएको छ। केही स्वतन्त्र उम्मेदवारको उपस्थितिका कारण समय तालिका केही तलमाथि हुन सक्ने प्रमुख जिल्ला अधिकारी गेलालले बताए।
मनोनयन प्रक्रियाका क्रममा मुख्य गेटसम्म बढीमा २५ जनामात्र जान पाउने र कार्यालय परिसरभित्र बढीमा १० जनालाई मात्रै प्रवेश अनुमति दिइने व्यवस्था गरिएको छ। झापा–५ मा ओली र बालेनको यो भिडन्त केवल उम्मेदवारी दर्तासम्म सीमित छैन। यो चुनाव पुरानो सत्ता संरचना जोगाउने प्रयास र त्यसलाई चुनौती दिने वैकल्पिक राजनीतिबीचको प्रत्यक्ष टकरावका रूपमा व्याख्या भइरहेको छ। त्यसैले फागुन २१ को नतिजा झापाको मात्र नभई राष्ट्रिय राजनीतिका लागि समेत निर्णायक हुने संकेत देखिन थालेको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।































